म्याग्दी । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनुभएका महावीर पुनले शुक्रबार साँझ बैंक खाता र वचत रकम नै सार्वजनिक गर्नुभएको छ ।
शुक्रबार साँझ आफ्नो फेसबुक पेज मार्फत महावीर पुनको नाममा निर्वाचन प्रयोजनका लागि खोलिएको राष्ट्रिय वाणिज्य बैंकको साधारण वचत खाता र उक्त खातामा वचत रहेको २७ लाख ६९ हजार,२५ रुपिँया ४७ पैसा पुनले सार्वजनिक गर्नुभएको हो ।
प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित पुनका अनुसार उक्त खातामा देश विदेशमा रहेका शुभेच्छुक र आफन्तहरुबाट रु ५६ लाख,३७ हजार आठसय ९३ आम्दानी (प्राप्त) भएको हो । निर्वाचन प्रयोजनका लागि सहयोग स्वरुप प्राप्त भएको उक्त रकममध्ये निर्वाचनमा रु २८ लाख ६८हजार आठ सय ६८ खर्च भएको विवरण पुनले निर्वाचन आयोगमा पेस गरिसक्नुभएको छ ।
निर्वाचन खर्च कटाएर वचत भएको रु २७ लाख ६९ हजारबाट म्याग्दीको सदरमुकाम बेनीबजारमा सम्पर्क कार्यालय खोल्ने र गाउँबाट सदरमुकाममा सरकारी कामकाजका लागि आउने सर्वसाधारण तथा आर्थिक सहयोग चाहिनेहरुलाई निःशुल्क सामान्य सहयोगमा खर्च गरिने पुनले जनाउनुभएको छ ।
पुनका अनुसार सम्पर्क कार्यालयमा अभिलेख चुस्त दुरुस्त राख्नका लागि दुईजना कर्मचारी,कम्प्यूटर,फोटोकपि मेसिन र प्रिन्टर पनि राखिने छ । “यो कुरा मैले गाउँ गाउँमा चुनाव प्रचार प्रसार गर्ने बेलामा सबैलाई भनेको छु । ठूलो सहयोग गर्न नसके पनि सानोतिनो सहयोग पक्कै हुनेछ” पुनले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।
निर्वाचनमा ४५ दिनसम्म बिहान ७ बजेदेखि राती १० बजेसम्म दैनिक १० देखि १६ जनाको समूह दुई पटकसम्म म्याग्दीका सबै गाउँहरुमा घुम्दा,खानबस्न,यातायात,चालक खर्च, स्टेशनरी र अन्य गरी रु २८ लाख ६८ हजार आठ सय ६८ खर्च भएको हो । म्याग्दी जिल्ला काठमाण्डौ,झापा जस्तो सुगम नभएकोले बढी खर्च देखिएको उहाँले जनाउनुभएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुन १४ हजार नौ सय ३१ को फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको हो । निर्वतमान शिक्षामन्त्री समेत रहनुभएका पुनले २२ हजार आठ सय ५० मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले बताउनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार नौ सय १९ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी नेपाली कांग्रेसका कर्णबहादुर भण्डारी९केबी०ले छ हजार छ सय ७३ मत र नेकपाका अर्जुन थापाले तीन हजार पाँच सय ३० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत थापाले बताउनुभयो । म्याग्दीमा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । म्याग्दीमा ८६ हजार तीन सय ९७ मतदाता रहेकोमा ४६ हजार दुई सय १५ मत खसेको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि