बढ्दो जनसंख्यासँगै पानीको आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । त्यसमा पनि जलवायु परिवर्तनको असरले पानीका स्रोतहरू सबैभन्दा प्रभावित हुँदै गएका छन् । हिमालहरू पग्लिदैछन्, हिमतालहरू फुट्दैछन्, पानीका महत्वपूर्ण खम्बाका रूपमा हिमनदीहरू सुक्दैछन् । धेरैजसो परम्परागत धारा, कुवा, पोखरीहरू सुकिसकेका छन् भने बढ्दो शहरीकरणसँगै जमिना कंक्रिटमा परिवर्तन भएको छ । जसका कारण वर्षातको पानी जमिनमुनि रिचार्जको क्रम अवरुद्ध हुनपुगेको छ । रिचार्ज अवरुद्ध हुँदा शहरी क्षेत्रमा इनार, ट्युबेल र बोरिङमा पानी आउन छाडेको छ । पुराना इनार ट्युेबलहरु सुक्न थालेका छन् । वर्षातको पानी जमिनमुनि रिचार्ज हुन नपाउँदा एकातिर जनिममुनिका पानी स्रोत प्रभावित त भएका छन् नै, अर्कोतिर सामान्य वर्षातमा पनि सडक र बस्तीहरु ढुबान पर्दैछन् । त्यसरी काठमाडौं उपत्याका डुबानमा पर्दा बागमती नदीको सतह घटाउन ऐतिहासिक धरोहरका रूपमा रहेको चोभार नाका कटानको चर्चासमेत चलेको थियो । पानीको दिगो व्यवस्थापन, खानेपानी र सरसफाइका साथै वातावरणमैत्री पूर्वाधारको वकालत गर्दै आउनुभएका पूर्वमन्त्री गणेश शाहसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गर्नुभएको कुराकानी :-
विश्व पानी दिवस किन मनाइन्छ ?
पानी विश्वव्यापी संकटका रूपमा देखापरेको छ । १९९३ देखि संयुक्त राष्ट्र संघ (युनएन)ले २२ मार्चलाई विश्व पानी दिवसका रूपमा मनाउँदै आएको छ । पानी दिवस मनाउनुको प्रमुख कारण हाम्रो जुन किसिमले शहरीकरण बढ्दै गएको छ, जीवनशैलीमा व्यापक परिवर्तन भइरहेको छ । दिनप्रतिदिन पानीको अभाव बढ्दैछ । पानी कसैले धेरै प्रयोग गरेको छ, कसैले पाएको छैन । पानीका स्रोतहरु भनेका त एक-अर्को देशसँग सम्बन्धित हुन्छन् । नेपालमै कुनै क्षेत्रमा पानीका स्रोत धेरै छन्, कुनै क्षेत्रमा स्रोत नै छैनन् । त्यस्तै देशहरुबीच कुन नदीको पानी कसले लिने भन्ने विवाद हुनसक्छ । भविष्यमा विश्वमा कुनै किसिमको वार(युद्ध) भयो भने पानीकै लागि हुनसक्ने भनिएको छ । त्यस्तो युद्धको जोखिम ननिम्तियोस् भनेर पानी सम्बन्धमा विश्वव्यापी रूपमा एउटा समझदारी हुनुपर्यो । त्यही भएर पानीसम्बन्धी सचेतना र नीतिगत सुधार ल्याउन यूएनले दिवस मनाउन सुरु गरेको हो । जुन विश्वव्यापी रूपमा मनाइँदै आएको छ ।
यस्ता दिवसहरूले पानीका क्षेत्रमा सुधार आएको छ त ?
दिवसले केही न केही सचेतना जगाएको छ । पानीकै मुद्दामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ठूलाठूला बहस पैरवी हुनथालेका छन् । किनभने पानीको संकटसँगै मानिस संकटमा पर्छ, प्रकृति पनि संकटमा पर्छ । त्यसैले देशभित्रै पनि जनतालाई न्यायोचित रूपमा पानी वितरण होस्, समावेशीकरण होस्, पानी सर्वसुलभ रूपमा उपलब्ध होस् भन्ने अभियान सुरु भएको छ । त्यसका लागि नीतिगत सुधार हुँदैछन् । अझै विश्वका करिब दुई अर्बभन्दा बढी जनसंख्या स्वच्छ पानीबाट बञ्चित छ । पानीका स्रोत नदीहरु त एउटै देशमा सीमित हुँदैनन् । विश्वमै पानीका लागि विभिन्न नीतिगत सुधार भइरहेका छन् । नेपालले पनि नीतिगत सुधार गर्दैछ । डेढ वर्षअघि नेपाल सरकारले खानेपानी तथा सरसफाइसम्बन्धी ऐन पारित गरेको थियो । हालै प्रनिनिधिसभाको निर्वाचन सम्पन्न भएको छ । यसपटक हरेक पार्टीका घोषणापत्रमा पानीलाई प्राथमिकतामा राखिएको पाइएको छ । किनभने पानीको बहुआयामिक महत्व छ । नेपालमा पानी पिउन र सरसफाइका लागि मात्रै नभई कृषि, जलविद्युतसँग जोडिएको छ । नेपालको सन्दर्भमा पानी भनेको ऊर्जाको महत्वपूर्ण स्रोत हो । दिगो विकास लक्ष्य(एसडिजी)को बुँदा नम्बर ६ अनुसार सबैका लागि गुणस्तर स्वच्छ पानी पुर्याउनु विश्वकै लागि चुनौतीपूर्ण देखिएको छ ।
पानी क्षेत्रमा निजी क्षेत्र आउन सकिरहेको छैन नि ?
पानीको व्यापारीकरणमा त निजी क्षेत्र आएको छ । खासगरी प्रशोधित र अप्रशोधित पानी वितरणको काम निजी क्षेत्रले गर्छ । त्यस्तै पानीका स्रोतको खोजी अर्थात् ड्रिलिङमा पनि निजी क्षेत्रले काम गर्दै आएको छ । तर पानीको पुनः प्रयोग, आकाशे पानी संकलन र व्यवस्थापनमा भने निजी क्षेत्र आएको देखिँदैन । त्यसो त खानेपानी उपभोक्ता समितिले पानी व्यवस्थापनदेखि वितरणसम्मको काम गर्दै आएको छ । यसमा ठूला कर्पोरेट हाउसहरू आउनुपर्छ ।
पानीका मुख्य स्रोत भनेका हाम्रा हिमाल हुन् । तर हिमालहरू पग्लिँदै गएका छन् ?
जलवायु परिर्वतनका असरले हाम्रा हिमालहरू पग्लिँदै गएका छन् । हिमनदीहरूमा पानीको सतह घट्दोक्रममा रहेको छ भने हिमतालहरु फुटने जोखिम बढेर गएको छ । कहिले भारी वर्षाले बाढीपहिरोबाट ठूलो धनजनको क्षति हुने र कहिले खडेरीका कारण खाद्य संकटको जोखिम देखिएको छ । तर, जलवायु परिवर्तनको असर न्यूनीकरणमा नेपालको मात्रै एक्लो प्रयासले संभव छैन, त्यो नेपालको मात्रै समस्या होइन । यसमा विश्वव्यापी पहल र प्रयास आवश्यक छ । त्यसैले पानी व्यवस्थापनमा नयाँ विकल्प खोजिनुपर्छ । अब रेन वाटर हार्भेष्टिङका नयाँ विधि अपनाउनुपर्ने हुन्छ । भारी वर्षात भएको बेला तालतलैयामा त्यस्तो पानी संकलन गर्ने, तालतलैयाहरुको संख्या बढाउने, खोल्सा-खोल्सीहरूमा वर्षातको पानी संकलन गरेर राख्न सकिन्छ । हिउँदमा सुख्खा रहने नदीहरूमा वर्षातको पानी संकलन गरेर राख्न सकिन्छ । पछिल्लो सयम रेन वाटर हार्भेष्टिङमा नयाँ–नयाँ प्रविधि आएका छन् । उपयुक्त प्रविधिहरू प्र्रयोगमा ल्याउनुपर्यो । अति वृष्टिलाई समस्याका रूपमा नभई अब अवसरका रूपमा लिनुपर्ने भएको छ, बढ्दो जनसंख्यका कारण पानीको खपत बढिरहेकाले । पानीको खपत घटाउनुपर्ने आवश्यक देखिएको छ । कृषिमा पनि कमभन्दा कम पानी प्रयोगबाट उत्पादन बढाउनेतर्फ प्रविधि विकास भइरहेका छन् ।
विद्यालय र अस्पतालहरूमा पानीको अवस्था कस्तो छ ?
विगतभन्दा सुधार भएको छ । विद्यार्थीले शौचालयका लागि पनि घरबाटै बोकेर जानुपर्ने अवस्था हटेको छ । तर, अझै विद्यालय र अस्पतालहरुमा स्वच्छ र पर्याप्त पानीको व्यवस्थापन हुनसकेको भने देखिँदैन । धेरैजसो सरकारी अस्पताल, विद्यालयहरूमा पानी अभावका कारण शौचालय फोहोर र दुर्गन्धित अवस्थामा छन् । विद्यालय, अस्पतालहरूले वाटर, स्यानिटेसन र हाइजेनमा अझै बढी ध्यान दिनुपर्ने हुन्छ । खासगरी सार्वजनिकस्थलमा ।
बढ्दो शहरीकरणसँगै सुकिसकेका हाम्रो परम्परात पानीका स्रोत धारा, कुवाहरू पुनर्जीवित गर्नसक्ने अवस्था छ ?
त्यसमा पनि पहल भएका छन् । कतिपय धारा पुनर्जीवित गरिएका छन् तर धेरै गर्न अझै धेरै बाँकी छ । परम्परागत धारा, कुवा भनेका हाम्रा पुर्खाहरूबाट पुस्तान्तरण भएका पानीका स्रोत हुन् । ती स्रोतहरूलाई जस्ताको त्यस्तै हामीले भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने चुनौती छ ।
नयाँ सरकारले आगामी दिनमा पानीका लागि के गर्नुपर्छ ?
पानीका लागि अब संघीय सरकारलेमात्रै होइन, तीनवटै तहका सरकारले काम गर्नुपर्छ । वन मन्त्रालयले, खानेपानी मन्त्रालय, स्थानीय सरकार, प्रदेश सरकार, निजी क्षेत्र, पानीसँग सम्बन्धित विज्ञ, वैज्ञानिकहरूसँग समन्वय र सहकार्यमा काम गर्नुपर्छ । निजी क्षेत्र र व्यक्तिले समेत करोडौको घरआवास निर्माण गर्ने तर पानीका लागि सरकारको मात्रै मुखताक्ने अवस्था जुन देखिएको छ । अब त्यसमा व्यवस्थापनको विषय भवन निर्माण मापदण्ड राखिनुपर्यो । आकाशे पानी संकलन, जमिनमुनि पानी रिचार्जको व्यवस्था हुनुपर्यो । पछिल्लो समय तीव्र शहरीकरणसँगै बढ्दो क्रंकिट संरचनाले गर्दा इनार ट्युबलमा पानी आउँनै छाडेको छ भने, भएका इनार, बोरिङ सुक्दै गएका छन् । कंक्रिटकै कारण परेको जमिनमुनि पुनरभरण हुन नसक्दा सामान्य वर्षातको बेला पनि काठमाडौं जलमग्न हुनेगरेको देखिएको छ । नयाँ सरकारले यस्ता कुरामा ध्यानमा राखेर पानी व्यवस्थापनका लागि आवश्यक नीति तथा कार्यक्रम बनाउनुपर्छ । पानीसँग धेरैजसो महिलाहरू जोडिएका हुन्छन् । सोही कारण यसवर्षको पानी दिवसको नारा ‘वाटर एण्ड जेन्डर’ राखेको छ । पानी व्यवस्थापन महिलामैत्री पनि हुनुपर्यो । जुन घरमा पर्याप्त र सुरक्षित पानी उपलब्ध हुन्छ, त्यो घर समृद्ध मानिन्छ । त्यसैले त्यो समृद्धि र खुशी सबै नेपाली जनताको घरमा आउनुपर्यो । समग्रमा भन्नुपर्दा पानीमा लगानी बढाउनुपर्यो । नयाँ सरकारका लागि यो अवसर पनि हो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि