गरुड सेक्युरिटिजका बारेमा बताइदिनुस् न ?
हाम्रो गरुड सेक्युरिटीको स्थापना भएको २१ वर्ष भयो । अहिले हाम्रो सेवा नेपालका ७७ वटै जिल्लामा विस्तार भइसकेको छ । सेक्युरिटी गार्ड क्षेत्रमा नेपालमा गरुडले छुट्टै पहिचान बनाइसकेको छ । यो लार्जेस्ट सेक्युरिटी कम्पनी हो । हामीसँग छ हजारभन्दा बढी सेक्युरिटी गार्ड विभिन्न कम्पनीमा कार्यरत छन् । हाम्रा क्लाइन्ट भनेका धेरैजसो बैंक तथा वित्तीय संस्थादेखि लिएर डिप्लोमेटिक सेक्टरसम्म रहेका छन् । सेक्युरिटी गार्डिङमात्रै नभएर इभेन्ट सेक्युरिटी पनि गर्दै आएका छौं । इभेन्ट सेक्युरिटी कन्सर्टमा हाम्रो धेरै नै फोकस छ । त्यसैगरी सेक्युरिटीसम्बन्धी कन्सल्टेन्सी सेवा पनि दिन्छौं । क्लाइन्टहरूमा सेक्युरिटीको थ्रेट के छ, कसरी सेक्युरिटी स्टाब्लिस गर्ने, वर्कप्लेस, हेल्थ एण्ड सेफ्टी कस्तो हुन्छ, त्यसका विभिन्न पक्षमा तालिम र एउटा सर्भे गर्ने कामलाई सेक्युरिटी कन्सल्टेन्सी भनिन्छ । गरुड सेक्युरिटी नेपालमा आइएसओ सर्टिफाइड सेक्युरिटी कम्पनी हो ।
कम्पनीको पूर्वाधारको अवस्था के छ ?
सेक्युरिटी सेवाका लागि आवश्यक सबै पूर्वाधार हामीसँग छ । सेक्युरिटी गार्डहरूमात्रै होइन, हामीसँग सेक्युरिटी डग(कुकुर)समेत रहेका छन् । त्यसैगरी ६० भन्दा बढी सवारीसाधन रहेका छन् । जसबाट मासिक रूपमा २२ हजार किलोमिटरभन्दा बढी मोबाइल गस्तीसमेत गर्ने गरेका छौं । किनभने हामीले पाँच सयभन्दा बढी क्लाइन्टलाई सेवा दिनुपर्ने हुन्छ ।
सेक्युरिटी सेवाबाहेक तालिमहरू पनि सञ्चालन गर्नुहुन्छ कि ?
हामी तालिम पनि दिन्छौं । हाम्रो आफ्नै तालिम केन्द्र छ तर तालिम केन्द्र गरुडको छुट्टै निकायका रूपमा सञ्चालित छ । इन्टर्नल हाम्रो आफ्नै तालिमहरू गार्डलाई अपग्रेडेसन, रिफ्रेसर सञ्चालन हुन्छ । सेक्युरिटी गार्डकै काममा वैदेशिक रोजगारीमा जाने चाहने वा स्वदेशमै सेवा दिन चाहने सबैलाई हामी तालिम दिन्छौ । तर, विदेश जानकै लागि भनेर चाहिँ तालिम दिने गरेका छैनौं ।
नेपालमा धेरै बेरोजगारी छ भनिन्छ, रोजगारीका लागि आउनेहरूको ठूलै चाप होला नि ?
साँच्चिकै नढाँटेर भन्दा जनशक्ति नपुगेर क्लाइन्टहरूलाई मागअनुसारको आपूर्ति गर्न नसकिरहेको अवस्था छ । नेपालमा धेरै बेरोजगारी छ भन्छौं तर काम गर्ने मान्छे खोज्दा पाइँदैन । यो नेपालको एउटा विडम्बना नै भइसक्यो । सबैलाई विदेश जाने हुटहुटी छ ।
नेपालमा पाउने सेवा सुविधा कम भएर हो कि ?
विदेशमै पाउने सेवा सुविधा दिए पनि नेपालीहरूले विदेश नै ताकिरहेका हुन्छन् । हाम्रो सामाजिक परिवेश नै त्यस्तै बनिरहेको छ । जसरी भए पनि एकपटक विदेश जानैपर्ने युवा मानसिकता देखिन्छ । हामी नेपाल सरकारको न्यूनतम तलबस्केलअनुसार नै दिन्छौं । तर, हाम्रो कम्पनीमा अनुशासन भने अलि कडा छ । जति घण्टा ड्युटी गर्नुपर्ने हो, तोकिएअनुसार गर्नैपर्ने हुन्छ । त्यो कारणले पनि हाम्रोमा आउन डराएको पनि होला जस्तो लाग्छ ।
सेक्युरिटी गार्डमा महिला सहभागिता चाहिँ कस्तो छ ?
विगतको कुरा गर्ने हो भने हाम्रो कम्पनीमा महिलाहरूको सहभागिता धेरै थियो । तर, पछिल्लो समय महिला सहभागिता घटेर गएको छ । अहिलेको इकोनोमिक कन्डिसनले पनि होला । पहिले पहिले सेक्युरिटी इण्डष्ट्रीको एउटा मेजर क्लाइन्ट बैंकिङ र वित्तीय संस्था हुने गर्थ्यो । एउटा बैंकको ब्रान्चमा झण्डै तीन चार जना सेक्युरिटी गार्ड हुन्थे, अहिले घटेर एक जनामा सीमित छ । विगतमा झण्डै २५ प्रतिशतसम्म महिला गार्ड हुन्थे भने अहिले घटेर १० प्रतिशतमा झरेको छ ।
पछिल्लो समय सिसी क्यामेराको बढ्दो प्रयोगले गार्डको माग घटेको हो कि ?
इलेक्ट्रोनिक सेक्युरिटी एउटा सब्सिडिरी हो । सिसिटिभीले सपोर्ट मेकानिजम दिने हो । मानिस-मानिसबीच डिलिङका लागि त सेक्युरिटी गार्ड चाहिन्छ तर पनि पछिल्लो समय कस्ट इफिसिएन्सी भनेर सिसिटिभीको विश्वासमा कतिपय बैंकिङ तथा वित्तीय संस्थाहरूले सेक्युरिटी गार्ड घटाएको पनि देखिएको छ ।
सरकारी निकायहरूमा गार्डको माग कस्तो छ ?
सरकारी निकायभन्दा सरकारी, अर्धसरकारी, जस्तो बैंकिङ सेक्टर, टेलिकम सेक्टरमा टेण्डर निस्किराखेको हुन्छ । त्यस्ता निकायहरूमा निजी सेक्युरिटी गार्डहरू प्रयोग भइरहेको अवस्था छ । समग्रमा भन्नुपर्दा सरकारी र निजी संस्थामा लगभग माग उस्तै छ । तर, सरकारी निकायमा टेण्डर प्रक्रियाबाट जानुपर्ने भएकाले निजी क्षेत्रजस्तो सहज भने हुँदैन ।
बैंक तथा वित्तीय संस्थाहरू जस्तै सुनचाँदी व्यवसाय पनि सुरक्षाका हिसाबले निकै संवेदनशील मानिन्छ तर धेरै सुनचाँदी पसलहरूमा सेक्युरिटी गार्ड राखिएको पाइँदैन नि ?
विगतमा सेक्युरिटीको अवस्था कमजोर भएको बेला सुनचाँदी पसलहरूमा सेक्युरिटी गार्ड राखिने गर्थे । अहिले पनि नभएको त होइन तर अहिले सेक्युरिटी गार्डकै रूपमा भन्दा पनि अन्य प्रयोजनका लागि युनिफर्मबिनाका जनशक्ति राख्ने क्रम बढेर गएको देखिन्छ । जस्तै, गार्डलाई सरसफाइ, ड्राइभर, मेसेन्जरका रूपमा पनि प्रयोग हुने गरेको छ । नयाँ- नयाँ आधुनिक सेक्युरिटी प्रविधिका कारण पनि कतिपयले गार्ड कटौती गरेको हुन सक्छ ।
सेक्युरिटी कम्पनीले क्लाइन्टहरूसँग बढी रकम लिने तर सेक्युरिटी गार्डहरूलाई सोहीअनुसार सेवा सुविधा नदिने गरेको गुनासो पनि छ नि ?
सेक्युरिटी कम्पनीले कति लियो, कति दियो भन्दा पनि नेपाल सरकारले श्रम ऐनअनुसार तोकिएको पारिश्रमिक र सेवा सुविधा गार्डहरूले पाउनुपर्यो । त्यो पाइरहेकै अवस्था छ । कम्पनीको व्यवस्थापन, तालिम, युनिफर्म, पेट्रोलिङलगायतका काम पनि गर्नुपर्ने हुन्छ । त्यसका लागि कम्पनीलाई ब्याकअप त चाहियो । ड्युटीमा रहेको गार्ड बिरामी पर्न सक्छ, कुनै समस्या आउन सक्छ । त्यस्तो अवस्था क्लाइन्टलाई सेवा रोक्नुभएन । वर्षभरि तीन सय ६५ दिन नै सेवा दिने भनेर क्लाइन्टसँग सम्झौता भएको हुन्छ ।
पछिल्लो समय धेरै सेक्युरिटी कम्पनी खुलेका छन्, प्रतिस्पर्धा कस्तो छ ?
अस्वस्थ प्रतिस्पर्धा पनि छ । नीतिगत समस्याले पनि अस्वस्थ प्रतिस्पर्धा बढेको हो । अन्य मुलुकहरूमा सेक्युरिटी व्यवसायमा प्राइभेट सेक्युरिटी एक्ट हुन्छ, हाम्रोमा छैन । त्यस्तै सेक्युरिटी कम्पनीहरूलाई सुरक्षा निकायअन्तर्गत राखिनुपर्ने हो तर श्रम मन्त्रालयअन्तर्गत राखिएको छ । श्रम विभागले सेक्युरिटी कम्पनीहरूलाई हेर्ने गरेको अवस्था छ । कम्पनी भूपू सुरक्षाकर्मीको नाममा दर्ता हुनुपर्ने भनिए पनि त्यस्तो देखिएको छैन । नेपालमा कतिवटा सेक्युरिटी कम्पनी चाहिने हो ? त्यो पनि हेरिएको देखिँदैन । त्यसैले अहिले सेक्युरिटी कम्पनीहरूले अन्योलपूर्ण अवस्थामै काम गरिरहेको अवस्था छ ।
अरू समस्या के छन् ?
मुख्य समस्या भनेको नीति अभाव हो । प्राइभेट सेक्युरिटी एक्ट हुनुपर्यो । अर्को कुरा, सेक्युरिटी कम्पनीहरू पनि सामाजिक सुरक्षामा जानुपर्नेछ । हामीलाई श्रम विभागले हरेक वर्ष अडिट गर्छ । कर विभागले पनि गर्छ । त्यो अडिट गरिनु समस्या होइन तर नीतिगत रूपमा स्पष्ट व्यवस्था भइदिए काम गर्न सजिलो हुन्थ्यो भन्ने हो । श्रमअन्तर्गतमा राख्दा सुरक्षाको विशेषज्ञता श्रम विभागले कति बुझेको हुन्छ ? अर्को कुरा, सेक्युरिटी सेवा व्यवसायमा पनि मूल्य अभिवृद्धि कर(भ्याट) लाग्छ । त्यसैगरी सेक्युरिटी गार्ड सरकारी निकायमा आपूर्ति गर्न कम्पनीहरूले टेण्डरमा सहभागी सार्वजनिक खरिद ऐनअनुसार जानुपर्ने हुन्छ तर सार्वजनिक खरिद ऐन निर्माण सम्बन्धित छ । निर्माण सामग्री खरिद र सेवा खरिद त फरक विषय हुन् । त्यसैले सेवा खरिदका लागि छुट्टै सार्वजनिक खरिद ऐन हुनुपर्छ भन्ने हो ।
विदेशमा नेपाली सेक्युरिटी गार्डको माग कस्तो छ ?
सेक्युरिटी गार्डिङ क्षेत्रमा नेपालको पहिचान विश्वमै राम्रो छ । सोही कारण पनि सेक्युरिटी गार्डमा छ महिना, एक वर्ष आफ्नो देशमा काम गर्ने अनि एक्सपिरियन्स सर्टिफिकेट पाएपछि विदेश जानेहरू धेरै छन् । किनभने विदेशमा सेक्युरिटी गार्डले आकर्षण तलब र सेवा सुविधा पाउने गरेका छन् । त्यसैले तालिम लिएर जाँदा अझै बढी सेवा सुविधा पाइन्छ, जसले गर्दा रेमिट्यान्स पनि बढी भित्रिन्छ । रेमिट्यान्स बढी भित्रिँदा देशको अर्थतन्त्रमा टेवा पुग्ने भयो । त्यसैले सरकारले सम्बन्धित क्षेत्रमा तालिम दिएरमात्रै वैदेशिक रोजगारीमा जान पाउने व्यवस्था गर्नु राम्रो हुन्छ ।



बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि