विडम्बना भनौँ वा सत्य । सत्य भनौँ वा विडम्बना चोखो चिज संसारमा छायाँमा रहेको हुन्छ । माध्यममा वा मिडियामा रहेका हुल्लडबाजहरू सधैँ दासहरूका मालिक बन्छन् । चर्चामा उदाउँछन् । नभएकालाई भएको सगरमाथामा उचालेर शिखरमा स्वाङ्को झण्डा फहराउँछन् । भलै त्यो एकछिन्को निम्ति नाक ठड्याउने माध्यममात्र किन नहोस् उनीहरूका बुझाइमा त्यो संसारको सार हो, विजयको उपहार हो र उज्यालो अनुहार पनि हो । एउटा अर्को सत्य पनि यसमा लुकेको चाहिँ निश्चय नै छ । कसैले आफूलाई खोज्न आओस्’को लालसामा मनको दम्भ उचालिनु पनि असलको उदाहरण होइन, बरू ज्यादतीको जिउँदो रूप हुनसक्छ । सानो घेरालाई स्वर्ग ठान्ने मनोवृत्ति पनि सायद लेखकीय उदारताको उदाहरण होइन कि ? जमाना यस्तो छ जहाँ कुनै समालोचकको पाउ छोएर जल आचमन नगरी वा भेटी नचढाई सत्य उजागर हुँदैन ।
छन्द कविता लेखनको साधनामा खारिएर चार-चारवटा कविता सङ्ग्रह, दुई खण्डकाव्यपछि ‘अविश्रान्त’ जस्तो महाकाव्यमा पदार्पित त्रिलोचन आचार्य आफैँमा सङ्कल्पित साधकका रूपमा हाम्रासामु देखा पर्दछन् । फुट्कर कविताका सिँढी पार गर्दै विनाक्रमभङ्ग नै महाकाव्यसम्म आरोहित हुनु आफैँमा एक होनहार गौरवको कुरा हो ।
चाप्लुसले गरिमाका आसनमा हल्लाको माइक पाउँछ । सुसारेले उसलाई पङ्खा हम्कन्छन् र प्रशंसाको च्यादरमाथि ठेट्ना मकै सुकाएर झुटा सौन्दर्यबोधका गर्वमा उफ्रिन्छन् । आलोचनाको ‘अ’मा उनीहरूका पारा तात्छन् । मानौँ तिनै पुर्ख्यौली भाटहरू नै सबैका सम्पूजक हुन् । तिनलाई पुष्पाञ्जलि अर्पणमा सबै खडा हुनुपर्छ र भएकालाई तिरष्कारको तावामा तताउँदै सुदूरको फोहोरमा चिस्याउन फाल्नुपर्छ । सम्भवतः यसै झुण्डको सीमासाँधमा थुनिएर नाकका पोरा फुलाएरै हो कि एउटा सानो सुनको टुक्रो पनि पितलको तपेसमा फालिएको ?
यिनै सन्दर्भका आँतमा म त्यस्तो पात्रलाई सान्दर्भिक बनाएर चर्चाका चालमा झुल्क्याइरहेको छु शायद उनले आफूलाई छु भने पनि भएको भान नेपाली साहित्य भण्डारमा अझै छाप बन्न सकेको छैन । चर्चाका चौडा आँगनमा उभिनुको बदला एउटा सानो घेरो, समूह जो वास्तविकतालाई ललकारेर वा हुत्याएर नभएकोलाई वा अवास्तविकलाई आसमानमा उचाल्दै झुटको खेतीमा हर्षको छहरो झर्ने प्रयास गर्दछ । सत्य त्यही पर्दाको छायामा लड्खडाइरहेको, हराइरहेको हो कि को आभास हुन्छ मलाई महाकाव्यकार त्रिलोचन आचार्यलाई सम्झँदा ।
छन्द कविता लेखनको साधनामा खारिएर चार-चारवटा कविता सङ्ग्रह, दुई खण्डकाव्य पछि ‘अविश्रान्त’ जस्तो महाकाव्यमा पदार्पित त्रिलोचन आचार्य आफैँमा सङ्कल्पित साधकका रूपमा हाम्रा सामु देखापर्दछन् । फुट्कर कविताका सिँढी पार गर्दै विनाक्रमभङ्ग नै महाकाव्यसम्म आरोहित हुनु आफैँमा एक होनहार गौरवको कुरा हो । सङ्कल्पित साधकको उदाहरण हो । सम्मान/पुरस्कारको तपसिल सूची त उनको लामै छ तर यो सूची अहिलेको नेपाली साहित्यसँगको महत्व त के अर्थहीनताको द्योतक हुनपुग्छ । अर्थ हो स्रष्टत्वको अन्तर गहिराइ अनि लेखन गाम्भीर्य र बाहिरी परिचयात्मक चौडापन पनि अहिले नेपाली साहित्य सर्जकका निम्ति अनिवार्य आवश्यकता भइसकेको छ । यस क्षेत्रमा स्रष्टत्वको शालीन र गम्भीरपन भएर पनि पेसागत साँघुरो सीमा, क्षेत्रगत एकदमै सङ्कीर्ण समूहगत सीमा सायद त्रिलोचन आचार्यको क्षमतालाई छायाँमा पार्ने बाछिटा हुन सक्छन् ।
मुक्तक र निबन्धमा समेत कलमको धार तिखारिसकेका त्रिलोचन आचार्यको अक्षरको संसार आकर्षक ढङ्गले उचालिइसकेको छ । त्रिलोचनका लेखनमा जनरन्को छ । बोधगम्यको बान्की छ । परम्परागत नीतिनियमको धार छ । यसबाट उम्केर अलग अनुहारमा उभिऊँ’को अन्तरचस्का जो बाहिर झ्वाम्म देखिन आवश्यक हुन्छ ती पक्ष चाहिँ नहुनु त्रिलोचन भएर पनि नहुनुको एउटा कठोर सीमा हो तर उनलाई यो कुरा भन्ने हिम्मत शायद कसैले गर्न नसक्लान् । प्रगतिवाद अझ अर्को शब्दमा भन्दा साम्यवादी भूतको वैचारिक धारले अतिशय गालिनु पनि लेखकीय अधर्मको उदाहरण हुनसक्छ । व्यक्तिगत रूपमा उनी के हुन् ? म परिचित छैन तर लेखनले त्यो सङ्केत गर्दछ ।
परम्पराविरुद्धको विद्रोह चाहे त्यो लेखनमा होस्, चाहे लेखन सिद्धान्तमा । चाहे व्यावहारिक कार्य सम्पादनका सन्दर्भमा होस्, चाहे बोलीवचनमा आउने नयाँपनका सन्दर्भमा । स्रष्टा सर्वत्र नवीकृत हुनुपर्दछ । आफैँबाट अर्काको आदेशमा होइन । स्रष्टा भनेको नै रहस्यको अनुसन्धाता हो, अविदित यात्रामा कहिल्यै नथाक्ने यात्री । समाजमा स्थापित परम्परित अन्धबारहरू भत्काउन सक्नुपर्छ स्रष्टाले । सङ्कीर्ण राजनीतिका साँध र सीमाहरू चकनाचुर पार्ने हिम्मत हुनुपर्छ स्रष्टामा । देशका सीमामा पूर्णविराम नलगाएसम्म हामी त्यही अन्ध परम्पराको जङ्गली छायाँमा रुमल्लिरहन्छौँ ।
हामीलाई साहित्य भण्डारले हेर्ने आँखो उही पुरानो हुन्छ जसमा असङ्ख्य भिडभित्र हामी कतै छेउमा कपालभित्र लुकेको जुम्रोजस्तै अवस्थामा लुकेर रहेका हुन्छौँ जसलाई हेर्न खोजे पनि कसैले देख्न सक्दैन । त्रिलोचन चर्चाबाहिर रहनाका कारणमध्ये यो चाहिँ सबल कारण हो । उनी तिनै परम्पराका पिछलग्गुका रूपमा महाकाव्यभरि देखापरेका छन् । म पाउँछु यस्तो । महाकाव्यिक सैद्धान्तिक परम्पराका हिसाबले तिनै सर्ग विभाजनहरू, सर्गान्तमा छन्द परिवर्तन्, परिवर्तित छन्द प्रयोगमा आउने सर्गको कथावस्तुको सन्दर्भ सङ्केतजस्ता हुबहु मान्यताका साँचामा अक्षर ढाल्न रुचाउँछन् यिनी । यी नियमका धारबाट फरक हुन नखोज्दा पनि नवीनताका सङ्केतहरू सम्भावित नहुन सक्छन् । यो विद्रोही चेतको अभाव हो ।
देशप्रेमको गाढा छापमा अनुभूति सीमित बनाउनु अतिवाद र अन्धभक्तिकै परम्परागत परिचय हो । प्रस्तुति हो जसले हामीलाई महाकाव्यमा कुनै पनि कालजयी प्रस्तुति हुनबाट रोक्छ । यो अति राष्ट्रवादको तिखो छुरा हाम्रै लागि दुश्मन भएर घोच्न आइपुग्छ । यो साम्यवादी सतही लेखनको राजनीतिपरस्त नारा पनि हुनसक्छ । यसले कलात्मक उच्च सौन्दर्यको छेदन त गर्छ नै हामीलाई यस क्षेत्रको निर्विवाद अग्र शिखरारोहणको यात्रामा अवरोध पनि खडा गर्छ ।
देशप्रेमको गाढा छापमा अनुभूति सीमित बनाउनु अतिवाद र अन्धभक्तिकै परम्परागत परिचय हो । प्रस्तुति हो जसले हामीलाई महाकाव्यमा कुनै पनि कालजयी प्रस्तुति हुनबाट रोक्छ । यो अति राष्ट्रवादको तिखो छुरा हाम्रै लागि दुश्मन भएर घोच्न आइपुग्छ । यो साम्यवादी सतही लेखनको राजनीतिपरस्त नारा पनि हुनसक्छ ।
युवा विदेश पलायनलाई चर्को रूपमा कवि आचार्यले यस महाकाव्यमा उठाएका छन् । अहिलेको विश्व ध्रुवीकरणको शताब्दीमा व्यक्ति स्वतन्त्रता रोक्न सकिन्छ ? के युवाहरू यस सीमामा काम नपाएरै बाहिर गएका हुन् ? अहिलेको सन्दर्भमाकुन देशको मानिस कुन देशमा छैनन् ? के अमेरिकनहरू नेपालमा छैनन् ? जोन उडजस्ता डलरले पुरिएकाव्यक्तिहरू त्यसतिर घृणा जन्माएर बाहुन डाँडाको भिरमाउभिनु यसको उदाहरण होइन? यो फोहोरी राजनीतिको मागीखाने एउटा भाँडो मात्र हो, नाराको माध्यम मात्र । साहित्य त्यसमा पनि विराट विश्व मानवताका समग्र पक्षलाई एकीभूत गर्नसक्ने वा आफैँमा अन्तर्भूत गराउनसक्ने कलात्मक साधनाको उच्चतर रूप महाकाव्यमा खण्डीकृत गर्नु आफैँमा सीमित सोचको उपज हो ।
देशका सीमा तिनै दुर्गन्धे राजनीतिका सीमित स्वार्थी घेराभित्र परिभ्रमित दुई-चारजना छुद्र व्यक्तिले कोरेका हुन् । तिनैलाई गुरुमन्त्र मानेर हामी यस सङ्कीर्ण राष्ट्रवादका चौघेरामा उभिन्छौँ भने हाम्रा लेखनमा नवीनताका चिह्न कहाँनिर त ? यी जम्मै विषयवस्तु आएर पनि नआएका आभास दिलाउन महाकाव्यकारले विराट् विश्वलाई एक देश र आठ अरब मानिसलाई एउटै घरका परिवारका आँखाले हेर्न सक्ने उच्च उचाइ उक्लिने कि नउक्लिने ?
सच्चा साहित्यकारको कुनै देश हुँदैन, धर्म हुँदैन, राजनीति, हुँदैन, जातजाति हुँदैन, अनुशासन हुँदैन, औपचारिकता हुँदैन । यस धारबाट विश्व समेट्ने अभियान महाकाव्यको लेखन यात्रा हो । सगरमाथा विश्वको हो । विश्वको भएकैले यसको अस्तित्व विश्वमा छ । किन यसलाई मेरोमात्र भनेर चेप्ने ? चेप्ने प्रक्रिया अतिवादी अन्ध राष्ट्रभक्तिका सङ्कीर्ण सोच हुन् । जुन सङ्कीर्ण दुर्गन्धमा घुम्न/रमाउन राजनीति चाहन्छ, धर्म चाहन्छ, जातजातिहरू चाहन्छन् । औपचारिक अनुहारका छद्भेषीहरू चाहन्छन् । यिनबाट मुक्त भएर त्रिलोचनका आउने महाकाव्यिक यात्रा अग्लून् अगाडि ।
यसका भूमिकामा महाकाव्यकार छन्द साधनाको निखारमा पुगेर पनि लेखनमा अल्छे बनिसकेका प्राडा.रामप्रसाद ज्ञवालीले आफूलाई नढाँटी महाकाव्यिक गरिमाको उत्कर्ष स्वरूपयसमा प्रस्तुतगर्दै यसलाई औपन्यासिक महाकाव्यको श्रेणी निर्धारण गरेको हामी पाउँछौँ र हो पनि । विराट् विश्वका सर्वांश पक्ष समेट्ने उचाइ उक्लेको कुनै न कुनै व्यक्तित्व त यसमा चाहिन्छ नै । त्यसका लागि महाकाव्यकार पनि निरपेक्ष किसिमले विश्वकायावत् पक्षलाई हेर्नसक्ने बिन्दुमा उभिएको हुनु नितान्त आवश्यक छ । त्रिलोचनको यात्रा यसतिर निरन्तर जागिरहोस्को कामना ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर