काठमाडौं । इरानको होर्मुज क्षेत्रमा एकजना नेपाली नागरिक पक्राउ परेका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काका अनुसार पक्राउ पर्ने नेपाली अमृत झा रहनुभएको छ । ‘हर्मुजबाट एक नेपालीको पक्राउ गरेर इरानले नियन्त्रणमा लिएको छ’, खड्काले पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँ होर्मुज क्षेत्रमा एक पानीजहाजमा कार्यरत रहेका बेला इरानले जहाजका सम्पूर्ण ‘क्रु’ सदस्यलाई नियन्त्रणमा लिँदा उहाँ पनि पक्राउ पर्नुभएको हो । उक्त घटनाबारे झाका आफन्तहरूले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएपछि मन्त्रालयले औपचारिक रूपमा पुष्टि गरेको जनाएको छ । परराष्ट्र मन्त्रालयले घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक कूटनीतिक पहल अघि बढाइने जनाएको छ । हर्मुज क्षेत्र इरानको नियन्त्रणमा छ ।
मध्यपूर्वमा हालसम्म ८२ हजार बढीको विवरण दर्ता
परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमा हालसम्म मध्यपूर्वबाट ८२ हजार एक सयजना नेपाली नागरिकले आफ्नो विवरण दर्ता गराएको जनाएको छ । शुक्रबार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सो जानकारी दिनुभएको हो । उहाँका अनुसार अनलाइन दर्ता प्रणालीमा दर्ता भएकामध्ये करिब ६ हजार जनाले सुरुमा आफूहरू असुरक्षित रहेको जानकारी गराएका थिए । तर, पछिल्ला दिनहरूमा असुरक्षित महशुस गर्नेहरूको संख्या उल्लेख्य रूपमा घटेको उहाँको दाबी छ । इजरायल, अमेरिका र इरानबीच बढ्दो तनावका बीच मध्यपूर्वका विभिन्न देशहरूबाट मन्त्रालयको आपतकालीन कक्षमा हालसम्म ७८ वटा कलसहित कुल १७० पटक सम्पर्क भएको क्षेत्रीले उल्लेख गर्नुभयो । उहाँले अवस्था सामान्य बन्दै गएको कारण श्रम स्वीकृतिको विषयमा जानकारी लिन धेरैजसो सम्पर्क हुने गरेको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले आफ्ना १० वटै नियोगहरूमार्फत समस्यामा परेका नेपालीहरूको अवस्थाबारे निरन्तर जानकारी लिने र आवश्यक समन्वय गर्ने कार्य भइरहेको समेत जानकारी दिनुभयो ।
ब्रिफिङका क्रममा प्रवक्ता क्षेत्रीले हाल कुनै पनि नेपाली नागरिक विदेशका ट्रान्जिटमा नरहेको जानकारी दिनुभयो । जेद्दामा रहेका ५२ जना हजयात्रीहरू समेत स्वदेश फर्किसकेको उहाँको भनाइ छ । उहाँले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षामा सरकार गम्भीर रहेको भन्दै आवश्यक परेको खण्डमा उद्धारको लागिसमेत तयार रहेको जानकारी दिनुभयो ।
आइआरजिसी प्रवक्ता नाइनी मारिए
इरानको राष्ट्रिय सेना इस्लामिक रिभोल्युसनरी गार्डका प्रवक्ता तथा जनसम्पर्क अधिकारी जनरल अलि मोहम्मद नाइनी मारिनुभएको छ । अमेरिका र इजरायलको संयुक्त मिसाइल हमलामा उहाँको मृत्यु भएको सेनाले पुष्टि गरेको छ । आइआरजिसीले जारी गरेको विज्ञप्तिमा नाइनीको मृत्युको पुष्टि गर्दै उहाँ लामो समयदेखि संगठनमा समर्पित रूपमा कार्यरत रहेको उल्लेख गरिएको छ । करिब चार दशकसम्म आइआरजिसीमा सेवा दिनुभएका नाइनीले पछिल्ला दुई वर्षदेखि संगठनको प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उहाँ संगठनभित्र प्रभावशाली र अनुभवी व्यक्तित्वका रूपमा चिनिनुहुन्थ्यो ।
यस घटनाबारे इजरायल डिफेन्स फोर्सेस (आइडिएफ) ले पनि सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया दिएको छ । आइडिएफले नाइनीको मृत्युबारे पोष्ट गर्दै तेहरानमा भइरहेको सैन्य गतिविधिबारे संकेत गरेको छ । पछिल्ला दिनहरूमा इजरायली सेनाले तेहरानसहित विभिन्न स्थानमा लगातार हवाई आक्रमण गरिरहेको छ ।
इजरायलले आफ्नो आक्रमणहरू इरानी शासनका सामरिक पूर्वाधारलाई लक्षित गरिएको दाबी गरे पनि ठोस लक्ष्यहरू सार्वजनिक गरेको छैन । यसले क्षेत्रीय तनाव थप चर्किने संकेत दिएको विश्लेषकहरूले बताएका छन् । यता, इरानले भने निरन्तर बमबारीका बाबजुद आफ्नो क्षेप्यास्त्र उत्पादन प्रक्रिया अवरुद्ध नभएको दाबी गरेको छ । इरानी अधिकारीहरूका अनुसार देशको क्षेप्यास्त्र भण्डारण तथा उत्पादन क्षमतामा कुनै उल्लेखनीय क्षति पुगेको छैन । तर, अमेरिका र इजरायलले भने आफ्ना संयुक्त तथा समन्वित आक्रमणहरूले इरानको क्षेप्यास्त्र उत्पादन क्षमतालाई कमजोर बनाएको दाबी गरेका छन् । दुवै देशका अधिकारीहरूले इरानको सैन्य संरचनामा गम्भीर असर परेको उल्लेख गर्दै आएका छन् ।
यो घटनाले मध्यपूर्व क्षेत्रमा थप अस्थिरता निम्त्याउने संकेत दिएको छ । अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन आग्रह गरिरहेका बेला इरान–इजरायल बीचको बढ्दो सैन्य तनावले विश्व सुरक्षा अवस्थालाई समेत प्रभावित पार्ने चिन्ता बढ्दै गएको छ ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र