अर्घाखाँची । अर्घाखाँचीमा वन क्षेत्रमा बढ्दो डढेलो जोखिमलाई ध्यानमा राख्दै ‘वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह’ शुभारम्भ गरिएको छ ।
वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति कम गर्न योजनाबद्ध रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्न थालिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिनुभयो । सप्ताहको अवसरमा वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको छ ।
डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली रहने व्यवस्था मिलाइएको छ । टोलीलाई आवश्यक उपकरण तथा मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ । सूचना अधिकारी खड्काका अनुसार उक्त टोलीलाई जेठ मसान्तसम्म जिल्लाभर परिचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ । डढेलोको जोखिम बढी हुने समयलाई लक्षित गरी टोलीलाई विभिन्न वन क्षेत्रमा निगरानी तथा तत्काल नियन्त्रणका लागि खटाइने उहाँले जानकारी दिनुभयो ।
सप्ताहको सुरुआतसँगै सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो । कार्यक्रममा वरिष्ठ वन अधिकृत सन्तबहादुर थिंग, रामबहादुर घलान, भू-तथा जलाधार कार्यालयका प्रमुख राकेश कुँवर, अधिकृत अरुण आचार्यलगायत स्थानीय तहका प्रतिनिधि, सुरक्षाकर्मी, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।
यसै अवसरमा वन डढेलोसम्बन्धी तथ्याङ्क सङ्कलन र सूचना व्यवस्थापनलाई व्यवस्थित बनाउन नयाँ ‘डिजिटल’ प्रणाली पनि सञ्चालनमा ल्याइएको छ । जिल्लाभित्र रहेका ६ वटै सबडिभिजन वन कार्यालयले वन डढेलोसम्बन्धी घटना भएको २४ घण्टाभित्र अनलाइन प्रणालीमा प्रबिष्टि गर्ने व्यवस्था मिलाइएको छ । ‘वन डढेलो रिपोर्टिङ २०८२/८३’ अनलाइन सिट सञ्चालनमा ल्याइएपछि डढेलोसम्बन्धी तथ्याङ्क समयमै सङ्कलन हुने र आवश्यक निर्णय लिन सहज हुने अपेक्षा गरिएको छ ।
वन संरक्षण, जैविक विविधता र वातावरणीय सन्तुलन कायम राख्न वन डढेलो नियन्त्रण महत्वपूर्ण हुने भएकाले सम्बन्धित निकायले सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै वन क्षेत्रमा डढेलो देखिएमा तत्काल जानकारी गराएर नियन्त्रणमा सहयोग गर्न स्थानीयवासीसँग अनुरोध गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि