निस्पट्ट सुनसान एकान्त जहाँ चराको चिर्चिराहट कर्ण विवरमा सुटुक्क पस्दा आउने आनन्दको उभार छ, सिम्सिमे झरीको अनौठो आगमनबाट उत्पन्न सानो तर मिठासले भरिएको सुमधुर साङ्गीतिक लयमा धुरीको मिठासप्राप्त प्राङ्गणको प्यास अपूर्व छ, उदास चेहरामुक्तिको मुक्तिनाथ छ, दर्दनाक दुख्ने घाउहरूका हाहुका सङ्केतसम्म मिल्दैनन्, त्यो स्पन्दित हृद्धड्कनको धवल घामको सायद धेरैले नसुनेको नाम हो लेक । लेक, आफैँमा एउटा सानो स्वर्ग हो जहाँ आनन्दका झर्नाहरूमाथि पहाडका गगनचुम्बी शिखरका सानबाट चुल्ठी परेर झर्छन् जसलाई अञ्जुलीले पिएर तृष्णाका ताता तार चिसिन्छन् । स्निग्ध सुन्दर तारेभिरको तारा ताकेर शिरमाथिका केशराशिलाई कोमल बिछ्यौना बनाउँदै पल्टेर हार्दिक आनन्ददायक आनुभौतिक क्षणको मूल्य शहरको कोलाहलमा पाउनेहरू सायद मान्छे ‘म’सँग त्यति नजिकको नातामा नरहन सक्छन् ।
लेक जहाँ उकालो छ कठोर थोरै भए पनि । ओरालो छ रिँगटादार छोटै भए पनि । हरिया खर्कहरू छन् व्यापक-भैँसी चरनका खर्कहरू, गाईले गोब्य्राउने खर्कहरू, बाछापाडाहरू बुरुक्क उफ्रिने खुलाफाँटका आँटहरू । मान्छे गोठालो बनेर परबाट हेर्छ त्यहाँ । दिमाग चल्दैन दिल खेल्छ । मन घुम्दैन त्यहाँ विवेकको दियालो बल्छ ।
कोलाहलसँग मितेरी गाँसेर रमाउनेहरू भौतिक विलासको चास्नीका प्यासामात्र हुन् । शहरमा बसेर शहर नै बन्नेसँग मेरो त्यतिमात्र परिचय छ जति आकाश र जमिनको, सामन्त र गरिबको । दास र मालिकको, प्रशंसक र निन्दकको । मान्छे सानो प्रशंसा पाए गर्वले नाकका पोरा फैलाउँदै घण्टीभन्दा बढी बज्नेको सङ्ख्या बाजेदेखि खनातिसम्म लामबद्ध बुद्धका पालामा थियो । जनकका पालामा अझ बढ्यो । घण्टीका रालोमा त झन् ठगका जेलरहरू समाजका नायक बनेका छन् । ओठ बन्दका हल्का टिकटकरहरू सत्तासान देशका सामन्त राजा लगभग भेडाहरूले चयन नै गरिसकेका छन् । यो शहरको कहानी हो, देशको मुटु । गाउँको कहानी हो शहरको मुटु भन्नाले गाउँका राजधानीहरू जहाँ शहरको फिरन्ते हावा नै पगरी बनिसकेको हुन्छ ।
लेकाली गोठमा बस्ने र चौरमा चर्ने भेडाहरू यहाँका खाँटी मान्छे बनेका हुन्छन् । लेकका भेडाहरूमा बिनाछलकपटको स्वच्छ प्रतिस्पर्धा विजयी जगुबर साँढ बथानको नायक बन्छ । छलकपट, ढोँग, ठगी, लुटाहा, विदितको चेतनाशून्य भएर अविदितको स्वाङ्भित्र वास्नाको ल्वाङ् चपाउँदै दरबार, सिंहदरबार जलाउन आदेश दिने, बलजफ्ती कलिला बच्चालाई बलीको वेदीमा चढाएर तिनकै रगतको होलीमा रमाउँदै हाँस्ने बेइमानहरू सत्ताका सानमा अभिमानका नायक बन्छन् । एउटा टिकटकर गाइनेले हाँकेको सीमा हेर्न बाँकी छ । को को दण्डित ? को को पक्राउ ? को को पुरस्कृत ? र कस्तो उज्यालोको किरणले सीमा चहकिन्छ ? मान्छेहरू महकिन्छन् ? मान्छेका हातमा गुलाफको फूल पर्छ वा हिजोजस्तै अँगारको दाग ? यो ठाउँको कुरा होइन, कुठाउँको । गाउँको कुरा होइन, शहरको । लेकको कुरा होइन, औले ज्वरग्रस्त बेँसीको जहाँ मान्छेको मनले काम गर्दैन, मस्तिष्कले । मान्छेको विवेकले काम गर्दैन, मनले ।
लेक जहाँ उकालो छ कठोर थोरै भए पनि । ओरालो छ रिँगटादार छोटै भए पनि । हरिया खर्कहरू छन् व्यापक–भैँसी चरनका खर्कहरू, गाईले गोब्य्राउने खर्कहरू, बाछापाडाहरू बुरुक्क उफ्रिने खुलाफाँटका आँटहरू । मान्छे गोठालो बनेर परबाट हेर्छ त्यहाँ । दिमाग चल्दैन दिल खेल्छ । मन घुम्दैन त्यहाँ विवेकको दियालो बल्छ । भेडाहरू कहीँ कतै सल्बलाउन्नन् त्यहाँ । आयु सकिन एकदिन बाँकी भेडाभेडी पनि सँगै छन् । भर्खर जन्मिएर सालनाल मात्र सफा भएका उभिन मात्र पनि थर्थराउँदै काँप्ने विचरा होइन सहज प्रकृतिका वरदान वा क्षणिक यौनखेलका उत्पादित बलेख्राबलेख्रीसँगै छन् ।
उन्मत्त जवानीका माद चढेका किशोरकिशोरी भेडाभेडी अझ रमाएर बथानभित्र बलेख्रा बलेख्रीको चञ्चलताभित्र मुस्कुराउँदै बालापन सम्झेर अनि मृत्युको डिल उभिएका सिँगानेसँगका अथाह ज्ञान खोस्दै परिपक्क बन्दै गरेका पनि सँगै छन् । त्यहाँ कुनै सोच छैन पुस्तान्तणको । भेदविभेद छैन अल्फा जेनजीहरूको । भेडा हुन् लेकाली स्वच्छ हावापानीमा ऋषिमुनिको संस्कार सम्प्रेषित भेडाहरू । तिनलाई न कुनै बच्चाका जुलुस निकालेर आफ्नै सन्तानका रक्त आहालले निर्मित सत्ताको साँचो खोस्ने सोख छ, न कुनै यम अँगालो आबद्ध सिँगानेका वरिपरि जुम्रे पुच्छर बनेर बा, दाजुभाउजू, हाम्रा प्रचण्ड क्रान्तिनायक भन्दै विषादयुक्त स्वरको संपूजक बन्नुछ । जे छ त्यहाँ त्यही छ । जे हुनुपर्छ त्यहाँ त्यही हुन्छ ।
सिँगाने नायकहरू पशुन्यायालयका विवेकमै सुरक्षित छन् । जवानीका जोशहरू उनीहरूकै अनुकरणमा, अनुभवमा, पदचापमा बथान हाँक्छन् । थर्थराउँदै शरीर भर्खर उभिन आतुरलाई सबैले मिलेर ताते टुक्टुकाउन सिकाउँछन् । यो लेक जहाँ छलले काम गर्दैन । कपटले काम गर्दैन । ठगले काम गर्दैन । ओठले काम गर्दैन । टिकटकरले काम गर्दैन । यहाँ दिमाग चल्दैन । मन गल्दैन । मोलाहिजाले खोपी मल्दैन । जहाँ विजयको सान रहन्न । अभिमानको मान रहन्न । जात, वर्ग र वर्णको न्वारान गरिन्न । लेकमा विवेक बुद्ध बन्छ । टिकटकरहरू गिद्ध बन्छन् । त्यहाँ मस्तिष्क चल्दैन दिलले काम गर्छ । दिलमा कतै सीमा हुँदैन । जम्मै डाँडाहरू आवश्यक छन् दिलका लागि, विवेकका लागि, विश्वासका लागि ।
पातालहरू छन् बाक्ला घनाच्छादित पातालहरू जसका नाम विभिन्न छन् तर त्यहाँ एउटै छ-थुम्की पाताल । संसारमा हुने को छैन त्यहाँ । बरू संसारमा नभएका जम्मै पाइन्छन् त्यतातिर । हर्कटा, खर, खरुकी, छहराहरू । अग्ला आटब्य आँक्नै नसकिने गगनस्पर्शी वृक्षहरू, लहरलताकाहरू ठाउँका ठाउँ ठिङ्ग उभिएका छन् ।
अग्ला डाँडाका पाखामा खस्रु झप्केका हुन्छन् झपक्क काँडादार हुन् वा लट्टादार । लैना जसका शरीर शिथिल हुन्छन् प्रसवपीडाले तिनलाई नरम लट्टादार खस्रु अनिवार्य आवश्यकता हो भेडाको पनि बाख्राको पनि । सन्दर्भ अन्तरमा हेर्ने हो भने मान्छेमा पनि । थारा, बाँजा, शरीर तन्दुरुस्त जर्खरिएकाहरू मान्छेका सन्दर्भमा जेन-जीहरू जो काँडेदार खस्रु रुचाउँछन् तिनका लागि ती कसैका अपमानमा छैनन् ।
पातालहरू छन् बाक्ला घनाच्छादित पातालहरू जसका नाम विभिन्न छन् तर त्यहाँ एउटै छ-थुम्की पाताल । संसारमा हुने को छैन त्यहाँ । बरू संसारमा नभएका जम्मै पाइन्छन् त्यतातिर । हर्कटा, खर, खरुकी, छहराहरू । अग्ला आटब्य आँक्नै नसकिने गगनस्पर्शी वृक्षहरू, लहरलताकाहरू ठाउँका ठाउँ ठिङ्ग उभिएका छन् । विनाचाञ्चल्य, विनाहलचल, अविचलित उनीहरू लिऊँका प्रतीक्षामा होइन आफ्ना शरीरमा अर्जित बहुमूल्य वस्तु अर्कालाई दिऊँका प्रतीक्षामा प्रतीक्षारत छन् । मान्छे आएर खुकुरी छप्काउन्, ठिकै छ छप्किरहन्छन् गाईबस्तुकै लागि, भेडाबाख्राकै लागि तानुन्, चुँडुन्, लुछुन् ठिकै छ । देशका चण्डाल चौकडहरूले ठानेका सीमाहरू आउन् छिकै छ ।
पण्डित पुरोहितले छुट्याएका जुनसुकै जात आऊन्- तँ नछो, तँ लिई, छ र त्यहाँ ? अहँ खोजेर पनि पाइन्न । जातजातिको भेद छैन त्यहाँ । धर्मधारकको भेद छैन त्यहाँ । किरात किरातिनी आउन् उही । सेर्पा सेर्पिनी बख्खु किटन उचाल्दै आऊन् उही । बाहुन बाहुनीहरू दौराचोला, तुना फुकाल्दै आऊन् उही । मुसलमान मुसलमान्नीहरू सेता टोपी बुर्का लगाएर सुम्सुम्याउन उही । बुद्ध हातमा माने हल्लाउँदै आऊन् सम्मान छैन बढी उही उत्ति नै । गुरुङ्गुरुङसेनी सेता पुड्के पिँडौला पल्टाउँदै आऊन् सम्मोहनमा बढी छैन, उही, उस्तै, उत्ति नै । हँसिया हथौडा हल्लाएर पुगून् कोही वा विश्वासमा बढी छैन, उही र उत्ति नै ।
चार तारा इतिहास सुनाउँदै आऊन् कोही, अहँ दाजुभाउजूको लचकतामा बढी छैन, उही उस्तै हो । हलो तेर्साएर अनौ समाउँदै वा गाई सजाएर प्रमाङ्गीको नारा लगाएउँदै लामो समयदेखि दास संस्कारको बानी पसारा परेर शिर झुकाऊन् पाउमा, अहँ चम्चाको आशीर्वचन छैन लेकसँग उही उस्तै हो । सोझो कारण अगाडि उभिन्छ-लेक विभाजित हुन्न स्वार्थमा । लेक पराजित बन्दैन मस्तिष्कमा, मनमा । निर्वाध ऊ काम गर्छ दिलले, विवेकले ।
मान्छे, अहिले लेकका भेकबाट डराउँछन् । मान्छे, लेकसँग खेल्न, डुल्न र रहल्लिन छाडेपछि लेक निकै रिसाउनु अस्वाभाविक पनि होइन । यही अस्वभाविक स्वभावलाई पूर्णता दिन लागिपरेको छ लेक अहिले । चाहे नेपाली लेक होस्, चाहे अमेरिकी । चाहे इजरायली लेक होस् चाहे इरानी । चाहे लेबनानी लेक होस् चाहे प्यालेस्तिनी लेक । लेक आफैँमा काँडाहरू हुर्काएर जिङ्ग्रिङ्ग भएको छ । अग्ला रूखहरू पिल्लर बनाएर विस्फारित शाखाहरू सुकेका सिक्राका अङ्गरक्षक बनाएर लेक डरलाग्दो उभिएको छ अहिले ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर