काठमाडौं । इरान र अमेरिकाबीच चर्किएको सैन्य द्वन्द्वले विश्व ऊर्जा बजारमा गम्भीर संकट पैदा गरेको छ । मध्यपूर्वमा बढ्दो तनाव र अन्तर्राष्ट्रिय जलमार्गमा भइरहेका लगातारका आक्रमणका कारण विश्वभर तेलको आपूर्ति नराम्ररी प्रभावित भएको छ । हर्मुज जलमार्गमा तेल बोक्ने जहाजहरूमाथि आक्रमण हुन थालेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलरभन्दा माथि पुगेको छ । विश्व बजारमा तेलको हाहाकार हुन थालेपछि अमेरिकाले बाध्य भएर समुद्री मार्गबाट ढुवानी हुने रुसी तेलमाथिको प्रतिबन्ध एक महिनाका लागि हटाएको छ ।
विश्व ऊर्जा आपूर्तिको सबैभन्दा संवेदनशील बिन्दु मानिने हर्मुज जलमार्ग अहिले युद्धको मुख्य तारो बनेको छ । इरान र ओमानबीच रहेको यो साँघुरो समुद्री मार्गबाट साउदी अरेबिया, कुवेत, इराक, कतार र संयुक्त अरब इमिरेट्सजस्ता प्रमुख तेल उत्पादक देशको कच्चा तेल विश्व बजारमा पुग्ने गर्छ । विश्वको करिब २० प्रतिशत कच्चा तेल यही मार्ग हुँदै निर्यात हुन्छ । यदि यो जलमार्ग लामो समय अवरुद्ध भयो भने विश्वव्यापी ऊर्जा आपूर्तिमा भयानक संकट उत्पन्न हुने र तेलको मूल्य अझै तीव्र रूपमा बढ्ने विश्लेषकहरूले बताएका छन् ।
इरानले बारम्बार यो जलमार्ग बन्द गर्ने चेतावनी दिँदै आएको थियो । अहिले इरानले प्रतिशोधस्वरूप हर्मुजमा माइन अर्थात् बारुदी सुरुङ बिछ्याउने, तेल ट्यांकरमाथि ड्रोन र मिसाइल आक्रमण गर्ने तथा साना नौकाबाट अवरोध सिर्जना गर्ने रणनीति अपनाएको छ । क्षेत्रीय सहयोगी समूहमार्फत पनि इरानले ऊर्जा आपूर्तिमा अप्रत्यक्ष रूपमा बाधा पुर्याइरहेको छ । भर्खरै मात्र खाडी क्षेत्रमा थप तीनवटा मालवाहक जहाज आक्रमणमा परेका छन् भने केही जहाज समुद्रमै अलपत्र परेका छन् । यसले विश्वव्यापी अर्थतन्त्रमा ठूलो धक्का दिएको छ । तेल आपूर्ति प्रभावित हुँदा विश्वव्यापी रूपमै महँगी बढ्ने र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर अवरोध आउने निश्चित छ ।
अमेरिकी रणनीतिको कमजोरी र नयाँ कदम
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सुरुमा इरानसँगको युद्धले विश्व ऊर्जा आपूर्तिमा पार्नसक्ने प्रभावलाई निकै कम आँकेको थियो । अमेरिकी सैन्य योजनाकारहरूले इरानले हर्मुज जलमार्गमा यति ठूलो अवरोध सिर्जना गर्नसक्छ भन्ने कुरालाई राम्ररी मूल्यांकन गर्न सकेका थिएनन् । इरानले माइन बिछ्याउने वा ड्रोन आक्रमण गर्ने सम्भावनालाई उनीहरूले सामान्य रूपमा मात्रै लिएका थिए । तर युद्ध विस्तार हुँदै जाँदा ती जोखिमहरू वास्तविक र भयानक खतरा बनेर अगाडि आएका छन् । आफ्नो प्रारम्भिक आँकलन गलत सावित भएपछि र अवस्था जटिल बनेपछि अहिले अमेरिका र उसका सहयोगी देशहरूले खाडी क्षेत्रमा आफ्नो नौसैनिक उपस्थिति बाक्लो बनाएका छन् । अमेरिकाले अहिले तेल ट्यांकरहरूको सुरक्षा गर्न, समुद्री मार्गको निरन्तर निगरानी गर्न र समुद्रमा बिछ्याइएका बारुदी सुरुङ हटाउन विशेष ध्यान केन्द्रित गरेको छ ।
कठोर नीतिबाट पछि हट्न बाध्य
इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीको अन्तिमदेखि संयुक्त रूपमा आक्रमण तीव्र पारेका छन् । यसको जवाफमा इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडा र अन्तर्राष्ट्रिय जलमार्गमा रहेका तेल ट्यांकरहरूलाई लक्षित गरिरहेको छ । निरन्तरको आक्रमणले विश्व बजारमा तेलको आपूर्ति घटेर मूल्य लगातार बढेपछि अमेरिका आफ्नो कठोर नीतिबाट पछि हट्न बाध्य भएको हो । अमेरिकी अर्थ मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न समुद्रमा लोड गरिएको रुसी कच्चा तेल र पेट्रोलियम पदार्थ किन्ने देशमाथिको प्रतिबन्ध तत्कालका लागि कार्यान्वयन नगर्ने घोषणा गरेको छ । यसअघि अमेरिकाले रुसबाट तेल किन्ने देशलाई उच्च भन्सार दर लगाउँदै आएको थियो । अबको एक महिनासम्म विश्वका जुनसुकै देशले रुसी तेल किन्न स्वतन्त्र हुने अमेरिकाले जनाएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय जलमार्गमा रहेका रुसी तेल ट्यांकरहरूलाई विश्वका विभिन्न देशमा जान बाटो खुलेको छ ।
तेहरानमा इजरायली आक्रमण र खामेनेई घाइते भएको दाबी
यसैबीच इजरायलले इरानमाथि अर्को ठूलो स्तरको आक्रमण सुरु गरेको छ । इरानको राजधानी तेहरानमा शृंखलाबद्ध विस्फोटका ठूला आवाजहरू सुनिएका छन् । यी आक्रमणहरूले युद्धलाई थप खतरनाक मोडमा पुर्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका नयाँ सर्वोच्च नेता मोज्ताबा खामेनेईलाई लक्षित गरी आक्रमण गरिएको र उहाँ घाइते भएको दाबी गर्नुभएको छ । एउटा टेलिभिजन अन्तर्वार्तामा ट्रम्पले अमेरिका र इजरायलले इरानलाई दोस्रो विश्वयुद्धपछि कसैलाई पनि नगरेको जति कडा प्रहार गरिरहेको बताउनुभएको छ । समाचार एजेन्सीहरूले पनि एक इरानी अधिकारीलाई उद्धृत गर्दै खामेनेई सामान्य घाइते भएको उल्लेख गरेका छन् । यद्यपि, यस घटनाबारे थप विस्तृत विवरण आउन बाँकी छ । यसअघि इरानी सरकारी टेलिभिजनबाट सन्देश दिँदै खामेनेईले स्ट्रेट अफ हर्मुज अवरुद्ध गर्ने विकल्प इरानसँग अझै सुरक्षित रहेको बताउनुभएको थियो । उहाँको यही अभिव्यक्तिको जवाफमा ट्रम्पले उनीहरूले धेरै कुरा गरिरहेको र अब त्यसलाई व्यवहारमा भोग्नुपर्ने चेतावनी दिनुभएको हो । अर्कोतर्फ इराकको आकाशमा उडिरहेको अमेरिकी सेनाको इन्धन भर्ने एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा विमानमा सवार ६ जनामध्ये चार जना चालक दलका सदस्यको मृत्यु भएको अमेरिकी सेनाले पुष्टि गरेको छ । यद्यपि, यो दुर्घटना दुश्मनको आक्रमण वा आफ्नै पक्षको गोलाबारीका कारण नभएको अमेरिकी सेनाले स्पष्ट पारेको छ ।
कम्बोडियाका अनलाइन क्यासिनोबाट २१ नेपालीको उद्धार
अन्तर्राष्ट्रिय रूपमा युद्ध र ऊर्जा संकटले विश्व तरंगित भइरहँदा नेपालका लागि भने वैदेशिक रोजगारीका नाममा हुने ठगी अर्को गम्भीर समस्या बनेर देखापरेको छ । विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुर्याइएका र त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा फसेका २१ जना नेपाली नागरिकको सकुशल उद्धार गरी स्वदेश फर्काइएको छ । बिनाभिसा बसिरहेका र बन्धक बनाएर गैरकानुनी काममा लगाइएका उनीहरूलाई थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा नेपाल ल्याइएको हो । यस उद्धार कार्यमा गैरआवासीय नेपाली संघ कम्बोडियाले पनि विशेष सहजीकरण गरेको थियो । अझै पनि त्यहाँ अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई स्वदेश फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ ।
ठगी केन्द्रमा काम लगाइएका धेरै नेपालीको राहदानी कम्पनीले नै जफत गर्ने गरेको वा एउटा केन्द्रबाट अर्कोमा सार्दा राहदानी हराउने गरेको गुनासो धेरै आएको छ । यस्तो अवस्थामा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन दूतावासले बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ । दूतावासले अवैध रूपमा र अप्ठ्यारो अवस्थामा बसिरहेका नेपालीलाई नेपाल फर्कन दूतावास वा गैरआवासीय नेपाली संघका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध पनि गरेको छ ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांक हेर्ने हो भने पछिल्लो समय भिजिट भिसामा त्यहाँ जाने नेपालीको संख्या अस्वाभाविक रूपमा बढेको देखिन्छ । सन् २०२१ मा जम्मा १०१ जना नेपाली कम्बोडिया गएकामा सन् २०२२ मा यो संख्या बढेर झण्डै दुई हजार पुगेको थियो । त्यसैगरी सन् २०२४ मा ६ हजारभन्दा बढी र सन् २०२५ मा नौ हजार ६ सय ७६ जना नेपाली कम्बोडिया पुगेको तथ्यांक छ । छिटो र धेरै पैसा कमाउने लोभमा दलालहरूको फन्दामा परी भ्रमणको बहाना गर्दै कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डजस्ता देशमा वैदेशिक रोजगारीका लागि नजान सरकारले सबैलाई सचेत गराएको छ । वैदेशिक रोजगारीमा जाँदा नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेर र श्रम स्वीकृति लिएर मात्र जान राजदूतावासले विशेष अनुरोध गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि