इलाम । इलामको रोङ गाउँपालिका–३ कुट्टिडाँडामा रहेको सानो पाथीभरा मन्दिरमा दाताले चढाएको सुन–चाँदीलाई पारदर्शी ढंगले व्यवस्थापन गर्न पगालेर एक ढिक्का बनाउने काम गरिएको छ । गाउँपालिकाले सरोकारवालाको उपस्थितिमा उक्त सुन–चाँदी पगालेर सुरक्षित रूपमा राख्ने प्रक्रिया अघि बढाएको हो ।
रोङ गाउँपालिकाले २०७९ सालमा “पाथीभरा मन्दिर संरक्षण तथा व्यवस्थापन ऐन” जारी गर्दै मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याएको थियो । त्यसपछि मन्दिरको संरक्षण, व्यवस्थापन तथा विकासका लागि पाथीभरा विकास समिति गठन गरिएको छ । समितिले जिम्मेवारी सम्हालेपछि मन्दिरमा दाताबाट प्राप्त भेटीलाई व्यवस्थित ढंगले अभिलेख राख्ने र सुरक्षित गर्ने कार्य सुरु गरिएको हो ।
गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबोका अनुसार मन्दिरमा चढाइएको सुन–चाँदीलाई पारदर्शी बनाउन विभिन्न सरोकारवाला निकायको रोहवरमा पगालेर एक ढिक्का बनाइएको हो । आइतबार यस प्रक्रियामा गाउँपालिकाका जनप्रतिनिधि, नापतौल विभाग, सुन–चाँदी व्यवसायी संघ, जिल्ला प्रशासन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, प्रहरी, पाथीभरा विकास समिति तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
अध्यक्ष स्याङबोले मन्दिरमा आएको भेटीलाई व्यवस्थित र पारदर्शी रूपमा राख्न यस्तो प्रक्रिया अपनाइएको बताउँदै हालका लागि उक्त सुन–चाँदी गाउँपालिकाको आम्दानी खातामा राखिने जानकारी दिनुभयो । “हामी पारदर्शी भएर काम गर्न चाहन्छौँ । हाम्रो कार्यकालमा सुन–चाँदी बिक्री गर्ने योजना छैन । कार्यपालिका बैठकले आवश्यक निर्णय लिन्छ,” उहाँले भन्नुभयो।
२०७९ साल फागुन यता मन्दिरमा नगद ४ करोड २३ लाख ६८ हजार ८ सय ५४ रुपैयाँ, सुन १३.४५ तोला र चाँदी ६०९.५७ तोला जम्मा भएको विवरण सार्वजनिक गरिएको छ ।
पाथीभरा विकास समितिकी कोषाध्यक्ष कृष्णकुमारी भुजेलका अनुसार समितिलाई जिम्मेवारी दिएपछि मन्दिरमा दैनिक रूपमा नगदको हिसाब राख्ने व्यवस्था गरिएको छ । सुन तथा चाँदीको हकमा भने दाताले चढाएको दिनकै विवरण संकलन गरी दैनिक रूपमा पोको पारेर मिति उल्लेख गरी सिल गरेर सुरक्षित राख्ने गरिएको थियो ।
यसरी संकलित सुन–चाँदीलाई सबै पक्षको उपस्थितिमा रुजु गरी पगालेर एक ढिक्का बनाइएको समितिले जनाएको छ । गाउँपालिकाले यसरी सुरक्षित राखिएको सुन–चाँदीको भविष्यमा कसरी उपयोग गर्ने भन्ने विषयमा कार्यपालिका बैठकबाट निर्णय गर्ने तयारी गरेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि