मुगु । लामो समयदेखि हवाई सेवाको अनियमितताले सास्ती खेप्दै आएकामा मुगु जिल्लास्थित रारा विमानस्थल (ताल्चा) मा नेपाल एयरलाइन्सले आइतबारदेखि नियमित उडान सुरु गरेको छ ।
नेपालगञ्जबाट हप्तामा चारपटक आइतबार, मंगलबार, बिहीबार र शुक्रबार रारा विमानस्थल (ताल्च) उडान हुने व्यवस्था मिलाइएको छ । साथै, बिहीबारकै दिन सुर्खेतबाट पनि रारा विमानस्थलमा उडान हुने नेपाल एयरलाइन्सका रारा विमानस्थल स्टेसन इन्चार्ज नवीनकुमार विष्टले जानकारी दिनुभयो ।
नियमित उडानसँगै विशेषगरी बिरामी बोकेर बाहिर लैजानुपर्ने बाध्यता झेलिरहेका स्थानीयलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । आपत्कालीन स्वास्थ्य सेवाका लागि समयमै जहाज नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्थासमेत दोहोरिँदै आएको थियो । अब भने यस्तो समस्या केही हदसम्म कम हुने विश्वास स्थानीयले गरेका छन् ।
त्यसैगरी विश्वकै प्रसिद्ध गन्तव्यका रूपमा परिचित रारा ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पनि यो सेवा महत्वपूर्ण मानिएको छ । सहज हवाई सेवाको पहुँचले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने र स्थानीय अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ । दुर्गम भेगका नागरिकले वर्षौंदेखि भोग्दै आएको यातायात अभाव, महँगो भाडा र अनिश्चित सेवाको पीडालाई मध्यनजर गर्दै यो पहल गरिएको सामाजिक अभियन्ता अनिल बानियाँले बताउनुभयो ।
स्थानीय सरोकारवालाहरूले नियमितता कायम राख्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन् । योगगुरू एवं नेपाल रेडक्रस मुगुका सभापति जयबहादुर मल्लले भन्नुभयो, ‘उडान सुरु हुनुमात्र होइन, निरन्तर हुनु जरुरी छ, हामीलाई सेवा चाहिएको हो, घोषणामात्रै होइन । दुर्गमका नागरिकहरूमा गरिबी निम्त्याउने एउटा कारण महँगो हवाई भाडा हो, यसमा समेत केही हेरफेर हुनुपर्छ ।’
राराजस्तो पर्यटकीय धरोहर भएको जिल्लामा भरपर्दो हवाई सेवा सञ्चालन हुनु विकासको आधार बन्न सक्ने विश्वास गरिएको छ । अबको चुनौती भनेको सेवा नियमित, सुरक्षित र सर्वसुलभ बनाउनु हो ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर