मानिसको जीवन र यो विशाल जगत्को अध्ययन, अनुसन्धान र यथार्थलाई बुझ्ने सबैभन्दा सशक्त र प्राथमिक आधार भनेकै शिक्षा हो । शिक्षाले नै मानिसलाई असल, खराब, नैतिक वा अनैतिक बनाउने सामर्थ्य राख्छ । विकास-विनाश, प्रगति-अवन्नति सबैको मूल जरो शिक्षा नै हो । आज हाम्रो देश नेपाल एक महत्वपूर्ण ऐतिहासिक र राजनीतिक मोडमा उभिएको छ । विशेषगरी आगामी २०८२ सालको प्रतिनिधिसभा चुनावमा विजयी भएर देशको नेतृत्व सम्हाल्ने उम्मेदवारहरूले अबको शिक्षा प्रणाली कस्तो हुनुपर्छ भनेर गम्भीर रूपमा विचार गर्नुपर्ने बेला आएको छ । शिक्षा दिने र लिने दुवै पक्ष नैतिकवान् भएमा मात्र विकृति र वितृष्णा नभएको एउटा उन्नत समाज, राष्ट्र र विश्वको परिकल्पना गर्न सकिन्छ । तसर्थ, अबको शिक्षा केवल अक्षर चिन्ने र प्रमाणपत्र बाँड्ने साधनमात्र नभएर जीवन जिउने कला सिकाउने माध्यम बन्नुपर्छ ।
आज देशमा राष्ट्रियता, स्वाभिमान र देशप्रेमको भावना अत्यन्त कमजोर बनेको छ । देश छोड्ने युवाहरूको लर्को दिनानुदिन बढ्दो छ । गुणस्तरीय शिक्षाको नाममा हरेक वर्ष अर्बौं रकम विदेशिँदैछ । गाउँबस्ती र पहाडहरू खाली भएका छन् भने उब्जाउ भूमि बाँझो छ । गाउँमा केही पर्दा सहयोग गर्ने मानिस छैनन् । जंगली जनावरको आतंक र असुरक्षा बढेको छ । शहरबजारमा खेतीयोग्य जमिन मासेर सिमेन्टका घरहरू उम्रिएका छन् भने पहाडका खेतबारीमा खर उम्रिएको छ ।
संस्कार, संस्कृति र नैतिक शिक्षाको जग
एउटा समुन्नत र सभ्य देश निर्माणका लागि गुणस्तरीय शिक्षा अनिवार्य सर्त हो । यसका लागि हामीले आफ्नो परिवेश र धरातललाई उच्च सम्मान गर्न सिक्नुपर्छ । अत्याधुनिक विज्ञान र प्रविधिको सदुपयोग गर्दै विश्वमञ्चमा उभिनका लागि हामीलाई विभिन्न भाषाहरूको ज्ञान आवश्यक छ । बालबालिकाहरूले आफ्नो कलिलो उमेरमा सजिलै चार-पाँचवटा भाषाहरू सिक्न सक्छन् । त्यसैले उनीहरूलाई अन्तर्राष्ट्रिय पहुँचका लागि अंग्रेजी भाषा, ज्ञान र दर्शनको मूल स्रोत मानिने संस्कृत भाषा, हाम्रो राष्ट्रिय सम्पर्कको नेपाली भाषा र आफ्नो पहिचान बोकेको मातृभाषाको ज्ञान सँगसँगै दिनु अति आवश्यक छ ।
तर, आज चलनचल्तीमा रहेको शिक्षाको संरचनाले हाम्रो आफ्नैपन र नेपालीपनलाई ओझेलमा पार्दै लगेको छ । आयातीत देखासिखी र भड्किलो प्रवृत्तिका कारण हाम्रो मौलिकता नै धरापमा पर्ने हो कि भन्ने गहिरो चिन्ता थपिएको छ । हामीले चिनीको स्वादमा भुलेर आफ्नै घरको खुँदो र महलाई बिर्सने ठूलो गल्ती गरिरहेका छौं । द्रूत गतिले परिवर्तित भइरहेको यो प्रविधियुक्त आधुनिक विश्वमा आफ्ना चाडपर्व, रीतिरिवाज र संस्कारलाई परिमार्जन गर्दै जोगाएर राख्नु कम चुनौतीपूर्ण छैन । हाम्रा पुर्खाले सयौं वर्ष लगाएर निर्माण गरेका स्थानीय ज्ञान, सीप, पूजापाठ र तिथिश्राद्धजस्ता परम्परा अब बिस्तारै हराउने अवस्थामा पुगेका छन् । त्यसैले, आफ्नो पहिचानलाई जोगाउँदै प्रविधिको सदुपयोग गरेर विश्वसामु आफूलाई उभ्याउन सक्ने चरित्रवान् नागरिक उत्पादन गर्न नैतिक र संस्कारयुक्त शिक्षाको नितान्त आवश्यकता छ ।
व्यावहारिक ज्ञान, प्रविधि र वातावरण संरक्षणको सन्तुलन
आजको विश्व विज्ञान र प्रविधिले सञ्चालन गरिरहेको छ । यो परिवर्तित समय र चुनौतीलाई सम्बोधन गर्न विद्यालय तहदेखि नै विज्ञान, गणित, कम्प्युटरजस्ता विषयहरूको गहन अध्ययन र अध्यापन हुनुपर्छ । कृत्रिम बौद्धिकता (एआई) जस्ता अत्याधुनिक प्रविधिको समान सदुपयोग गर्नसक्ने जनशक्ति उत्पादन गर्नु आजको आवश्यकता हो । तर, प्रविधिको विकासमा दौडिँदै गर्दा हामीले प्रकृतिलाई बिर्सन मिल्दैन । शिक्षा यस्तो हुनुपर्छ जसले विद्यार्थीलाई आफ्नो धर्ती र धरातलदेखि लिएर विकसित प्रविधिसम्म अर्थात् प्रकृतिदेखि प्रविधिसम्मको ज्ञान दिन सकोस् । जीवन र समाजको उत्थानका लागि साधारण व्यावसायिक ज्ञान र स्वावलम्बी शिक्षालाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।
यसका साथै, हाम्रो वातावरण आज गम्भीर संकटमा छ । प्रचुरमात्रामा प्लाष्टिक र कीटनाशक विषादीको अन्धाधुन्द प्रयोगले प्रकृति र मानव स्वास्थ्य दुवैको विनाश भइरहेको छ । हाम्रा परम्परागत खाद्यपदार्थ, रैथाने कृषि उत्पादन र पशुपक्षीहरू लोप हुँदै गएका छन् । आयातीत बीउबिजनले क्षणिक रूपमा फाइदा पुर्याए पनि कालान्तरमा यसले माटोको उर्वराशक्ति र उत्पादनमा ह्रास ल्याएको कुरा सर्वविदितै छ । यहाँको हावापानी र माटो सुहाउँदो शिक्षा र राजनीति नहुनुको यो अत्यन्त दुःखद् परिणाम हो । देशमा सौर्य ऊर्जा, वायु ऊर्जा र जलविद्युत्को अपार सम्भावना छ, तर हामी आफ्नै देशमा भएका दैलेखको ग्यास भण्डारजस्ता इन्धनको खोजी गर्नुको साटो आयातका लागि पाइप बिछ्याउने कुरामा रमाइरहेका छौं । वातावरणको विनाशबाट जोगाउन र दिगो विकासका लागि चेतनामूलक शिक्षा ढिलो गर्नु हुँदैन ।
अर्कोतर्फ, आजका युवा र नवपुस्ता कलिलो उमेरदेखि नै मोबाइल फोन, सामाजिक सञ्जाल र जंक फुडको कुलतमा फसेका छन् । केमिकल युक्त पेय पदार्थ र स्क्रिनको लतले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य बिग्रँदैछ । एन्जाइटी र डिप्रेसनजस्ता मानसिक समस्याहरू दिनानुदिन बढ्दै छन् । उनीहरूलाई प्रविधिको फाइदा र बेफाइदाबारे स्पष्ट जानकारी गराउँदै खेलकुद, सामाजिक सद्भाव र घरायसी कामकाजमा रूपान्तरण गर्न नसक्ने हो भने भोलिको जिम्मेवार जनशक्ति काम नलाग्ने अवस्थामा पुग्नेछ ।
शैक्षिक प्रणालीमा सुधार, रोजगारी र राष्ट्र निर्माण
हाम्रो वर्तमान शिक्षा प्रणाली र मूल्यांकन पद्धतिमा आमूल सुधारको खाँचो छ । आठ वा दश वर्षमुनिका साना बालबालिकालाई नचाहिँदो किसिमले धेरै पढाउने, व्यावहारिक ज्ञानभन्दा पाठ्यपुस्तक र अभ्यास पुस्तिकाको भारी बोकाउने र घोकाउने प्रवृत्ति हाबी छ । यसले गर्दा उनीहरूको प्राकृतिक शारीरिक र मानसिक विकासमा नराम्रोसँग बाधा पुगेको छ । पढाइप्रतिको यही वितृष्णाले गर्दा शिक्षाको स्तर खस्किँदै गएको छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई त विद्यालयको बोझ दिनुको सट्टा घर, समाज, प्रकृति र परिवेश बुझ्ने अनि परिवारमा रमाउन प्रेरित गर्ने वातावरण निर्माण गर्नु जरुरी छ ।
निर्यातबिनाको आयातले मात्र देश कहिल्यै उँभो लाग्दैन । तसर्थ, नेपालको माटो सुहाउँदो, आधुनिकताले निम्त्याएको विनाशलाई चिन्ने र संस्कारयुक्त सक्षम नागरिक निर्माण गर्ने शिक्षा नै आजको एकमात्र राष्ट्रिय सङ्कल्प बन्नुपर्छ । आगामी निर्वाचनबाट आउने नेतृत्वले यसलाई आफ्नो प्रमुख एजेण्डा बनाउनु अपरिहार्य छ ।
अहिले विद्यार्थीलाई जसरी पनि उच्च ग्रेड ल्याएर उत्तीर्ण गराउने होडबाजी चलेको छ । सरकारले परीक्षा प्रणालीमा ल्याएको सहजता र खुकुलोपनले गर्दा विद्यार्थीमा अध्ययनप्रतिको आकर्षण र लगनशीलता हराउँदै गएको छ । विद्यालय तहको कक्षा ८ देखि १२ सम्म लागू गरिएको ग्रेडिङ प्रणालीलाई हटाएर पुरानै प्रतिशत वा अंक प्रणालीमा लैजानु नितान्त आवश्यक भइसकेको छ । छ महिनामा कोरियन वा जापानी भाषा सिकेर विदेश जान सक्ने हाम्रा युवाहरूले १४-१५ वर्ष विद्यालयमा पढेर पनि किन सफलता हासिल गर्न सकिरहेका छैनन् भन्ने प्रश्नले हाम्रो शिक्षा प्रणालीलाई नै गिज्याइरहेको छ । विद्यालय र विश्वविद्यालयमा सैद्धान्तिक ज्ञानभन्दा प्रयोगात्मक, सीपमूलक र नैतिक शिक्षालाई प्राथमिकता दिने गरी पाठ्यक्रम र पाठ्यपुस्तकको व्यवस्था हुनुपर्छ ।
आज देशमा राष्ट्रियता, स्वाभिमान र देशप्रेमको भावना अत्यन्त कमजोर बनेको छ । देश छोड्ने युवाहरूको लर्को दिनानुदिन बढ्दो छ । गुणस्तरीय शिक्षाको नाममा हरेक वर्ष अर्बौं रकम विदेशिँदै छ । गाउँबस्ती र पहाडहरू खाली भएका छन् भने उब्जाउ भूमि बाँझो छ । गाउँमा केही पर्दा सहयोग गर्ने मानिस छैनन् । जंगली जनावरको आतंग र असुरक्षा बढेको छ । सहरबजारमा खेतीयोग्य जमिन मासेर सिमेन्टका घर उम्रिएका छन् भने पहाडका खेतबारीमा खर उम्रिएको छ । विनाअध्ययनका डोजरे विकासले बाढी, पहिरो र डुबान निम्त्याएको छ । गाउँ खाली हुँदा विद्यालय गाभिएका छन्, जसले गर्दा बचेखुचेका बालबालिकाले पनि शिक्षाकै लागि गाउँ छोड्नुपर्ने बाध्यता छ । यसले परिवारमा विखण्डन ल्याएको छ । नातिनातिनासँग रमाउनुपर्ने ज्येष्ठ नागरिकहरू एक्लोपन र मानसिक चिन्ताले ग्रस्त छन् ।
यस्तो अवस्थामा, हाम्रा नवयुवालाई आफ्नै देश र परिवारसँगै बसेर उन्नति गर्न सकिन्छ भन्ने मनोभावनाको विकास गराउनु राज्यको पहिलो दायित्व हो । रोजगारीमूलक, स्वावलम्बी र आधुनिक विश्वमा प्रतिस्पर्धी शिक्षा प्रदान गर्न देशभित्रै आधुनिक प्रयोगशालासहितका भौतिक संरचना र तालिमप्राप्त शिक्षकको व्यवस्था गर्नैपर्छ । भूराजनीतिक परिघटनाले खाडी लगायतका मुलुकमा कार्यरत बीसौं लाख नेपाली फर्किनुपर्ने अवस्था आएमा उनीहरूको व्यवस्थापन कसरी गर्ने र रेमिट्यान्सबिना देशको दिगो विकास कसरी गर्ने भन्ने विषयमा आजैबाट गम्भीर योजना बनाउनु जरुरी छ । निर्यातबिनाको आयातले मात्र देश कहिल्यै उँभो लाग्दैन । तसर्थ, नेपालको माटो सुहाउँदो, आधुनिकताले निम्त्याएको विनाशलाई चिन्ने र संस्कारयुक्त सक्षम नागरिक निर्माण गर्ने शिक्षा नै आजको एकमात्र राष्ट्रिय संकल्प बन्नुपर्छ । आगामी निर्वाचनबाट आउने नेतृत्वले यसलाई आफ्नो प्रमुख एजेण्डा बनाउनु अपरिहार्य छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर