हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले खेलकुद विकास समितिलाई आफ्नो उद्देश्यअनुसार कार्य गर्न आग्रह गर्नुभएको छ।
जिल्ला खेलकुद समिति मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौँडा–१० स्थित टिसिएन चौरमा सुरु भएको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उहाँले खेलकुदलाई व्यापार–व्यवसायसँग जोड्न नहुने बताउनुभयो। खेलकुद विकास समिति स्थापना गरिएको उद्देश्यअनुसार नै गतिविधि सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो।
मुख्यमन्त्री बानियाँले खेलकुदसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
उहाँले प्रदेश गौरवको योजनाका रूपमा रहेको गौरीटार रंगशालामा थप खेल पूर्वाधार निर्माणको तयारी भइरहेको जानकारी दिनुभयो। करिब एक अर्ब रुपैयाँ लागतमा रंगशालामा अत्याधुनिक संरचना विस्तार गरी भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने लक्ष्य प्रदेश सरकारले लिएको उहाँले बताउनुभयो।
खेलाडीहरू समाज र राष्ट्रकै गौरव भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले खेलकुद क्षेत्रको विकासका लागि सबैको सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।
उहाँले फागुन २१ गते सम्पन्न चुनावबाट देशले नयाँ जनादेश प्राप्त गरेको बताउँदै जनभावनालाई सम्बोधन गर्दै पर्यटन, कृषि र खेलकुद क्षेत्रको विकासमा अब बन्ने संघीय सरकारले विशेष ध्यान दिने अपेक्षा व्यक्त गर्नुभयो। संघीय, प्रदेश र स्थानीय तहबीच सहअस्तित्व र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।
१५ दिनसम्म सञ्चालन हुने महोत्सवअन्तर्गत विभिन्न ६ विधाका खेलकुद प्रतियोगिता आयोजना गरिनेछन्। कार्यक्रमअनुसार फागुन २९ र ३० गते जिल्लास्तरीय ब्याड्मिन्टन, चैत १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल, चैत ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल, चैत ९ र १० गते जिल्लास्तरीय कराँते तथा चैत ११ देखि १३ गतेसम्म राष्ट्रिय तेक्वान्दो प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
यसअघि बिहान १० किलोमिटर दौड प्रतियोगिता पनि सम्पन्न भएको थियो। सो प्रतियोगिताका विजयी खेलाडीहरूलाई मुख्यमन्त्री बानियाँले प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ। महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि रहनेछ।
महोत्सवबाट बचत हुने रकम जिल्ला खेलकुद विकास समिति मकवानपुरको भवन निर्माण तथा खेल सामग्री खरिदमा खर्च गर्ने लक्ष्य आयोजकले लिएको छ। साथै खेल क्षेत्रमा योगदान पुर्याएका १० जना व्यक्तित्वलाई जनही २५ हजार रुपैयाँसहित सम्मान गर्ने तयारी गरिएको छ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, वडा नम्बर ११ का अध्यक्ष जुना दाहाल, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट तथा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि