काठमाडौं । पहिलो संस्करणमा प्रदर्शक तथा अवलोकनकर्ताको प्रशंसनीय सहभागितापछि नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (बाडा)ले चैत ११ गते देखि १५ गतेसम्ममा पोखरामा ‘दोस्रो नाडा प्रजेन्ट्स बाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ । प्रदेशकै सबैभन्दा बृहत् अटो प्रदर्शनीमा पोखरा महानगरपालिका प्रवर्द्धक रहेको छ भने प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरेको छ ।
आयोजकका अनुसार प्रदर्शनी सञ्चालन सहज बनाउन प्रायोजन गरी सहयोग प्रदान गर्ने पावर्डबाईमा राइड इनर्जी, इन्सुरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दीर्घायु पोखरा हस्पिटल, टिकटिङ पार्टनरमा खल्ती एप, क्युआर पार्टनरमा युनियन पे, हस्पिटालिटी पार्टनरमा टेम्पल बेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिटको प्रालि, फर्निचर पार्टनरमा सिटिजन फर्निचर, प्रिन्टिङ पार्टनरमा पोखरा क्रिएटिभ्स प्रालिलगायतका प्रतिष्ठित संस्थाहरू रहेका छन् ।
यसपटकको संस्करणमा सवारीसाधन खरिदबिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकासबारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्तालाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइने आयोजकले जनाएको छ । अटो व्यवसायको सुदृढीकरण एवं प्रवर्द्घन, क्षेत्रीय बजारमा सहज पहुँच तथा बढ्दो मागलाई ध्यानमा राखी नेपालमै उत्पादनको सम्भाव्यतालाई समेत समयानुकूल दिशानिर्दिष्ट गर्न आवश्यक एवं व्यवस्थित वातावरण निर्माण गर्न प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको भनाइ छ ।
नाडाका अनुसार नेपाल समृद्धितर्फ उन्मुख हुँदै गर्दा सक्रिय अर्थतन्त्र तथा सामाजिक सामिप्यताका लागि यातायात गतिशीलता अति आवश्यक हुन्छ । त्यसैले पछिल्लो समय सवारीसाधन विलासिताभन्दा पनि आवश्यक वस्तु बन्दै गइरहेको छ । सोही आवश्यकता महसुस गर्दै क्षेत्रीयलगायत केन्द्रमा रहेका अटो व्यवसायी समकक्षीलाई एउटै छानामुनि भेला गराई सहज व्यावसायिक वातावरण निर्माण गर्नु पनि प्रदर्शनीको उद्देश्य रहेको छ । विभिन्न जिल्लाहरू एवं प्रदेशहरूबाट हुने व्यावसायिक भेलाले अटो व्यवसाय प्रवर्द्घनमात्र नभई आन्तरिक पर्यटनलार्ई समेत टेवा पुर्याउनेछ ।
आयोजकका अनुसार बाडा अटो शो २०२६ मा १६ ब्राण्डका चारपांग्रे, छवटा ब्राण्डका लाइट कमर्सियल, १० वटा ब्राण्डका दुईपांग्रे, एउटा हेभी कमर्सियललगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एसोसरिज तथा वित्तीय संस्थाका २० स्टलहरू रहनेछन् । प्रदर्शनीको थप आकर्षणमा नयाँ पुस्तालाई नेपालमा भित्रिएका र गुडाइएका ऐतिहासिक पुराना मोडलका कारहरूबारे जानकारी उपलब्ध गराउने उद्देश्यका साथ विशेष भिन्टेज कार शोको आयोजना गरिनुका साथै अत्याधुनिक प्रविधि विकास एवं नवपरिवर्तनसँग आमसर्वसाधारणलाई साक्षात्कार गराउन रोबोटहरू पनि प्रदर्शनमा राखिने बताइएको छ । जसमा युनिट्री जी वान ह्युमानोइड रोबोट, युनिट्री गो टु, चंखे जस्ता आकर्षक रोबोट रहनेछन् । साधारण टिकटमा पचास प्रतिशत तथा पहिलो १०० जना विद्यार्थी टिकटमा सय प्रतिशत फिर्ता हुने गरी यस अटो शोका लागि क्युआर पार्टनर युनियन पेद्वारा क्यास ब्याकको व्यवस्था गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्रीसँग छलफल
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती नेतृत्वको नाडा प्रतिनिधिमण्डलले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत रूपमा छलफल गरेको छ । मुख्यमन्त्री बानियाँले अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय कार्यसमिति गठन भएकोमा बधाई तथा शुभकामना दिँदै कार्यकालको सफलताको कामनासमेत गर्नुभएको बताइएको छ । सोही क्रममा मुख्यमन्त्री बानियाँले ५० वर्ष पुगेको नाडासँग राजतन्त्र, प्रजातन्त्र र गणतन्त्र तीनै तहको सरकारको अनुभव रहेको भन्दै नाडाको प्रशंसा गर्नुभएको नाडाले जनाएको छ । छलफलका क्रममा उहाँले देशको ५० प्रतिशत सवारीसाधन बागमती प्रदेशमै दर्ता हुने गरेको सन्दर्भमा राजधानीमा ट्राफिक र पार्किङलगायतका विभिन्न समस्या रहेको भन्दै समाधानका लागि प्रदेश सरकार र नाडा सहकार्य गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभएको थियो । मुख्यमन्त्री बानियाँले देशका लागि आवश्यक हुने जनशक्ति तयार गर्ने, त्यसका लागि रोजगारी दिने र सवारीसाधनका लागि ट्रायल सेन्टर खोल्ने सम्बन्धमा पनि प्रदेश र नाडाबीच सहकार्य गरेर अघि बढ्न सकिने बताउनुभएको थियो ।
सो अवसरमा नाडाका अध्यक्ष उप्रेतीले नाडाका सातवटा प्रदेशसहित २८ सय ८३ सदस्य कम्पनीहरू रहेको जानकारी गराउँदै नेपालको अटोमोबाइल क्षेत्रमा एक खर्बभन्दा बढीको लगानी रहेको बताउनुभयो । उहाँले नेपालको अटोमोबाइल क्षेत्रमा वार्षिक पाँच हजार जनशक्तिको आवश्यकता हुने जानकारीसमेत दिनुभयो । अध्यक्ष उप्रेतीले नाडाले बागमती प्रदेश सरकारसँग कुन–कुन क्षेत्रमा सहकार्य गरेर अघि बढ्न सकिन्छ त्यस विषयमा मोडालिटी तयार गरी पेश गरिने बताउनुभएको नाडाले जनाएको छ ।
त्यस्तै नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालको प्रतिभा पलायन रोक्न नेपालको अटोमोबाइल क्षेत्रले सक्दो प्रयत्न गरिरहेको, नाडाले सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गरिरहेको भन्दै प्रदेश सरकारसँग हातेमालो गरेर अघि बढ्न चाहेको बताउनुभएको थियो भने नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले अटोमोबाइल प्रविधि तीव्र गतिले परिवर्तन भइरहेकाले सोही स्तर र प्रकारको प्राविधिक जनशक्ति उत्पादन गर्दै{ जानुपर्ने चुनौती रहेको, नाडाले त्यसका लागि परिष्कृत पाठ्यक्रमसमेत तयार गरिरहेको, आवश्यक तालिमका लागि संसाधन अभावमात्र होइन, उस्तै ट्रेनरहरूसमेतको खाँचो रहेको औंल्याउनुभएको थियो ।
नाडाका संस्थागत उपाध्यक्षद्वय भद्र भण्डारी तथा गणेश भट्टराई, उपाध्यक्षद्वय विक्रम सिंहानिया तथा अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल, सहकोषाध्यक्ष निलमणि पाठक, केन्द्रीय कार्यसमिति सदस्य दिपकराज गिरी, नारायणप्रसाद पौडेल र राजेश गिरीसमेतको उपस्थिति रहेको बताइएको छ ।







टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’
‘बाः एक योद्धा’को ‘नभन्नू कोइसित’
‘आमा’बाट आरम्भ भयो ‘ओल्ड इज
‘जलाकी’ को पहिलो गीत ‘चाँदी
तीनै प्रतिष्ठानमा कुलपतिसहित पदाधिकारी नियुक्त
राशिफल २३ साउन, मेष :