काठमाडौं । आगामी वैशाख ११ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘परालको आगो’को गीत ‘उडी जाऊँ भने, म पन्छी होइन’ सार्वजनिक गरिएको छ । निर्माण टिमले सोमबार उक्त गीतको भिडियो सार्वजनिक गरेको हो । गीतमा गायिका निशु शर्माको स्वर सुन्न सकिन्छ ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुहाना थापा, प्रकाश सपुत र बालकलाकार मञ्जिला बानियाँको अभिनय देख्न सकिन्छ । भिडियोमा आफू बसेको स्थानभन्दा आफ्नो माया र अपनत्व भएको ठाउँतर्फ जान चाहने भावनालाई सुहानाले अभिनयमार्फत व्यक्त गर्नुभएको छ ।
गीत नेपाली संगीतका पहिलो कम्पोजर तथा एरेन्जर शान्ति ठटालको संगीतमा आधारित छ भने शब्द मनबहादुर मुखियाले रचना गर्नुभएको हो । नेपाली स्रोतामाझ अत्यन्त लोकप्रिय रहेको यो गीतले नयाँ संस्करणमा पनि दर्शक-श्रोतामाझ छुट्टै छाप छोड्ने निर्माण पक्षको विश्वास छ । यो गीतको मूल संस्करण भने चर्चित गायिका अरुणा लामाले करिब चार दशकअघि गाउनुभएको थियो । निर्माण टिमले नयाँ संस्करणमार्फत उहाँलाई श्रद्धाञ्जलिस्वरूप सम्झिएको जनाएको छ । गीतको नयाँ म्युजिक एरेन्ज विनोद भुजेलले गर्नुभएको हो ।
साहित्यकार गुरुप्रसाद मैनालीको अमर कृति ‘परालको आगो’बाट प्रेरित यस चलचित्रमा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने तथा बाल कलाकार मञ्जिला बानियाँलगायत कलाकारको अभिनय छ । शील पोखरेलको लगानी रहेको यस चलचित्रको पटकथा तथा संवाद सुशील देवकोटाले लेख्नुभएको हो । लक्ष्मण सुनारले निर्देशन गरेको चलचित्रमा संकल्प भुजेलको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ ।
गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा समावेश कथा ‘परालको आगो’ यसअघि पनि चलचित्रका रूपमा निर्माण भइसकेको छ । करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले सोही कथामा आधारित चलचित्र निर्माण गर्नुभएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि