नेपाली चलचित्र उद्योगमा चम्किलो पर्दाभन्दा धेरै गहिरो संसार पर्दाभन्दा पछाडि हुन्छ । त्यो संसार हो, प्राविधिकहरूको पसिना, मिहिनेत र समर्पणले बनेको संसार । क्यामेराको लेन्सदेखि प्रकाशको झिलिमिली, ध्वनिको सन्तुलनदेखि दृश्यको संवेदनासम्म, चलचित्रको वास्तविक आधार प्राविधिकहरूको श्रममै टेकेको हुन्छ । यही प्राविधिक समुदायको आवाज र अधिकारको प्रतिनिधित्व गर्ने संस्था हो नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) । यो संस्थाले वर्षौंदेखि नेपाली चलचित्र उद्योगका प्राविधिकहरूको हक-हित, पेशागत सुरक्षा र सम्मानका लागि काम गर्दै आएको छ । विगत तीन कार्यकालदेखि नेफ्टाको नेतृत्वमा हुनुहुन्छ पुष्कर लामा (प्रेम बोम्जन) । कलाकारका रूपमा चलचित्र क्षेत्रमा पाइला टेक्नुभएका उहाँ समयसँगै प्राविधिक क्षेत्रतर्फ लाग्नुभयो र आज प्राविधिकहरूको साझा आवाज बन्नुभएको छ । संस्थाको २०औं वार्षिक साधारणसभाबाट उहाँ तेस्रोपटक सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको थियो । यसअघि पनि २०७२ र २०७५ सालमा संस्थाको नेतृत्व सम्हालिसक्नुभएका लामा प्राविधिकहरूको पेशागत अधिकार, सामाजिक सुरक्षा र व्यवस्थित चलचित्र उद्योग निर्माणका लागि निरन्तर सक्रिय हुनुहुन्छ । मकवानपुरको इन्द्रसरोवर-१ मा बुबा अक्कलबहादुर बोम्जन र लक्ष्मीमाया बोम्जनको कोखबाट जन्मिनुभएका उहाँ चलचित्रप्रतिको समर्पण, प्राविधिकहरूको सुरक्षाप्रतिको चिन्ता र नेपाली चलचित्र उद्योगलाई व्यवस्थित बनाउने दृढ सोच बोकेर अघि बढिरहनुभएको छ । चलचित्र सिर्जनात्मकतासँगै सयौं मानिसको श्रमको संगम रहेको बताउनुहुने नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)का अध्यक्ष पुष्कर लामा (प्रेम बोम्जन)सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यतिबेला के गर्दै हुनुहुन्छ ?
हालै चलचित्र ‘कमला मिस’को छायांकन सम्पन्न भएको छ । छायांकन सकिएपछि अब यसको पोष्ट–प्रोडक्सनको तयारी भइरहेको छ । यससँगै नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को अध्यक्षको हैसियतले संस्थागत जिम्मेवारी पनि छन् । प्राविधिकहरूको समस्या, उनीहरूको पेशागत अधिकार, सुरक्षाको विषयका साथै समग्र चलचित्र क्षेत्रका विषयमा विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेको हुन्छु । व्यक्तिगत काम र संस्थागत जिम्मेवारीलाई सन्तुलित गर्दै अघि बढ्नु अहिलेको मेरो मुख्य दैनिकी बनेको छ ।
मेरो सोच सधैं एउटै रह्यो, जिम्मेवारी लिनुभनेको त्यसलाई इमानदारीका साथ पूरा गर्नु हो । जब कुनै पद वा जिम्मेवारी स्वीकार गरिन्छ, त्यसलाई केवल नामका लागि होइन, कामका लागि स्वीकार गर्नुपर्छ भन्ने मेरो विश्वास छ । त्यसैले समय व्यवस्थापनको कुरा गर्दा म प्राथमिकता निर्धारणलाई सबैभन्दा महत्व दिन्छु । चलचित्रको काम, संस्थाको काम, व्यक्तिगत जीवन, यी सबैलाई सन्तुलित बनाउनु सजिलो छैन । तर, उद्देश्य स्पष्ट भयो भने समय आफैं व्यवस्थित हुन्छ । नेफ्टाको अध्यक्षका रूपमा म सधैं प्राविधिकहरूको पक्षमा उभिनुपर्ने जिम्मेवारी महसुस गर्छु ।
‘कमला मिस’ कस्तो चलचित्र हो ?
‘कमला मिस’ केवल एउटा कथा होइन, मानव मनको गहिराइमा डुबेर खोजिएको संवेदनाको चलचित्र हो । यो चलचित्र वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहको निर्देशनमा बनेको हो । चलचित्रको मूल विषय मानव मनोविज्ञान हो । मानिसको मनभित्र लुकेका भावनाहरू, द्वन्द्व, स्मृति र जीवनका सूक्ष्म आयामलाई चलचित्रले उठाएको छ । यस्तो कथा प्रायः बाहिर देखिँदैन, तर मानिसको अन्तरमनमा निरन्तर चलिरहन्छ । ‘कमला मिस’ त्यही मनको यात्रा हो ।
चलचित्रमा निर्देशक नीर शाहसँगै रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवम् सर्राफ क्षेत्री, आरभ दाहाल, भावना मगर, सुशान्तकुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी, सञ्जय खतिवडालगायत कलाकारको अभिनय रहेको छ । यो चलचित्र विजय मल्ल स्मृति प्रतिष्ठानको प्रस्तुतिमा निर्माण भएको हो । कार्यकारी निर्मातामा उमेश मल्ल र चैतन्य प्रधान हुनुहुन्छ । म यस चलचित्रमा लाइन प्रोड्युसरका रूपमा जोडिएको छु । कथाकार विजय मल्लको कथामा आधारित यो चलचित्रको पटकथा तथा संवाद निर्देशक नीर शाह, प्रजल दुलाल र सुगम दुलालले तयार पार्नुभएको हो । यस चलचित्रको प्राविधिक पक्ष पनि उत्तिकै बलियो छ । छायांकन शिवराम श्रेष्ठले गर्नुभएको छ भने संगीत युग भुसालको छ । नृत्य निर्देशन रामजी लामिछानेले गर्नुभएको छ । निर्माण व्यवस्थापनको जिम्मेवारी भोला सुवेदीले सम्हाल्नुभएको थियो । विशेष कुरा के हो भने निर्देशक नीर शाह लामो समयपछि निर्देशनमा फर्किनुभएको हो । ‘वासुदेव’, ‘पच्चीस वसन्त’, ‘राजमती’, ‘वसन्ती’, ‘मसान’ र ‘सेतो बाघ’ जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेपछि उहाँ दशकपछि फेरि ‘कमला मिस’ निर्देशनमा फर्किनुभएको छ । त्यसैले ‘कमला मिस’ केवल एउटा चलचित्रमात्र होइन, एउटा अनुभवी निर्देशकको पुनरागमन पनि हो ।
प्राविधिक संघको अध्यक्षका रूपमा तपाईंले कुशलतापूर्वक काम गर्दै आउनुभएको छ । विभिन्न समस्यामा अग्रभागमा रहेर काम गरिरहनुभएको देखिन्छ । समयको व्यवस्थापन कसरी गर्नुहुन्छ ?
मेरो सोच सधैं एउटै रह्यो, जिम्मेवारी लिनु भनेको त्यसलाई इमानदारीका साथ पूरा गर्नु हो । जब कुनै पद वा जिम्मेवारी स्वीकार गरिन्छ, त्यसलाई केवल नामका लागि होइन, कामका लागि स्वीकार गर्नुपर्छ भन्ने मेरो विश्वास छ । त्यसैले समय व्यवस्थापनको कुरा गर्दा म प्राथमिकता निर्धारणलाई सबैभन्दा महत्व दिन्छु । चलचित्रको काम, संस्थाको काम, व्यक्तिगत जीवन, यी सबैलाई सन्तुलित बनाउनु सजिलो छैन । तर, उद्देश्य स्पष्ट भयो भने समय आफैं व्यवस्थित हुन्छ । नेफ्टाको अध्यक्षका रूपमा म सधैं प्राविधिकहरूको पक्षमा उभिनुपर्ने जिम्मेवारी महसुस गर्छु । किनभने चलचित्र चम्किलो पर्दामा देखिए पनि त्यसको पछाडि हजारौं प्राविधिकको पसिना र मिहिनेत हुन्छ । त्यही मिहिनेतको सम्मान सुनिश्चित गर्नु मेरो पहिलो प्राथमिकता हो ।
चलचित्र प्राविधिकका मुख्य समस्या के-के छन् जस्तो लाग्छ ?
नेपाली चलचित्र क्षेत्रमा प्राविधिकहरूका धेरै चुनौती छन् । सबैभन्दा ठूलो समस्या भनेको पेशागत सुरक्षा र सामाजिक सुरक्षाको अभाव हो । धेरै प्राविधिक जोखिमपूर्ण वातावरणमा काम गर्छन् । छायांकनका क्रममा दुर्घटना हुने सम्भावना हुन्छ । तर, अझै पनि सबै प्राविधिकहरू बीमा र सामाजिक सुरक्षा प्रणालीमा समेटिएका छैनन् । अर्को समस्या भनेको कामको नियमितता हो । चलचित्र उद्योग सधैं स्थिर हुँदैन । कहिले धेरै काम हुन्छ, कहिले लामो समय काम नहुन सक्छ । यसले प्राविधिकहरूको आर्थिक स्थायित्वमा असर पार्छ । त्यसैगरी न्यूनतम पारिश्रमिकको स्पष्ट मापदण्ड नहुनु पनि समस्या हो । यी सबै समस्या समाधानका लागि संस्थागत पहल आवश्यक छ ।
यी समस्या समाधानका लागि तपाईंले के-कस्ता पहल गर्नुभएको छ ?
नेफ्टाको अध्यक्षका रूपमा केही महत्वपूर्ण पहल अघि बढाएका छौं । सबैभन्दा पहिले सामाजिक सुरक्षा कोषमा प्राविधिकहरूलाई जोड्ने कामलाई प्राथमिकतामा राखेका छौं । यसले भविष्यमा प्राविधिकहरूको जीवनलाई सुरक्षित बनाउनेछ । यससँगै बीमा प्रणालीलाई अनिवार्य बनाउने विषयमा पनि छलफल भइरहेको छ । छायांकनमा जाने हरेक प्राविधिकको बीमा हुनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । निर्मातासँग निरन्तर संवादमा छौं । प्राविधिकहरूको अधिकार र सुरक्षालाई सुनिश्चित गर्दै उद्योगलाई व्यवस्थित बनाउने हाम्रो प्रयास जारी छ ।
चलचित्र निर्माताहरूलाई के भन्न चाहनुहुन्छ ?
मेरो सबै निर्माताहरूलाई एउटा स्पष्ट अनुरोध छ । छायांकनमा जानुअघि न्यूनतम बजेटको स्पष्ट योजना बनाउनुहोस् । बिनातयारी छायांकन सुरु गर्दा धेरै समस्या आउँछ । त्यसैगरी सबै प्राविधिकहरूको बीमा प्रक्रिया पूरा गरेरमात्र छायांकन सुरु गर्नुपर्छ । चलचित्र केवल कलात्मक सिर्जनामात्र होइन, यो सयौं मानिसको श्रमले बनेको सामूहिक प्रयास हो । त्यसैले सबैको सुरक्षा र सम्मान सुनिश्चित गर्नु निर्माताको जिम्मेवारी हो ।
तपाईं यो क्षेत्रमा कसरी आउनुभयो ?
मेरो यात्रा कलाकारका रूपमा सुरु भएको हो । चलचित्रप्रति सानैदेखि आकर्षण थियो । अभिनयका माध्यमबाट यो क्षेत्रमा प्रवेश गरेँ । तर, समयसँगै प्राविधिक पक्षप्रति रुचि बढ्दै गयो । त्यसपछि विस्तारै प्राविधिक क्षेत्रतर्फ लागेँ । नेफ्टाको स्थापनाकालदेखि म जोडिएको छु । यो संस्था मेरा लागि केवल संगठनमात्र होइन, परिवारजस्तै हो । मैले विदेशी र स्वदेशी धेरै चलचित्रमा काम गरेको छु ।
नेफ्टाको अध्यक्षमा तपाईं तेस्रोपटक निर्वाचित हुनुभएको छ । यसलाई कसरी लिनुभएको छ ?
यो मेरा लागि ठूलो जिम्मेवारी हो । नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)को २०औं वार्षिक साधारणसभाबाट म सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएको छु । यसअघि २०७२ र २०७५ मा पनि संस्थाको नेतृत्व गर्ने अवसर पाएको थिएँ । साथीहरूले फेरि विश्वास गरेर जिम्मेवारी दिनुभनेको उहाँहरूको अपेक्षा पनि ठूलो छ भन्ने हो । त्यसैले यो अवसरलाई म सम्मान र जिम्मेवारी दुवै रूपमा लिन्छु ।
अन्त्यमा, नेपाली चलचित्र उद्योगको भविष्य कस्तो देख्नुहुन्छ ?
म नेपाली चलचित्र उद्योगप्रति निकै आशावादी छु । नयाँ पुस्ता, नयाँ सोच, नयाँ प्रविधि र नयाँ ऊर्जा यो क्षेत्रमा प्रवेश गरिरहेको छ । यदि हामीले प्राविधिक, कलाकार, निर्माता र संस्थाहरूबीच सहकार्यलाई बलियो बनायौं भने नेपाली चलचित्र उद्योगले अझ ठूलो उचाइ हासिल गर्नसक्छ । मेरो विश्वास छ, नेपाली चलचित्रको भविष्य उज्यालो छ । किनभने यो उद्योग केवल व्यवसाय होइन, सपना देख्ने र कथा सुनाउने मान्छेहरूको संसार हो । र, जबसम्म सपनाहरू बाँच्छन्, चलचित्र पनि बाँच्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि