फागुन २१ को निर्वाचनपछि झण्डै दुईतिहाइ सांसद् संख्याका साथ सत्तारुढ दल बनेको छ भने सांसद् संख्याको सात भागको एक भाग लिएर नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल बन्दैछ । संख्याका हिसाबले प्रमुख प्रतिपक्षी दलकै कुनै उल्लेख्य हैसियत नै देखिन्न भने अन्य प्रतिपक्षी दलको त कुरै गर्न पर्दैन । सबै प्रतिपक्षीहरू एकै ठाउँमा उभिँदा पनि एकतिहाइमात्रै हुने भएकाले सत्तारुढ दलले जथाभावी गर्न खोजेमा नियन्त्रण गर्नसक्ने कुनै उपाय देखिन्न । यद्यपि नेपालको संविधान लोकतान्त्रिक भएकाले लोकतान्त्रिक व्यवस्थामा संख्याभन्दा पनि विचार, नीति र नैतिकताको प्राधान्य हुने भएकाले अबको प्रतिपक्षी भनेको नैतिक बलसहितको प्रतिपक्षी हुनुपर्दछ ।
यो मुलुकका हर्ताकर्ता हामी नै हौं भन्दै आएका नेकपा एमाले र पहिलेका माओवादी अहिलेका नेपाली कम्युनिष्ट पार्टीको त कुरै गर्न परेन । नेपाली कांग्रेसभन्दा पनि खुम्चिए । प्रचण्ड नेतृत्वको नेकपामा यो परिणामलाई लिएर तँ दोषी कि म दोषी भनेर आरोप प्रत्यारोप चलेको सुनिएको छैन तर नेकपा एमाले र नेपाली कांग्रेसमा भने गाइँगुइँ चलेको छ ।
नैतिक बल त्यतिबेलामात्र प्राप्त हुनसक्दछ जतिबेला सबै कार्यकर्ताहरूको साथ नेतालाई मिल्दछ । नेता सबै दृष्टिले चरित्रवान्, इमानदार र जनताप्रति जवाफदेही हुने हो भने संख्या गौण हुनपुग्दछ । भारतमा अन्ना हजारेको आन्दोलन देखेकाहरूले उनको कुरा गरे पनि केही समय अघिसम्म नेपालमै डा.गोविन्द केसी एक्लैले सत्तालाई घुँडा टेकाएको सबैले देखेकै हो । त्यसैले संख्या सानो भयो भनेर एकआपसमै लड्दै अझ कमजोर हुनुभन्दा प्रतिपक्षीहरूले जनताप्रतिको इमानदारितालाई व्यवहारमा उतारे भने सत्तारुढ दल संख्याका हिसाबले जति नै शक्तिशाली भए पनि संविधानभन्दा बाहिर गएर सरकारले काम गर्न सक्दैन ।
हुन त राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको भाषण सुन्दा र वाचापत्र पढ्दा रास्वपा देश र जनताप्रति पूर्ण बफादार नै रहनेछ । चुनाव भर्खरै सकिएको छ र उसको सरकार गठन पनि भएको छैन भने यसैबेला उसमाथि अनेक शंका उपशंका गरेर विविध लख काट्नु मूर्खतामात्रै हुन्छ । भर्खरै जेञ्जी आन्दोलन सबैले देखेका छन् र त्यसैको बलमा उदाएको पार्टीको सरकार अनुत्तरदायी होला भन्न पनि हुँदैन । तथापि मानवीय स्वभाव नै हो, शक्ति आर्जन गरेपछि केही अहंकार बढ्ने गर्दछ । रास्वपाका नेताहरूमा यस्तो प्रवृत्ति नउदाउला भन्न पनि सकिन्न र त्यतिबेला चाहिने भनेको सशक्त प्रतिपक्ष नै हो तर प्रतिपक्षी दलका नेताहरूको क्रियाकलाप हेर्दा दिक्क लाग्दो हुँदै गएको छ ।
विसं २०७९ मा स्थापित राष्ट्रिय स्वतन्त्र पार्टी निकै ठूलो दल बन्यो भने यसअघिसम्म सबैभन्दा ठूलो राष्ट्रिय पार्टी नेपाली कांग्रेस साह्रै सानो हुनपुग्यो । यो मुलुकका हर्ताकर्ता हामी नै हौं भन्दै आएका नेकपा एमाले र पहिलेका माओवादी अहिलेका नेपाली कम्युनिष्ट पार्टीको त कुरै गर्न परेन । नेपाली कांग्रेसभन्दा पनि खुम्चिए । प्रचण्ड नेतृत्वको नेकपामा यो परिणामलाई लिएर तँ दोषी कि म दोषी भनेर आरोप प्रत्यारोप चलेको सुनिएको छैन तर नेकपा एमाले र नेपाली कांग्रेसमा भने गाइँगुइँ चलेको छ । कांग्रेसको सन्दर्भमा भन्नुपर्दा त वर्तमान नेतृत्वका विरुद्धमा विषवमनको बाढी नै आउन थालेको छ । सशक्त हुनुपर्ने प्रमुख प्रतिपक्षी दलभित्र आन्तरिक किचलो झिकेर झनै कमजोर बनाउने प्रयत्न भइरहेको छ र यस्तो क्रियाकलापमा अरू कोही नभई कांग्रेसकै नेताहरू लागेका छन् । यो भनेको मुलुककै लागि दुर्भाग्य हो ।
कम्युनिष्ट पार्टीहरूमा यस्ता विवादहरू चले भने उनीहरूको सँगै बसेर काम गर्ने चलन छैन । सानो होस् या ठूलो पार्टी फुटाउने, आफैं नेता बन्ने, भोलि पार्टी चलाउन सकिएन भने पुनर्मिलन गर्ने र अर्को पार्टी गठन गर्न नसके एक्लै भए पनि पार्टी छाड्ने परम्परा देख्दै आइएको छ । नेपाली कांग्रेसको भने बेग्लै चरित्र देखिन्छ । पार्टी सदस्यले पार्टीको मूल नेतृत्वको खोइरो खनिरहेको हुन्छ, पार्टीकै विपक्षमा जति बोले पनि ऊ माथि कारबाही हुँदैन, जति असन्तुष्ट भए पनि पार्टी छाडेर जाँदैन र पार्टीलाई कमजोर तुल्याउने काम भने भइरहेकै हुन्छ । पार्टी फुटेको भनेको शेरबहादुर देउवाले एकपटक बिग्रह ल्याएको अवस्थालाई मानिन्छ भने अरू बेला चोइटिएका स-साना टुक्राहरूलाई फुटको संज्ञा दिने गरिएको छैन ।
अहिले नेपाली कांग्रेसमा ठ्याक्कै त्यस्तै दृश्यहरू देखा पर्न थालेका छन् । पार्टी सभापति गगन थापा चुनावी परिणामको जिम्मा आफ्नै काँधमा लिएर राजीनामा दिने मनस्थिति बनाइरहेका छन् भने उनलाई पहिलेदेखि नै नरुचाएकाले नैतिकताका आधारमा भन्दै गगनको राजीनामा माग्न थालेका छन् । मात्र यति हो कि गगनमाथि विश्वास गर्नेहरूको संख्या ठूलो भएकाले र परिणामको उचित विश्लेषण गरेर पार्टीका पक्षमा बोल्नेहरूका कारण गगनको राजीनामा अड्किएको अवस्थामा छ । सतही विश्लेषणका आधारमा लहैलहैमा दोषको भारी बोकाउनेहरू पर्याप्त भएका भए कांग्रेस अहिले अर्कै मोडमा पुगिसकेको हुन्थ्यो ।
पार्टी कमजोर भएका बेलामा पार्टीका सदस्यहरू झन् एकजुट हुनुपर्ने हो । सत्तारुढ दल अति शक्तिशाली भएका अवस्थामा प्रतिपक्षमा रहेको दल आफैंमा एकत्रित हुनु त एउटा पाटो हो अझ अन्य दलहरूलाई समेत सहमतिमा ल्याई सत्तारुढ दललाई स्वच्छन्द हुनबाट रोक्न तम्तयार हुन सक्नुपर्दछ । सत्तारुढ दलले मनोमानी गर्न खोज्दा उसलाई सही मार्गमा अग्रसर गराउने शक्ति प्रतिपक्षले सञ्चय गर्नुपर्नेमा उल्टै दशैँ नै यही हो भने झैँ गगनलाई सभापतिबाट हटाउने प्रयासहरू हुनुले कांग्रेसका लागि राम्रो संकेत गरेको छैन । खरानीको भागबण्डामा जोगीहरूले झगडा गरे झैँ आफूलाई परिपक्व नेता भन्नेहरू मैदानमा उत्रिनुले उनीहरूलाई नै शोभा नदिएको बुझ्न सकेका छैनन् जस्तो लाग्छ ।
नेपाली कांग्रेसमा अहिले दुईजना सभापति छन् भन्ने हिम्मत राख्ने नेताहरू देखा परिसकेका छन् । देउवाकै नेतृत्वमा चुनावमा गएको भए अहिलेको त कुरै छाडौं पहिलेको भन्दा पनि बढी राम्रो हैसियतमा कांग्रेस हुने थियो भन्नसक्नेहरू पनि देखिएका छन् । यस्ता कुराहरू सुन्नेहरूले यसलाई कति हास्यास्पद ठानेका छन् र उनीहरूलाई कुन कोटिको नेता मानेका छन्, त्यो उनीहरूले नै बुझ्न सक्नुपर्दछ । कत्ति पनि कुरा नबुझ्नेहरूले गगनले राजीनामा दिए भने पार्टीको अवस्था अझै कस्तो होला भन्नेतर्फ सोचेजस्तो पनि लाग्दैन । गगन रहेमात्रै नेपाली कांग्रेस रहन्छ भन्ने त किमार्थ होइन, गगन बिना पनि कांग्रेस अघि बढ्नसक्छ तर यस्ता बेमौसमी झैझगडा र बखेडाले भने भोलिको प्रमुख प्रतिपक्ष किमार्थ सबल हुन सक्दैन ।
देउवा नेतृत्वमा रहँदा पनि एकपटक यस्तै हार कांग्रेसले बेहोरेको थियो । त्यतिबेला अहिलेको जस्तो प्रतिकूल वातावरण कांग्रेसलाई थिएन र पनि कांग्रेस साह्रै खुम्चिएको थियो । त्यतिबेला पनि नैतिकताको मूल्य खोजिएको थियो तर केन्द्रीय समितिमा रहेको बहुमतका बलमा नैतिकता भन्ने प्रश्नलाई हावामा उडाइएको थियो । अहिले त गगन आफैंले नैतिकताका प्रश्न उठाइरहेका छन् भने योभन्दा बढी नैतिकता खोज्नेतिरभन्दा पार्टीलाई सशक्त बनाउने उपायतिर लाग्नुपर्ने हो । नेपाली कांग्रेसमा अहिले झिकिएको यस्तो विवादले पार्टीको दुर्नियतिमा नै रमाउनेहरूको पंक्ति पार्टीभित्र दह्रै छ जस्तै देखिन्छ ।
गगन र विश्वले पार्टीमा उभार ल्याए, कार्यकर्तामा उत्साहरू जगाए र चुनावमा यत्तिको भए पनि सफलता हासिल गरे भन्नेहरू एकातिर छन् । गगन-विश्व भनेको गुरुराज घिमिरे, प्रदीप पौडेल, देवराज चालिसे, टेकराज पौडेललगायत सबै यही नामभित्रै अटाएका छन् । देउवाको बहिर्गमन र आरजु भाउजूको नेतृत्व नपाउँदा पार्टी खुम्चियो भन्नेहरू अर्कातिर छन् । देउवा र आरजुभित्र पूर्णबहादुर खड्का वा रमेश लेखक वा प्रकाशशरण महत आदिहरू स्वतः पर्ने नै भए । देउवा, आरजु लगायतकाको नेतृत्वमा पार्टी चुनावमा गएको भए कांग्रेसको अवस्था हाइहाइमा हुने थियो भन्नेहरूलाई सामान्य मानिसले कसरी मूल्यांकन गरेका छन्, त्यो पत्ता लगाउने जिम्मेवारी उनीहरूकै हो ।
सरकारले सुशासनका पक्षमा काम गर्छ, भ्रष्टाचारका विरुद्धमा क्रियाशील रहन्छ, विकास निर्माणमा केन्द्रित हुन्छ, जनताले पाउनुपर्ने सेवाहरूलाई सहज बनाउने प्रयत्न गर्दछ, तबसम्म प्रतिपक्षी दलले सहयोग गर्नैपर्दछ । विगत केही वर्षदेखि संविधानमा रहेका केही धाराहरू अप्ठेरा रहेका सन्दर्भमा उठेका विषयलाई संविधान संशोधनको प्रस्ताव ल्याउँदा पनि सबैले साथ दिनै पर्दछ ।
गगन र विश्वले नेतृत्व सम्हालेकै कारण माटोमुनि पुग्ने पार्टी यत्तिको भयो भन्नेहरू कांग्रेसीमात्रै होइन अरू पनि भेटिन्छन् । माटोमुनि भनेको धर्तीमुनि नै भनेको हो कि हर्क साम्पाङको पार्टीभन्दा तलको हैसियतमा भनेका हुन् उनीहरू नै जानुन् तर कांग्रेसलाई यो अवस्थामा राख्न गगन र विश्वहरूले नै सके भन्न चाहिँ कोही हिच्किचाएको देखिन्न । यस्तो अवस्थामा पनि अनावश्यक विवाद खडा गरी झगडालाई उत्कर्षतिर डोर्याउने हो भने भोलिका दिनमा न कांग्रेसी नेता रहन्छन् न कांग्रेस पार्टी नै भन्ने हेक्का राख्न जरुरी छ । यस्तो अवस्था दुर्भाग्यवश आयो भने नेपालमा लोकतन्त्रका लागि निरन्तर खबरदारी गरिरहने शक्ति देख्न पाइँदैन ।
अहिले कांग्रेस र एमालेका कतिपय नेताहरू करिब चालीस वर्षअघिको भारती कांग्रेस र भारतीय जनता पार्टीको उदाहरण दिएर चित्त बुझाउने प्रयास गर्दैछन् । त्यतिबेला राजीव गान्धीको कांग्रेसले करिब दुईतिहाइ सिट जितेको थियो भने भाजपाको दुई सिटमात्रै थियो तर अहिले त्यो अवस्था ठ्याक्कै उल्टिएको छ । यसबाट हिम्मत सँगालेर काममा जुट्नु त राम्रै हो तर त्यो उदाहरण दिएर पार्टीभित्रै एकले अर्कोको विशेषगरी पार्टी नेतृत्वको खुट्टा तान्न खोज्नुले भाजपाको कर्मतिर प्रवृत्त हुन खोजेका कसैगरी इंगित गर्दैन । भाजपाका सारा योजना बुन्ने, रणनीति बनाउने र पार्टीलाई सशक्त बनाउने माष्टर माइण्ड भनिने नेता मन्त्री पदमै चित्त बुझाएर बसेको कुरा पनि हेर्नुपर्दछ ।
समयलाई स्वीकार गर्न सक्नैपर्दछ । अहिलेको आवश्यकता भनेको रास्वपालाई देश र जनताका पक्षमा केन्द्रित हुन सघाउनु प्रतिपक्षी दलको धर्म हो । जबसम्म सरकारले सुशासनका पक्षमा काम गर्छ, भ्रष्टाचारका विरुद्धमा क्रियाशील रहन्छ, विकास निर्माणमा केन्द्रित हुन्छ, जनताले पाउनुपर्ने सेवाहरूलाई सहज बनाउने प्रयत्न गर्दछ, तबसम्म प्रतिपक्षी दलले सहयोग गर्नैपर्दछ । विगत केही वर्षदेखि संविधानमा रहेका केही धाराहरू अप्ठेरा रहेका सन्दर्भमा उठेका विषयलाई संविधान संशोधनको प्रस्ताव ल्याउँदा पनि सबैले साथ दिनै पर्दछ । सरकार गलत बाटोमा नहिँड्दासम्म विरोधका नाममा विरोध गर्ने विगतकै जस्तो प्रवृत्ति देखियो भने प्रतिपक्षमा रहेका दलहरूले अर्को चुनावमा त्यो मौका पनि गुमाउन सक्दछन् ।
यदि सरकार स्पष्ट बहुमतका नाममा स्वच्छन्द हुँदै गयो भने, संविधान, ऐन, कानुन र नियम विनियमलाई लत्याउँदै अघि बढ्यो भने, लोकतन्त्रका आधारभूत मान्यतामाथि खेलबाड गर्न थाल्यो भने, नागरिक सर्वोच्चता माथि हेलचक्र्याइँ गरियो भने सदन र सडक तताउनु प्रतिपक्षीहरूको धर्म नै हो । सरकारलाई कमजोर बनाउने नाममा विसं २०४८ ताका मदन भण्डारी नेतृत्वको नेकपा एमालेले कर्मचारी आन्दोलन गराए जस्तै आन्दोलन गर्ने र निजमती कर्मचारीहरूको समेत दलीय संगठन खोल्ने जस्तै अहिलेका प्रतिपक्षीहरूले कदम चाले भने अबका जनताले सहँदैनन् भन्नेमा प्रष्ट हुनुपर्दछ ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर