काठमाडौं । नेपालमा गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा भएको दमनसम्बन्धी घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनप्रति अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाले गम्भीर आपत्ति जनाएको छ । महासंघले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त प्रतिवेदनको दफा १४.१० अन्तर्गत ‘पत्रकार तथा सञ्चार जगत’ शीर्षकमा उल्लेख गरिएको एक अंशप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रतिवेदनमा ३२ जना प्रदर्शनकारीहरू बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा फेला परेको भनी प्रचार गरिएको र त्यसमा केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरू संलग्न रहेको उल्लेख गरिएको छ ।
तर, महासंघका अनुसार प्रतिवेदनमा उल्लेख गरिएको नाम र विवरण त्रुटिपूर्ण तथा तथ्यविहीन रहेको दाबी गरिएको छ । विशेषगरी महासंघका महासचिव टंक दाहालको नाम गलत रूपमा प्रयोग गरिएको भन्दै यसप्रति गम्भीर असन्तुष्टि व्यक्त गरिएको छ ।
महासंघले बानेश्वरस्थित संसद भवनमा उक्त दिन ३३ जनालाई बन्धक बनाइएको घटना भने सत्य रहेको र यसको पुष्टि अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले सार्वजनिक गरेको प्रतिवेदनबाट भइसकेको जनाएको छ ।
विज्ञप्तिमा महासचिव टंक दाहालले ‘संसद भवनमा कोही मृत अवस्थामा भेटिएको’ भन्ने आशयको कुनै पनि समाचार, अभिव्यक्ति वा टिप्पणी कहिल्यै नदिएको स्पष्ट पारिएको छ । उहाँले यसअघि नै प्रमाणसहित स्पष्टीकरण दिइसकेको पनि उल्लेख गरिएको छ ।
महासंघले पत्रकारिताको धर्मअनुसार त्यतिबेला सार्वजनिक भएको मृत्युको समाचार र त्यसपछिको अवस्थालाई आधार मानेर राज्यलाई जवाफदेही बनाउन सूचना सम्प्रेषण गरिएको जनाएको छ । तर, ती तथ्यलाई विकृत पार्दै नामसमेत गलत उल्लेख गरी विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारप्रति महासंघले आपत्ति जनाएको छ । साथै, सत्यतथ्यका आधारमा छानबिन गरी दोषी प्रमाणित भए कानुनी कारबाहीमा कुनै आपत्ति नरहेको उल्लेख गर्दै नगरेको कार्यमा आरोप लगाएर व्यक्तिको चरित्रहत्या गर्ने कार्य अस्वीकार्य भएको महासंघले जनाएको छ ।
महासंघले यस्ता गैरजिम्मेवार गतिविधिको घोर भर्त्सना गर्दै सम्बन्धित निकाय र सञ्चार माध्यमलाई जिम्मेवार बन्न आग्रह गरेको छ । साथै, आफ्नो संस्थामा आबद्ध पत्रकारहरूलाई पत्रकारिताको मूल्य, मान्यता र नैतिकताप्रति प्रतिबद्ध राख्ने पनि स्पष्ट पारेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि