झापा । चलचित्र ‘पाँच पाण्डव’को छायांकन आरम्भ गरिएको छ । सोमबार झापाको नेपाल-भारत सीमावर्ती सहर काँकडभिट्टाबाट क्यामेरा पूजा गर्दै चलचित्रको औपचारिक शुभमुहूर्त गरिएको हो ।
छायांकनको पहिलो दिनको सेड्युलमा चलचित्रका मुख्य कलाकारहरूको उपस्थिति रहेको निर्माण टिमले जनाएको छ । कालीरानी फिल्मस्को ब्यानरमा निर्माण हुनलागेको यस चलचित्रमा ठूलो लगानीसँगै चर्चित कलाकारहरूको समिश्रण भएकाले यसलाई यस वर्षको प्रतीक्षित फिल्मका रूपमा हेरिएको छ ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) मुख्य भूमिकामा देखिनेछन् । उहाँहरूले नै चलचित्रमा ‘पाँच पाण्डव’को पात्र निर्वाह गर्ने जनाइएको छ ।
चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ भए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित सिनेमा भने नभएको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार यो पूर्णरूपमा सामाजिक विषयवस्तुमा आधारित ‘सोसल ड्रामा’ हो । महाभारतका पाँच पाण्डवको बिम्ब प्रयोग गर्दै समकालीन समाजको कथा प्रस्तुत गर्ने प्रयास चलचित्रमा गरिएको छ ।
चलचित्रमा महिला पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङ देखिनुहुनेछ । वसन्त निरौलाले निर्देशन गर्ने चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेख्नुभएको हो । पौडेल यसअघि समीक्षक र दर्शक दुवैबाट रुचाइएको चर्चित चलचित्र ‘प्रसाद’का लेखक हुनुहुन्छ ।
चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुनुहुन्छ भने निर्माता कालीरानी श्रेष्ठ हुनुहुन्छ । चलचित्रको छायांकन श्याम तामाङले गर्नुहुनेछ । करिब ४० दिनको छायांकन तालिका तय गरिएको यस चलचित्रका अधिकांश दृश्य झापामै खिचिने निर्माण टिमले जनाएको छ । झापामा छायांकन सकेपछि अन्य स्थानमा पनि सुटिङ गर्ने तयारी रहेको निर्देशक निरौलाले जानकारी दिनुभयो ।
प्राविधिक रूपमा पनि चलचित्रलाई आधुनिक बनाउने तयारी गरिएको छ । ‘पाँच पाण्डव’को साउण्ड डिजाइन डल्बी एट्मस प्रविधिमा गरिनेछ । म्युजिक नेपालले हालै नेपालमै सञ्चालनमा ल्याएको डल्बी एट्मस साउण्ड स्टुडियोमा चलचित्रको ध्वनि सम्पादन गरिने निर्माण पक्षले जनाएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि