काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले हालै सार्वजनिक गरेको शहीद स्मारक ‘ए’ डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै विभिन्न क्लब र समर्थकहरूले सोमबार एन्फा मुख्यालयअगाडि विरोध प्रदर्शन गरेका छन् । लिग सञ्चालनको मिति र प्रक्रियाबारे एकपक्षीय निर्णय गरिएको आरोप लगाउँदै क्लबहरू आन्दोलनमा उत्रिएका हुन् ।
एन्फाले आगामी चैत ३० गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग सुरु गर्ने तयारी गरेको छ । नेपाल फुटबल खेलाडी संघसँग भएको वार्तापछि लिग सोही मितिबाट सञ्चालन गर्ने सहमति भएको बताउँदै एन्फाले क्लबहरूलाई पत्राचारसमेत गरेको थियो । तर, क्लबहरूले भने उक्त सहमति आफूहरूसँग पर्याप्त छलफल नगरी गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूको भनाइमा लिगजस्तो महत्वपूर्ण प्रतियोगिताको मिति निर्धारण गर्दा क्लबहरूसँग समन्वय नगरी एकलौटी निर्णय गरिएको छ ।
यसैबीच, आन्दोलनरत क्लबहरूले पत्रकार सम्मेलन गर्दै एन्फासमक्ष विभिन्न मागहरू प्रस्तुत गरेका छन् । क्लबहरूको प्रमुख मागमध्ये एन्फा र ‘ए’ डिभिजन क्लबबीच २०८२ साल असोज १७ गते भएको सहमति तथा सोही मितिमा तय गरिएको कार्यतालिका कार्यान्वयन गर्नुपर्ने रहेको छ ।
त्यस्तै, राष्ट्रिय लिग सञ्चालन भइरहेका बेला ट्रान्सफर विन्डो नखोली खेलाडीहरूलाई अर्को क्लबमा सम्झौता गर्न दिने प्रक्रिया नियमविपरीत भएको क्लबहरूको दाबी छ । उनीहरूले क्लब र खेलाडीबीच भएको विद्यमान सम्झौताअनुसार नै कार्य गर्नुपर्ने माग गरेका छन् । विदेशी खेलाडीहरूको हकमा पनि स्पष्ट व्यवस्था हुनुपर्ने भन्दै क्लबहरूले ट्रान्सफर विन्डो खुला गरी एकद्वार प्रणालीमार्फत् काम गर्ने गरी परमिट लिने व्यवस्था तत्काल लागू गर्न एन्फालाई आग्रह गरेका छन् ।
क्लबहरूले लिगमा सहभागी हुने १४ वटा क्लबको सुनिश्चितता समयमै गरिनुपर्ने तथा लिग सञ्चालनका प्राविधिक र आर्थिक पक्षहरू स्पष्ट रूपमा सुनिश्चित गरिनुपर्ने मागसमेत अघि सारेका छन् । उनीहरूको भनाइमा क्लबहरूसँग सहमति र समन्वय नगरी लिगको मिति तय गर्नु खेलकुद व्यवस्थापनको दृष्टिले उपयुक्त नहुने बताइएको छ ।
आन्दोलनरत क्लब र समर्थकहरूले एन्फाले क्लबहरूको मागलाई गम्भीरतापूर्वक नलिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्न सकिने चेतावनीसमेत दिएका छन् । उनीहरूले फुटबलको समग्र विकासका लागि पारदर्शी र सहमतिमूलक ढंगले निर्णय गर्न एन्फालाई आग्रह गरेका छन् ।
एन्फासँग ए डिभिजन क्लबका सात माग
अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत ३० गतेदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग गर्ने तयारी गरेपछि क्लबहरूले विभिन्न सात माग राखेका छन् । सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै क्लबहरूले एन्फाको आलोचना गर्दै सात माग अघि सारेका हुन् । यसअघि नेपाल फुटबल खेलाडी संघसँगको वार्तामा ‘ए’ डिभिजन लिग चैत ३० गतेदेखि गर्ने सहमति भएको थियो । त्यही अनुरूप एन्फाले क्लबहरूलाई पत्राचार गरेको थियो । तर, क्लबहरूले यो सहमतिलाई एकलौटी भनेको छ । क्लबहरूको विज्ञप्तिमा भनिएको छ, ‘आज एउटा निर्णय गर्ने, सम्झौता गर्ने भोलि कार्यान्वयन नगर्ने, आफ्नो खुसीले एकलौटी निर्णय गर्ने प्रवृत्तिप्रति हामी सरोकारवाला आजित भइसकेका छौं ।’
क्लबहरूको माग यस्ता छन् :-
१. एन्फा र ए डिभिजन क्लबबीच लिगका सम्बन्धमा मिति २०८२/०७/१७ गते भएको कार्यतालिकासहितको सहमति कार्यान्वयन गर्नुपर्ने ।
२. राष्ट्रिय लिग चालु रहिरहेको अवस्थामा ट्रान्सफर विन्ड खुल्ला नगरी कसरी अर्को क्लबमा खेलाडी सम्झौता गर्न सकिन्छ ? तसर्थ क्लबको सम्झौताअनुसार कार्य गर्नुपर्ने ।
३. क्लबहरूले विदेशी खेलाडी आबद्ध गर्दा वर्क परमिट लिनलाई पर्याप्त समय आवश्यक पर्ने हुन्छ । राष्ट्रिय लिगमै पनि एन्फाले परमिटका लागि गर्ने सहजीकरण नगरेकाले अन्योल सिर्जना भएकाले विदेशी खेलाडीहरूको हकमा विन्ड खुल्ला गरी एकद्वार प्रणालीबाट परमिट लिने व्यवस्था अबिलम्ब गर्नुपर्ने ।
४. प्रतियोगिता नियमावलीअनुसार शहीद स्मारक ‘ए’ डिभिजन लिगका लागि १४ क्लब सहभागी हुने भन्ने उल्लेख गरिएकाले लिगको वैधता तथा कानुनी अड्चन आउन नदिन एन्फाले समयमै निर्णय गरी १४ वटा क्लबको सहभागिता सुनिश्चित गर्नुपर्ने ।
५. मिति २०८२/११/२६ गते क्लबहरूले एन्फालाई बुझाएको ध्यानाकर्षण पत्रविपरीत एकलौटी तबरले सहभागी क्लबहरूसँग छलफल नै नगरी मनोमानी तबरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोमा उक्त निर्णय अबिलम्ब सच्याई क्लबहरू सहमतिअनुसार निर्णय गर्न अनुरोध गर्दछौं ।
६. क्लबसँगको सहमतिबमोजिम राष्ट्रिय लिग समाप्त भएको ३० दिनपश्चात् ‘ए’ डिभिजन लिगका लागि प्रारम्भिक छलफल सुरु गरी लिगका बारेमा निर्णय गर्ने सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा बिनाछलफल, सहमतिबेगर राष्ट्रिय लिग चलिरहेको अवस्थामा लिगको मिति तय भएकोमा गम्भीर असहमति जनाउँदै सहभागी क्लब तथा सम्झौताबमोजिम कार्यतालिका प्रकाशित गर्न अनुरोध गर्दछौं ।
७. लिगसम्बन्धी प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिश्चितता गरी क्लबसँगको सहमतिमा मात्र लिगको मिति तय गर्नुपर्ने ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि