चलचित्र कलाकार संघको आगामी नेतृत्वका लागि कलाकार उत्तम केसीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । केसीको उम्मेदवारीलाई संघका पूर्वअध्यक्ष रविन्द्र खड्कालगायत वरिष्ठ कलाकारहरूले समर्थन जनाएका छन् भने नयाँ कलाकारले पनि साथ दिएका छन् । संघको २१औँ साधारणसभा यही चैत २८ गते आयोजना हुने तय भएको छ, जसले १७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । निर्वाचन प्रक्रियाअनुसार मतदाता बन्नका लागि सदस्यहरूले यही चैत १७ गतेभित्र सदस्यता नवीकरण गरिसक्नुपर्नेछ । त्यसअघि निर्वाचन आयोग गठनको तयारी भइरहेको जनाइएको छ । हाल नवीकरण नगरेकासहित करिब २५०० सदस्य संघमा आबद्ध छन् । विसं. २०५५ मा स्थापना भएको संघमा तीनवर्षे कार्यकालको व्यवस्था छ । रंगमञ्चदेखि चलचित्रसम्मको लामो अनुभव बोक्नुभएका केसी टेलिभिजन स्थापनाअघिदेखि नै नाटकमा सक्रिय कलाकार हुनुहुन्छ । बाल्यकालदेखि नै कला क्षेत्रमा सक्रिय उहाँ विद्यालयकालदेखि अभिनयमा लाग्नुभएको थियो । केसीले २०० भन्दा बढी टेलिफिल्ममा अभिनय गरिसक्नुभएको छ भने ‘आदर्श नारी’ चलचित्रमार्फत् फिल्म क्षेत्रमा डेब्यु गर्नुभएको हो । उहाँले ‘पुकार’, ‘मोहनी’, ‘ज्वाला’, ‘जन्मभूमि’, ‘बलराम’, ‘चमत्कार’, ‘चण्डाल’, ‘चक्रव्युह’, ‘नाइँ नभन्नु ल’ शृंखला, ‘होस्टेल’, ‘बुकुरो’, ‘झिंगे दाउ-२’ लगायत २५० भन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । हालसम्म पनि अभिनयलाई निरन्तरता दिइरहनुभएका केसी ‘चुइँचुइँ पारेर’ भन्ने संवाद शैलीका कारण दर्शकमाझ लोकप्रिय हुनुहुन्छ । ‘जीवन चक्र’ नामक टेलिचलचित्रमा ‘उत्तम काका’को भूमिकाबाट उहाँको उक्त पहिचान स्थापित भएको हो । चलचित्र विकास बोर्डका पूर्वसदस्यसमेत रहनुभएका केसी संघको पूर्वकार्यकारी सदस्य हुँदै सहकोषाध्यक्ष र सचिव पदमा निर्वाचित भइसक्नुभएको छ । साथै, नेपाल सरकारको प्रशासनिक क्षेत्रमा समेत उहाँको अनुभव रहेको छ । संघको अध्यक्षमा आफ्नो उम्मेदवारी सामूहिक अपेक्षाको प्रतिबिम्ब रहेको बताउनुहुने उत्तम केसीसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यहाँले चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यो निर्णय किन र कसरी आयो ?
लामो समयदेखि कला क्षेत्रमा सक्रिय रहँदै आएको अनुभव, कलाकारहरूको वर्तमान अवस्था र संघलाई अझ प्रभावकारी बनाउन सकिने सम्भावनाले मलाई यो निर्णय लिन प्रेरित गर्यो । धेरै साथीहरू, अग्रजहरू र सहकर्मी कलाकारहरूको सुझाव र समर्थनपछि म उम्मेदवारी घोषणा गर्ने निष्कर्षमा पुगेको हुँ ।
संघभित्र देखिएका तिक्तता र असमझदारीलाई अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्ने वातावरण सिर्जना गर्ने मेरो प्रतिबद्धता छ । आपसी सम्मान, सहकार्य र एकताको भावना विकास गर्दै ‘एकजुट संघ, सशक्त कलाकार’ भन्ने आधार तयार पार्ने मेरो मुख्य लक्ष्य रहनेछ । समग्रमा संघलाई अझ सशक्त, विश्वसनीय र कलाकारमैत्री संस्थाका रूपमा स्थापित गर्ने मेरो स्पष्ट दृष्टि र कार्ययोजना रहनेछ । तत्कालीन र दीर्घकालीन योजनासहित स्पष्ट मिसन र भिजन छ ।
तपाईंको उम्मेदवारीलाई वरिष्ठ कलाकारहरूबाट पनि समर्थन आएको छ । यसले तपाईंलाई कत्तिको ऊर्जा दिएको छ ?
अवश्य पनि, यो मेरा लागि ठूलो हौसला हो । पूर्वअध्यक्षलगायत वरिष्ठ कलाकारहरूको समर्थनले मेरो जिम्मेवारी अझ बढेको महसुस गराएको छ । नयाँ कलाकारले पनि त्यत्तिकै साथ दिइरहनुभएको छ । यो व्यक्तिगत महत्वाकांक्षामात्र नभएर सामूहिक अपेक्षाको प्रतिबिम्ब हो भन्ने लाग्छ ।
यदि तपाईं अध्यक्षमा निर्वाचित हुनुभयो भने तपाईंका मुख्य प्राथमिकताहरू के हुनेछन् ?
पहिलो प्राथमिकता कलाकारहरूको हक–हितको पूर्ण सुनिश्चितता गर्नु हो । कलाकारहरू सुरक्षित, सम्मानित र आत्मविश्वासी वातावरणमा आफ्नो सिर्जनात्मक यात्रा अघि बढाउन सकून् भन्ने मेरो स्पष्ट प्रतिबद्धता रहनेछ । संघलाई संस्थागत रूपमा अझ पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउने मेरो ठोस योजना छ । निर्णय प्रक्रियामा स्पष्टता, उत्तरदायित्व र सुशासन कायम गर्दै संघलाई उदाहरणीय संस्थाका रूपमा विकास गर्ने लक्ष्य राखेको छु । कलाकारहरूको सामाजिक सुरक्षा मेरो मुख्य एजेण्डामध्ये एक हो । स्वास्थ्य सुविधा, बीमा, आपत्कालीन सहयोग प्रणालीलगायतका विषयलाई सुदृढ गर्दै कुनै पनि संकटको अवस्थामा कलाकारहरूलाई तत्काल सहयोग उपलब्ध हुने व्यवस्था प्राथमिकतामा रहनेछ ।
यसका साथै संघभित्र देखिएका तिक्तता र असमझदारीलाई अन्त्य गर्दै सबैलाई समेटेर अघि बढ्ने वातावरण सिर्जना गर्ने मेरो प्रतिबद्धता छ । आपसी सम्मान, सहकार्य र एकताको भावना विकास गर्दै ‘एकजुट संघ, सशक्त कलाकार’ भन्ने आधार तयार पार्ने मेरो मुख्य लक्ष्य रहनेछ ।
प्रशासनिक चुस्तता र दुरुस्तता कायम राख्दै कामलाई छिटो, प्रभावकारी र नतिजामुखी बनाउनेतर्फ विशेष ध्यान रहनेछ । आधुनिक प्रविधिको प्रयोग गर्दै कलाकारहरूको ‘डिजिटल लगबुक’ प्रणाली विकास गर्नेछौं, जसले सम्पूर्ण कलाकारको अभिलेख व्यवस्थापनलाई व्यवस्थित र सहज बनाउनेछ । पूर्वअध्यक्षहरूले अघि बढाउनुभएका सकारात्मक र प्रभावकारी कार्यक्रमहरूलाई निरन्तरता दिँदै नयाँ, समयसापेक्ष र दिगो योजनाहरू कार्यान्वयनमा ल्याइनेछ । दीर्घकालीन रूपमा संघलाई पूर्ण आत्मनिर्भर बनाउने लक्ष्यसहित विभिन्न आयमूलक कार्यक्रम, साझेदारी र स्रोत व्यवस्थापनका योजना प्राथमिकतामा रहनेछ । समग्रमा संघलाई अझ सशक्त, विश्वसनीय र कलाकारमैत्री संस्थाका रूपमा स्थापित गर्ने मेरो स्पष्ट दृष्टि र कार्ययोजना रहनेछ । तत्कालीन र दीर्घकालीन योजनासहित स्पष्ट मिसन र भिजन छ । मेरो व्यक्तिगत र सामूहिक प्रयासले मात्र यी कार्य सफल हुनेछन् ।
संघमा करिब २५०० सदस्य आबद्ध छन् । यति ठूलो संख्यालाई समेट्दै कसरी काम गर्नुहुन्छ ?
यो चुनौतीपूर्ण भए पनि सम्भव छ । प्रविधिको प्रयोग, नियमित संवाद र क्षेत्रगत प्रतिनिधित्वलाई सुदृढ गरेर सबै सदस्यसँग समन्वय गर्ने योजना छ । सबैलाई सहभागी गराउने वातावरण बनाउनु नै मेरो लक्ष्य हो ।
सदस्यता नवीकरण र निर्वाचन प्रक्रियाबारे तपाईंको धारणा के छ ?
पारदर्शी र व्यवस्थित निर्वाचन प्रक्रिया लोकतन्त्रको आधार हो । सदस्यता नवीकरणलाई सहज र समयमै सम्पन्न गराउने व्यवस्था हुनुपर्छ । साथै, निर्वाचन निष्पक्ष र विश्वसनीय बनाउनेतर्फ विशेष ध्यान दिन आवश्यक छ ।
तपाईंको लामो अभिनय यात्राले नेतृत्वमा कस्तो योगदान पुर्याउनेछ ?
रंगमञ्चदेखि चलचित्रसम्मको मेरो यात्राले कलाकारहरूको वास्तविक अवस्था, चुनौती र आवश्यकतालाई नजिकबाट बुझ्ने अवसर दिएको छ । यही जीवन्त अनुभवलाई संस्थागत सुधार, दीर्घकालीन नीति निर्माण तथा सिर्जनशील वातावरण निर्माणमा रूपान्तरण गर्ने मेरो स्पष्ट उद्देश्य हो ।
चलचित्र विकास बोर्डको पूर्वसदस्यका रूपमा काम गर्दै, संघको पूर्व कार्यकारी सदस्य, सहकोषाध्यक्ष तथा सचिव पदमा निर्वाचित भएर जिम्मेवारी निर्वाह गरेको अनुभवले मलाई संगठन सञ्चालन, नेतृत्व विकास र नीतिगत हस्तक्षेपका क्षेत्रमा अझ परिपक्व बनाएको छ । यसका साथै नेपाल सरकारको प्रशासनिक क्षेत्रमा संलग्न भई हासिल गरेको अनुभवले नीति कार्यान्वयन, सुशासन र संस्थागत सुदृढीकरणबारे व्यावहारिक समझ विकसित गरेको छ । यी सम्पूर्ण अनुभव, प्रतिबद्धता र दृष्टिकोणकै आधारमा साथीहरू, अग्रजहरू र सम्पूर्ण सरोकारवालाहरूको सुझाव, विश्वास र आग्रहलाई सम्मान गर्दै मैले आफ्नो उम्मेदवारी घोषणा गरेको छु । मेरो प्रतिबद्धता केवल पद प्राप्ति नभई सम्पूर्ण कलाकार समुदायको अधिकार, सम्मान र समृद्धिका लागि ठोस र परिणाममुखी काम गर्ने हो ।
अहिलेको नेपाली चलचित्र क्षेत्रमा तपाईंले देख्नुभएको प्रमुख चुनौती के हो ?
बजारको अस्थिरता, कलाकारहरूको पेशागत असुरक्षा र उत्पादन-प्रदर्शनको असन्तुलन प्रमुख चुनौती हुन् । यी समस्याहरू समाधान गर्न संघले सक्रिय भूमिका खेल्नुपर्छ भन्ने मेरो धारणा छ ।
तपाईंको टिममा को-को हुनुहुन्छ ?
हामी अहिले एकदमै चुस्त, सशक्त र सन्तुलित टिम निर्माण गर्ने प्रक्रियामा छौँ । विभिन्न क्षेत्र, अनुभव र क्षमताका व्यक्तिहरूलाई समेट्दै समग्र रूपमा प्रभावकारी र परिणाममुखी टिम तयार पार्ने हाम्रो स्पष्ट लक्ष्य छ । केही दिनभित्रै उक्त टिमको औपचारिक घोषणा गर्ने तयारी भइरहेको छ । हाम्रो प्राथमिकता भनेको सबैको सहभागिता र समावेशितालाई सुनिश्चित गर्दै साझा उद्देश्यतर्फ एकजुट भएर अघि बढ्ने वातावरण निर्माण गर्नु हो । यस टिममार्फत् दीर्घकालीन रूपमा सकारात्मक परिवर्तन ल्याउने, नवीन सोचलाई प्रवर्द्धन गर्ने र उत्कृष्ट नतिजा हासिल गर्ने हाम्रो दृढ प्रतिबद्धता रहेको छ ।
युवा कलाकारहरूका लागि तपाईंको योजना के छ ?
नयाँ पुस्तालाई अवसर, प्रशिक्षण र मार्गदर्शन आवश्यक छ । कार्यशाला, अभिनय प्रशिक्षण र नेटवर्किङ प्लेटफर्ममार्फत् उनीहरूलाई सक्षम बनाउने योजना छ । अनुभवी र नयाँ कलाकारबीच सहकार्यको वातावरण बनाउनु पनि महत्वपूर्ण हुन्छ ।
कहिलेदेखि हुनुहुन्छ कला क्षेत्रमा ?
बाल्यकालदेखि नै कला क्षेत्रमा लागेको हुँ । विद्यालयकालदेखि अभिनय सुरु गरेर रंगमञ्च हुँदै चलचित्रसम्मको यात्रा सहज थिएन । तर, निरन्तर मिहिनेत र समर्पणले मलाई यहाँसम्म ल्याएको हो । यही अनुभवले मलाई अरूका लागि पनि केही गर्न प्रेरित गरेको छ ।
अन्त्यमा ?
म सम्पूर्ण कलाकारमा हार्दिक आग्रह गर्न चाहन्छु, आफ्नो अमूल्य मतको सही र विवेकपूर्ण प्रयोग गर्नुहोस् । तपाईंको एउटा मत केवल अधिकारमात्र होइन, हाम्रो साझा भविष्य निर्माण गर्ने महत्वपूर्ण आधार पनि हो । हामी सबैले एकजुट भएर पारदर्शिता, उत्तरदायित्व र सहकार्यको भावनासहित अघि बढ्न सकेमा, हाम्रो संघलाई अझ मजबुत, सक्षम र प्रभावकारी बनाउन सक्छौं । परिवर्तन हामी सबैको सामूहिक प्रयास, प्रतिबद्धता र विश्वासबाट सम्भव हुन्छ । मलाई पूर्ण विश्वास छ, यहाँहरूको साथ, समर्थन र विश्वासले सकारात्मक, दिगो र उदाहरणीय परिवर्तन ल्याउन सकिन्छ । आउनुहोस्, हामी सबै मिलेर कलाकार संघको उज्ज्वल भविष्यका लागि जिम्मेवार निर्णय गरौं र नयाँ ऊर्जा तथा सोचसहित अगाडि बढौं ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि