तीव्र शहरीकरणसँगै बढ्दो फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । खासगरी प्लाष्टिकजन्य फोहोरले वातावरणीयसँगै स्वास्थ्यमा जोखिम बढाइरहेको अवस्था छ । त्यसो त प्लाष्टिकजन्य सामग्रीको सही रूपमा प्रयोग गर्न नजान्दा पनि जोखिम बढिरहेको छ । चिकित्सकहरूका अनुसार, खासगरी प्लाष्टिक बोतलमा तातोपानी वा तातो पेय पदार्थ राख्नु, प्लाष्टिक कपमा चिया-कफी पिउनु निकै घातक मानिन्छ । विभिन्न अध्ययनहरूले मानिसको रगतका साथै दिमागमा समेत प्लाष्टिकजन्य तत्व फेला परेको देखाएका छन् । प्लाष्टिकजन्य फोहोरले त झनै हावा र पानीका स्रोत प्रदूषित बनाइरहेको अवस्था छ । सोही कारण पनि विज्ञहरूले प्लाष्टिकको विकल्पमा जोड दिँदै जोखिम न्यूनीकरणका लागि प्लाष्टिकजन्य फोहोरको दिगो व्यवस्थापनको आवश्यकता औंल्याएका छन् । हस्पिटालिटी क्षेत्र(बाजेको सेकुवा)बाट व्यावसायिक यात्रा सुरु गर्नुभएका खड्का पनि केमिकल्स इञ्जिनियर हुनुहुन्छ । उहाँ अब बन्ने नीतिहरू फोहोरबाट ‘मोहोर’कमाउने कुरामा मात्रै सीमित नभई पुनःप्रयोग र प्रशोधन गरेर निर्यात गर्न सकिने वस्तु उत्पादनतर्फ केन्द्रित हुनुपर्ने बताउनुहुन्छ । त्यसरी फोहोरलाई स्रोतमा रूपान्तरण गर्दै नेपालले डलर आर्जन गर्ने सम्भावना रहेको खड्काको भनाइ छ । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)तर्फबाट निर्वाचित सांसदसमेत रहनुभएका उहाँ पछिल्लो समय बेष्ट मेनेजमेन्ट क्षेत्रमा क्रियाशील हुनुहुन्छ । तर, अभानी भेन्चर्स प्रालिका सञ्चालकसमेत रहनुभएका खड्का नीतिगत समस्याका कारण नेपालमा फोहोर व्यवस्थापन सोचेजस्तो सहज नभएको बताउनुहुन्छ । भर्खरै नीति निर्माण गर्ने तहमा पुग्नुभएका सांसद सुशील खड्कासँग खासगरी प्लाष्टिकजन्य फोहोर पुनःप्रयोग(रिसाइकल्स)का विषयमा केन्द्रित रही हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-
अभानी भेन्चर्स प्रालिले के काम गर्छ ?
प्लाष्टिकसँग रिलेटेड काम गर्ने कम्पनी हो । हामी विगत १२, १३ वर्षदेखि प्लाष्टिक पुनःप्रयोग(रिसाइकल्स)क्षेत्रमा काम गर्दै आएका छौं ।
कस्तो प्लाष्टिकजन्य फोहोरहरू रिसाइकल हुनसक्छ ?
सबै प्रकारका प्लाष्टिकहरू रिसाइकल हुन्छ, बोटल, प्लाष्टिक ब्यागदेखि बिस्कुट, चाउचाउलगायत प्याकेजिङमा प्रयोग हुने र्यापरसमेतमा हामी काम गर्छौं । प्लाष्टिकहरू रिसाइकल हुने र नहुने दुर्ई प्रकारका हुन्छन् । तर, र्यापरलगायतका प्लाष्टिकजन्य फोहोर अन्य प्लाष्टिकजन्य फोहोरजस्तो रिसाइकल गर्न सजिलो हुँदैन । तथापि हामीले रिसाइकल गरेर फाइनल प्रोडक्ट बनाउने नभई कच्चा पदार्थका रूपमा प्लाष्टिक उद्योगहरूलाई दिने हो । र्यापर पनि औद्योगिक कच्चा पदार्थका रूपमा पुनःप्रयोगमा आउँछ ।
अभानीको दैनिक प्रोसेसिङ क्षमता कति हो ?
देशैभरि हाम्रा प्रोसेसिङ केन्द्रहरू छन् । दैनिक रूपमा भन्दा पनि वार्षिक रूपमा हामी प्लाष्टिकजन्य चार-पाँच हजार टनजति प्लाष्टिकजन्य फोहोर प्रोसेसिङ गर्छौं ।
नेपालमा प्लाष्टिकजन्य फोहोर कति उत्पादन हुने गरेको छ ?
अभानी भेन्चर्सले नेपाल सरकारसँगको सहकार्यमा एक वर्ष लगाएर प्लाष्टिकजन्य फोहोरको अध्ययन गरेको थियो । वन तथा वातावरण मन्त्रालयसँगको सहकार्यमा भएको स्टडीले नेपालभर तीन लाख ५४ हजार टन प्लाष्टिकजन्य फोहोर उत्पादन हुने देखाएको छ । त्यो स्टडी नीतिगत स्टडी थियो, जसलाई सरकारले हरेक दुर्ई वर्ष, चार वर्ष, पाँच वर्षमा अपडेट गरिराख्नुपर्छ । महानगरपालिका, उपमहानगरपालिकामा एक लाख ११ हजार नौ सय ५९ टन, नगरपालिकाहरूमा एक लाख ८० हजार आठ सय तीन टन र गाउँपालिकाहरूमा ६१ हजार पाँच सय ६२ टन प्लाष्टिक फोहोर उत्पादन हुने रहेछ । जुन अध्ययन हामीले नेपालका ५७ वटा पालिकाहरूमा गरेका थियौं । अध्ययनको बेसलाइन भनेको प्लाष्टिकका मेजर हटस्पटहरू कहाँ–कहाँ छन्, बढीमात्रामा कस्ता खालका प्लाष्टिकजन्य फोहोर निस्किन्छन् र प्लाष्टिकजन्य फोहोरको दिगो व्यवस्थापनका लागि कस्तो नीतिगत व्यवस्था हुनुपर्छ भन्ने पनि थियो ।
अध्ययनबाट कस्ता-कस्ता प्लाष्टिकजन्य फोहोर रिसाइकल हुने गरेको पाइयो ?
महानगरपालिका, उपमहानगरपालिकामा १८ प्रतिशत, नगरपालिका १०.८३ र गाउँपालिकामा भने दुई प्रतिशतभन्दा कम प्लाष्टिकजन्य फोहोर रिसाइकल हुने गरेको पाइयो । महानगरपालिका र उपमहानगरपालिकाहरूको तुलनामा गाउँपालिका र नगरपालिकाहरूमा चाहिँ रिसाइकल एकदमै कम पाइयो ।
प्लाष्टिकजन्य फोहोरको दिगो व्यवस्थापनका लागि कस्तो नीतिगत व्यवस्था हुनुपर्छ ?
पहिलो कुरा त सरकारले सात सय ५३ वटै पालिकाहरूमा फोहोर व्यवस्थापनका लागि ठाउँहरू बनाइदिनुपर्यो । किनभने संविधानले स्थानीय तहलाई अधिकार त दिएको छ तर स्थानीय तहसँग त्यसका लागि पर्याप्त स्रोत साधन छैन, प्रविधि छैन । पालिकाहरू आफैं फोहोर गर्ने तर फोहोर व्यवस्थापनका लागि ठाउँ भने नदिने अवस्था छ । फोहोरलाई डम्पिङ साइटमा फालेर समस्या समाधान हुँदैन ।
फोहोर व्यवस्थापनमा देखिएका मुख्य समस्या र चुनौती के हुन् ?
फोहोर व्यवस्थापनका लागि जग्गा अभाव एउटा समस्या भयो भने अर्को मुख्य समस्या भनेको कवाडी कर हो । कवाडी कर तत्काल बन्द हुनुपर्छ । फोहोरमा पनि कर लगाउने ∕ काठमाडौंको फोहोरलाई धुनीबेसीले पनि कर लगाएको छ । त्यसो त नेपाल सरकारले त्यसरी कर नअसुल्न निर्देशन जारी गरेको छ तर कार्यान्वयन भइरहेको अवस्था छैन । सिसाजन्य फोहोर हुन्छ, सिसाजन्य बोटल बिक्री गर्दा दुई-तीन रुपैयाँ पनि आउँदैन तर त्यसमा पनि कर लगाएको हुन्छ । कवाडी कर लगाउने होइन, फोहोर व्यवस्थापन गर्ने रिसाइक्लिङ कम्पनीलाई अनुदान दिने व्यवस्था हुनुपर्छ, रिसाइक्लिङलाई प्रोत्साहित गर्नुपर्छ । रिसाइक्लिङ कम्पनीहरूले औद्योगिक कच्चा पदार्थ आयात पनि घटाउन सक्छन् ।
रिसाइक्लिङ कम्पनीहरू नेपालमा कति छन् ?
सानो सानो स्केलमा गर्नेहरू त देशैभरि छन् तर ठूलो स्केलमा गर्ने धेरै छैनन् । त्यसैले रिसाक्लिङ कम्पनीको धेरै डिमाण्ड छ । नीति राम्रो भयो भने यो क्षेत्रमा लगानी विस्तार हुनसक्ने अवस्था छ । फोहोरलाई मोहोर बनाउने कुरामात्रै होइन, रिसाइक्लिङ कम्पनीहरूले वातावरण संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेलिरहेका छन् । किनभने एयर पोलुसनको सबैभन्दा ठूलो समस्या भनेकै फोहोर हो । किनभने ८४ प्रतिशत प्लाष्टिकजन्य फोहोर जलाउने गरेको पाइएको छ । जसले एयर पोलुसनका साथै जनस्वास्थ्यमा पनि प्रतिकूल असर पारेको छ । फोहोर खोलामा बगाउने प्रवृत्तिले नदीनाला प्रदूषित बनेका छन् । जनावरको शुक्रकीटमा समेत प्लाष्टिक देखिएको बताइएको छ । फोहोर समस्या होइन, फोहोर हरित अर्थतन्त्रको आधारस्तम्भ हो । फोहोर व्यवस्थापनबाट आयात प्रतिस्थापन, रोजगारी सिर्जना, राजस्वका साथै वातावरण संरक्षणलगायत बहुआयामिक फाइदा लिन सकिन्छ । कच्चा पदार्थका रूपमा निर्यातसमेत गर्न सकिन्छ । त्यसो त उत्पादित सबै तीन लाख ५४ हजार टनमध्ये एक लाख ९० हजार टन फोहोरचाहिँ व्यवस्थापन हुँदैन भने ३६ प्रतिशत प्लाष्टिकजन्य फोहोर कलेक्सन नै हुँदैन ।
प्लाष्टिकको विकल्प छैन ?
विकल्प छ, विकल्प खोजिनुपर्छ । किनभने प्लाष्टिक हाम्रो आफ्नो उत्पादन पनि होइन, आयातित कच्चा पदार्थबाट उत्पादन हुने हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको छ । पेट्रोलियम पदार्थसँगै प्लाष्टिकको कच्चा पदार्थको पनि मूल्य बढ्ने निश्चित छ । प्लाष्टिकको शतप्रतिशत विकल्प नहोला, सम्भव हुने जति त गर्ने प्रयास गर्नुपर्यो नि ?





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि