जनकपुरधाम । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा लुम्बिनीले कोशीलाई र सुदूरपश्चिमले कर्णालीलाई हराएको छ । जनपुरमा खेलिएको खेलमा लुम्बिनी प्रदेशसामु कोशी प्रदेश निरीह बनेको थियो । उक्त खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १४८ रनको विशाल अन्तरले हरायो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले ४९.३ ओभरमा अलआउट हुनुअघि २४९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने ३१.४ ओभरमै अलआउट हुनुअघि एक सय एक रनमात्र बनाउन सक्यो ।
लुम्बिनी प्रदेशको जितमा कप्तान देव खनालले ९२ रनको योगदान गर्नुभयो । ओपनर ब्याट्सम्यान देवले एक सय बलको सामना गरी एक छक्का र आठ चौका पनि हिर्काउनुभयो । उहाँले अर्का ओपनर रञ्जित खड्कासँग ८६ रनको साझेदारी गर्नुभयो ।
रञ्जितले ३५ रन जोडनुभयो । उहाँले ३६ बलमा पाँच चौका प्रहार गर्नुभयो । सन्तोष यादवले ४८ रन बनाउनुभयो । उहाँले ६२ बलमा तीन चौका पनि प्रहार गर्नुभयो । राजेन्द्र बम १६ रनमा अविजित रहनुभयो । कोशी प्रदेशका बलर सुजन थपलियाले चार विकेट लिनुभयो । उहाँले १० ओभरमा ३५ रन खर्चिनुभयो । दीपेश कँडेलले पनि दुई विकेट लिनुभयो भने विपिन महतो र प्रेम कामतले एक-एक विकेट लिनुभयो ।
जवाफी ब्याटिङ गरेको कोशी प्रदेशका लागि अंकित सुवेदीले सर्वाधिक ३५ रन बनाउनुभयो । यसका अतिरिक्त, दीपेश कँडेल (१५ रन) र कप्तान सुजन थपलिया (११ रन)ले मात्र दोहोरो अंकमा रन बनाउन सक्नुभयो ।
कोशी प्रदेशले अतिरिक्त रूपमा भने १७ रन पायो । लुम्बिनी प्रदेशका बलर सन्तोष यादवले चार विकेट लिनुभयो । उहाँले सात ओभरमा एक मेडन राख्दै केवल ११ रन खर्चिनुभयो । राजेन्द्र बमले तीन, निर्मल गुरुङले दुई र सन्देश थापाले एक विकेट लिनुभएको थियो ।
यता, वीरगञ्जमा खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई चार विकेटले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३२ ओभरमै अलआउट हुनुअघि ११९ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले २९.२ ओभरमै ६ विकेट गुमाएर १२२ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
सुदूरपश्चिम प्रदेशको जितमा हेमन्त धामी नायक बन्नुभयो । पहिले ब्याटिङ गरेको कर्णालीलाई सस्तोमा समेट्ने क्रममा उहाँ एक्लैले ६ विकेट लिनुभयो । उहाँले सात ओभरमा एक मेडन राख्दै केवल १६ रन खर्चिनुभएको थियो ।
शेर मल्ल, नारायण जोशी, अशोक धामी र मिलन बोहराले पनि एक-एक विकेट लिनुभयो । कर्णालीका लागि विपिन रावलले सर्वाधिक ३३ रन जोडनुभयो । ओपनर सुनिल धमलाले २८ रन जोडनुभयो भने अरविन्द घर्तीले १३ रन थप्नुभयो । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
कर्णालीले अतिरिक्त रूपमा २२ रन पायो । जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमको जितमा किरण ठगुन्नाले २६, खड्क बोहोराले २३, मिलन बोहराले अविजित १८ र कप्तान शेर मल्लले अविजित १० रन बनाउनुभयो ।
सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा पनि २५ रन पायो । कर्णाली प्रदेशका बलर अनुज चनरा र दिवान पुनले दुई-दुई विकेट लिनुभयो । प्रकाश जैसी र दीपेन्द्र रावतले पनि एक-एक विकेट हात पार्नुभयो । हेमन्त धामी प्लेयर अफ दि म्याच घोषित हुनुभयो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर