काठमाडौं । नेपालमा मौसमी प्रणाली सक्रिय भएको छ । प्री-मनसुन सक्रिय भएसँगै देशभर मौसममा तीव्र उतारचढाव देखिन थालेको हो । पश्चिमी न्यूनचापीय प्रणालीसँगै स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा एक्कासि मौसम बदली हुनेक्रम बढेको मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद्हरूका अनुसार प्री-मनसुनमा बिहान घाम लागे पनि अपराह्नपछि बदली, हावाहुरी र वर्षा हुनु सामान्य प्रक्रिया हो । विभागका अनुसार देशका धेरै स्थानमा शनिबारसम्म वर्षाको पूर्वानुमान छ । मेघगर्जन/चट्याङ, हावाहुरी, असिनासहित वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । शनिबार कोसी र बागमती प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ, असिनासहित मध्यम वर्षा/हिमपात सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लुम्बिनी प्रदेशबाट पश्चिमी वायुको ठूलो प्रणाली सक्रिय भएको विभागले जनाएको छ । उक्त मौसमी प्रणाली लुम्बिनी हुँदै कोसी प्रदेशका विभिन्न जिल्लामा फैलिने छ । हावाहुरी, चट्याङ र वर्षा हुने क्रम बढ्दै गएको मौसमविद्हरूले बताएका छन् । शुक्रबार देशका विभिन्न ठाउँमा हावाहुरीसहित ठूलो पानी परेको थियो । काठमाडौं उपत्यकासहित पश्चिममा बुटवल र दाङलगायत क्षेत्रमा शुक्रबार दिउँसो ठूलो पानी परेको हो । लुम्बिनी प्रदेशको रूपन्देही, दाङ, बाँके, कपिलवस्तुलगायत जिल्लामा हावाहुरीसहित पानी परेको हो ।
रूपन्देहीको बुटवललगायत क्षेत्रमा शुक्रबार दिउँसै अँध्यारोजस्तो भएको थियो । बादलसँगै हावाहुरी र वर्षाका कारण बुटवल लगायतका क्षेत्रमा दिउँसै अँध्यारो भएको हो । अँध्यारोका कारण बुटवल बजार क्षेत्रमा गुडेका गाडीहरूले दिउँसै बत्ती बाल्नुपरेको थियो भने तीव्र हावाहुरीका कारण सडकमै गाडी रोक्नुपर्ने अवस्था आएको थियो । काठमाडौंमा पनि केहीबेर त्यस्तै अवस्था आएको थियो ।
हावाहुरीले लमहीको विद्युत् सब-स्टेसनमा आगलागी
हावाहुरीका कारण विद्युत् सर्ट हुँदा दाङको लमहीस्थित नेपाल विद्युत् प्राधिकरणको सब-स्टेसनमा आगलागी भएको छ । लमहीस्थित १३२ केभी क्षमताको सबस्टेशन दिउँसो करिब साढे १ बजे आगलागी भएको प्रहरीले जनाएको छ । सब- स्टेसनको कन्ट्रोल हाउसमा आगलागी भए पनि धेरै ठूलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ । समयमै दमकल पुगेकाले सहजै आगो निभाइएको र धेरै क्षति हुन नपाएको हो । कन्ट्रोल हाउसमा विद्युत् सर्टका कारण आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीपछि सब-स्टेसनबाट हुने विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।
उच्च लेकाली भेगमा हिमपात
लगातारको मौसम बदलीसँगै उच्च हिमाली भेगमा हिमपात भएको छ । मौसममा आएको परिवर्तनपछि शुक्रबार बाजुरालगायत सुदूरपश्चिम र कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात भएको हो । मौसम विभागका अनुसार सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा भारी वर्षा र हिमपातको सम्भावना छ । वर्षासँगै हिमपात भएपछि आवतजावतमा समस्या भएको छ । गहुँको बाली पसाउने र स्याउलगायत फलफूल पलाउने बेलामा वर्षा हुनु कृषकका लागि उयपुक्त भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । हिमपातसँगै हिमाली जिल्लामा चिसो पनि बढेको छ ।
सतर्कता अपनाउन आग्रह
तराईमा यसको प्रभाव बढी परे पनि आत्तिनुपर्ने अवस्था नभएको महाशाखाले जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सतर्कता अपनाउन आग्रह गरेको छ । अनावश्यक यात्रा नगर्न, सुरक्षित स्थानमा बस्न र सवारीसाधन सञ्चालन नगर्न विशेष सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो । साथै, कमजोर संरचना र बिजुलीका तारमा जोखिम हुनसक्ने भएकाले विद्युत् उपकरण नचलाउनसमेत प्राधिकरणले अनुरोध गरेको छ । सुरक्षित ओत नभेटे टाउको दुवै घुँडाको बीचमा राखेर दुवै हातले खुट्टा समाउने र खुट्टाको पञ्जाले भुइँमा टेकेर दुवै कुर्कुच्चा जोडेर टुक्रुक्क बसी निहुरेर शरीरलाई जतिसक्दो सानो बनाई कान थुनेर बस्न प्राधिकरणले सुझाव दिएको छ । समूहमा भए सबैजना छुट्टिएर टाढाटाढा बस्ने, यसो गर्दा धेरैजना हताहत हुनबाट जोगिन सकिन्छ । खुला क्षेत्र वा जंगलमा भए सम्भव भएसम्म होचो स्थान वा खोँचमा गएर बस्नुपर्छ ।
रूख वा बिजुली र फोनका खम्बामुनि वा टावर नजिक नबस्ने, छाता नओढ्ने, खेतबारीमा काम गरिरहेको भए बन्द गर्ने, खोला, पोखरी वा स्विमिङ पुलमा भए तुरुन्त बाहिर निस्किन प्राधिकरणले सुझाव दिएको छ । माछा मार्ने कार्य तथा र्याफ्टिङ नगर्ने, बिजुली र फोनको अग्लो खम्बा, अग्लो भवन, ठूलो रूखनजिक नबस्न, साइकल वा मोटरसाइकलमा भए तुरुन्त छेउ लगाई उत्रने तथा धातुको कुनै पनि वस्तु, सवारीसाधन वा उपकरण नछुन प्राधिकरणले आग्रह गरेको छ ।
आइतबारदेखि मौसम खुल्ने
शनिबार दिउँसो पनि देशभर बदली कायम रहनेछ । कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । बुलेटिनअनुसार राति भने मौसम केही सुधार हुँदै हल्का वर्षा मात्र सीमित स्थानमा हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार आइतबारदेखि मौसम क्रमशः खुल्ने संकेत देखिएको छ । पहाडी र हिमाली भू–भागमा सामान्य बदली र तराईमा आंशिक बदली रहनेछ । केही स्थानमा मात्र हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम