भोजपुर । वन डढेलोले जंगलहरुको बिनास हुन थालेपछि पहाडी जिल्ला भोजपुरमा पनि आइतवारबाट ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु गरिएको छ ।
‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि भोजपुरमा पनि सप्ताह सुरु भएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाँले जानकारी दिनुभयो । उहाँकाअनुसार वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाइँदै आएको छ ।
वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लामा पनि सचेतना मुलक कार्यक्रमहरु सुरु गरिएको हो । डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धिका लागि जिल्लामा डिभिजन वन कार्यालयसँगै वन पैदावार औद्योगिक व्यवसायी संघ भोजपुर, सामुदायिक वन उपभोत्ता महासंघ, भोजपुर र दिव्या रोजिन एण्ड टर्पेन्टाइन प्रालि, मोरङ सक्रिय देखिएको छ ।
सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय स्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन हुने छन् ।
नेपालमा सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च रहने गरेको छ । डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख मियाँले बताउनुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि