काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले नेपाल र विश्वभर फैलिएको नेपाली डायस्पोराबीचको सुदृढ साझेदारी राष्ट्रको दीर्घकालीन समृद्धिका लागि अत्यन्त महत्वपूर्ण हुने जनाएको छ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई बधाई दिँदै एनआरएनए युकेले उक्त जनादेशले देशमा स्थायित्व, पारदर्शिता र समावेशी विकास अघि बढाउने महत्वपूर्ण अवसर प्रदान गरेको उल्लेख गरेको छ । एनआरएनए युकेका अध्यक्ष राजेन्द्र पुडासैनी र महासचिव दिवाकर पाण्डेद्वारा संयुक्त रूपमा जारी वक्तव्यमा नेपालभित्र तथा विश्वभर रहेका नेपालीहरूले जिम्मेवार नेतृत्वमार्फत् राष्ट्रिय एकता, आर्थिक अवसर र सामाजिक प्रगतिको अपेक्षा गरेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नयाँ सरकारसँग विश्वभरका नेपालीहरूको ऊर्जा, सीप र अनुभव उपयोग गर्दै राष्ट्र निर्माणलाई तीव्रता दिने ऐतिहासिक अवसर रहेको छ । विश्वभरका गैरआवासीय नेपालीहरू लगानी, ज्ञान आदानप्रदान, सीप हस्तान्तरण तथा अन्तर्राष्ट्रिय सञ्जालमार्फत् नेपालको विकासमा योगदान गर्न सदैव तयार छन् ।’ विदेशमा बसोबास गर्ने दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूसँगको सम्बन्ध सुदृढ बनाउँदै उनीहरूको भाषा, संस्कृति र पहिचानसँगको सम्बन्ध जोगाइराख्नु दीर्घकालीन राष्ट्रिय विकासका लागि महत्वपूर्ण हुने बताउँदै एनआरएनए युकेले ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावना अझ मजबुत बनाउन नयाँ सरकारले ठोस पहल गर्ने अपेक्षा व्यक्त गरेको छ ।
उसले भारत र चीनजस्ता उदाउँदा शक्तिहरूबीच अवस्थित नेपालले सन्तुलित, स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको छ । सबै अन्तर्राष्ट्रिय साझेदारसँग रचनात्मक सम्बन्ध कायम राख्दै नेपालको सार्वभौमिकता, गरिमा र राष्ट्रिय हितको संरक्षण गर्नुपर्ने वक्तव्यमा उल्लेख छ । वक्तव्यमा वर्तमान जटिल भूराजनीतिक अवस्थाबीच नेपालले आफ्नो परम्परागत तटस्थता, विश्वसनीयता र रणनीतिक सन्तुलन कायम राख्नुपर्ने बताइएको छ । जसले अन्तर्राष्ट्रियस्तरमा नेपालको विश्वसनीयता सुदृढ बनाउने र सबै निर्णयहरू नेपाली जनताको सर्वोत्तम हितमा केन्द्रित हुने सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ । त्यस्तै, अन्य राजनीतिक दलहरूलाई पनि जनताबाट आएको सन्देश आत्मसात् गर्दै आवश्यक सुधार गर्न र नयाँ सरकारसँग रचनात्मक सहकार्य गर्न आग्रह गरिएको छ । लोकतान्त्रिक संस्थाहरू सुदृढ बनाउन र दीर्घकालीन राष्ट्रिय हित प्रवर्द्धन गर्न सबै राजनीतिक शक्तिबीच सहकार्य आवश्यक रहेको औंल्याइएको छ । संयुक्त अधिराज्यमा बसोबास गर्ने नेपाली समुदायतर्फबाट नयाँ सरकारलाई सफल कार्यकालको शुभकामना दिँदै विज्ञप्तिमा नेपालमा दिगो शान्ति, स्थायित्व र समृद्धि स्थापना होस् भन्ने कामना गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि