बझाङ । बझाङ जिल्लामा सञ्चालन भइरहेका दुई जलविद्युत आयोजना सानिगाड हाइड्रो लिमिटेडले यही चैत ८ गते र कालंगा हाइड्रो लिमिटेडले यही चैत १० गते देखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएका छन् । दुवै कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गर्दै शेयर निष्काशन गर्न लागेका हुन् ।
बझाङको बुंगल नगरपालिकामा सञ्चालित सानिगाड हाइड्रो लिमिटेडले चैत ८ गतेदेखि आईपीओ खुला गर्ने जनाएको छ । कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ । कम्पनीले अति प्रभावित क्षेत्र अन्तर्गत बुंगल नगरपालिका–४ (साविक खिरातडी गाविस वडा नं. ८), बुंगल नगरपालिका–२ (साविक दहबगर गाविस वडा नं. ६) र बुंगल नगरपालिका–१ (साविक दहबगर गाविस वडा नं. २) का बासिन्दाका लागि १८ लाख ५२ हजार ५ सय कित्ता शेयर छुट्याएको छ। त्यसैगरी प्रभावित क्षेत्र अन्तर्गत बुंगल नगरपालिकाका वडा नं. ३, ५, ६, ७, ८, ९, १० र ११ का बासिन्दाका लागि ९ लाख ९७ हजार ५ सय कित्ता शेयर छुट्याइएको छ ।
यसका साथै सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ७० हजार कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएको छ । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन म्याद चैत २२ गतेसम्म तोकिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन म्याद चैत ११ गतेसम्म रहनेछ । आवेदन लक्ष्मी सनराइज बैंकको चैनपुर शाखा, ग्लोबल आइएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकको बझाङ शाखा तथा बुंगल स्थित पावरहाउस विरावगरबाट दिन सकिने व्यवस्था गरिएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामार्फत आवेदन दिन सक्नेछन् । कम्पनीले सञ्चालन गरिरहेको ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ ।
यसैगरी केदारस्युँ गाउँपालिकामा रहेको कालंगा हाइड्रो लिमिटेडले पनि चैत १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपैयाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ । त्यसमध्ये १४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १४ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । सोमध्ये ९ लाख १० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्रका बासिन्दालाई बाँडफाँट गरिनेछ । अति प्रभावित क्षेत्रमा बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिका वडा नं. ३, ४, ५, ६ र ८, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दा समावेश छन् ।
त्यसैगरी बाँकी ४ लाख ९० हजार कित्ता शेयर प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ। यस अन्तर्गत बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका अति प्रभावित क्षेत्रमा नपरेका अन्य वडाका स्थायी बासिन्दाले आवेदन दिन सक्नेछन् । दुवै कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई जलविद्युत आयोजनामा प्रत्यक्ष लगानी गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले आईपीओ निष्काशन गर्न लागिएको जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि