पाल्पा । जिल्लाको तानसेन नगरपालिका र बगनसकाली गाउँपालिकामा ‘ नेपाल परागसेचन परियोजना’ सुरु भएको छ । दिगो कृषि विकास र जैविक विविधता संरक्षणलाई सहयोग पुर्याउने उद्देश्यसहित हर्ड इन्टरनेशनल र लिवर्ड सहित ५ वटा साझेदार संस्थाहरूको सहकार्यमा दुई स्थानीयबाट चार बर्ष (सन २०२६-२०२९) का लागि परियोजना सञ्चालन भएको हो ।
परियोजनाले यी दुई पालिकालाई कार्यक्षेत्र बनाएर अध्ययन तथा अनुसन्धानको थालनी गरेको छ । हर्ड इन्टरनेशनल नेपालले तानसेनमा पालिकास्तरीय प्रारम्भिक समन्वय तथा परिचयात्मक बैठकको आयोजना गरेर परियोजनाका बारेमा जानकारी समेत गराएको छ ।
परियोजनाले यी दुई पालिकामा सुन्तला, तोरी र काक्रो वालीमा परागसेनको अवस्थाको बारेमा पूर्ण रुपमा अनुसन्धान गर्ने छ । परियोजनाले कृषक सचेतना, पराग सेचनका प्राकृतिक जिवाणु बढाउने, विद्यालयका शिक्षक तथा बालबालिका सचेतना, सरकोकारवाल पक्षसँग समय-समयमा पैरवी कार्यक्रमलाई प्राथमिकता दिनेको परियोजना संयोजक एव कृषि अधिकृत केदार नेपालले बताउनुभयो ।
उहाँका अनुसार परियोजनाले परागसेचनसम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै दिगो कृषि अभ्यास प्रवर्द्धन, मौरीपालन विकास, अनुसन्धान क्षमता सुदृढीकरण तथा नीतिगत सुधारमा महत्वपूर्ण योगदान पुर्याउनेछ । कृषि उत्पादन वृद्धि गर्न, कृषि-पर्यावरणीय सन्तुलन कायम राख्न तथा किसानको आम्दानी बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याउनसमेत परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको संयोजक नेपालले बताउनुभयो ।
पछिल्लो समय नेपालमा मौरी, भमरा, पुतली जस्ता प्राकृतिक परागसेचकहरूको संख्यामा तीव्र गिरावट आइरहेको छ । खेतीपातीमा रासायनिक विषादीको अनियन्त्रित प्रयोगले परागसेचन कीराहरू मौरी, भमरा र पुतली जस्ता प्राकृतिक किराहरु मर्दै गएका छन् । वन फँडानी, आगलागी, बाढी पहिरो र अव्यवस्थित सहरीकरणका कारण यस्ता जीवहरूको प्राकृतिक बासस्थान नासिदै गएको छ । जलवायु परिवर्तनका कारण तापक्रममा भएको वृद्धि र वर्षाको अनिश्चित चक्रले परागसेचकहरूको जीवनचक्र र फूल फुल्ने समयबीचको तालमेल विग्रिएकोले पनि परम्परागत परागसेचन प्रक्रियामा अवरोध बढेकोले अध्ययन अनुसन्धानबाट ठोस कुरा पत्ता लगाई नितीगत रुपमा प्राकृतिक परागसेचनलाई सुन्तुलित बनाउन परियोजनाले काम गरेको परियोजना संयोजक नेपालको भनाई छ ।
बाली नालीमा परागसेचनमा कमी आउँदा केवल प्रकृतिलाई मात्र नभई प्रत्यक्ष रूपमा किसान र आमउपभोक्तालाई समेत असर परेको कृषि विज्ञहरू बताउँछन् । परागसेचनको कमीले फलफूल र तरकारीको उत्पादनमा ठूलो गिरावट आएको छ, जसले किसानको आम्दानी घटाएको छ भने खाद्य असुरक्षालाई बढाएको छ । उत्पादन घट्दा बजारमा महँगी बढ्ने र पोषणयुक्त खाद्यान्नको अभाव हुने जोखिम बढेको छ । जसले गर्दा समग्र चक्रिय प्राकृतिक प्रणाली नै कमजोर बनेको छ ।
परियोजनाले पाल्पामा फार्म प्रदर्शनी गर्ने, परागसेचनको वैज्ञानिक अध्ययन गर्ने, जागरण पैदा गर्ने, सरोकारवालमा क्षमता अभिबृद्धि गर्ने, विद्यालयस्तरमा हरित बगैचा निर्माण गर्ने, कृषक तथा कृषि प्राविधिक पाठशाला सञ्चालन गर्ने, सामाजिक सञ्जालमा पराग सेचन पैरवी कार्यक्रम सञ्चालन गर्ने, परागसेचन परेड कार्यक्रम सञ्चालन गर्ने, मौरीको उत्पादन बढाउन कृषक तथा प्राविधिकलाई तालिम, सामाग्री सहयोग, कृषि पर्यटनलाई बढाउन होमस्टे तालीम तथा सहयोग जस्ता कार्यक्रमहरु सञ्चालन गरिने लिवर्डका कार्यक्रम अधिकृत अनुपम उप्रेतीले जानकारी दिनुभयो ।
छलफलमा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजाली, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा बहादुर थापा, कृषि ज्ञान केन्द्रकी प्रमुख अमिता पाण्डे, वडा अध्यक्षहरु राजेश कुमार अर्याल, सागर महर्जन, हेफर इन्टरनेसनलका कार्यक्रम अधिकृत सोभाखर न्यौपाने, हर्ड इन्टरनेशनलका लालबहादुर जिरेल लगायतले परियोजनाले प्राकृतिक उत्पादन वृद्धि गर्दै नागरिकको स्वास्थ्य र आर्थिक अवस्था सुधार्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
जैविक विषादीको प्रयोगसँगै जलवायु परिवर्तनका कारण प्राङ्गारिक उत्पादनको कमी भइरहेको समयमा जैविक विविधताको संरक्षण गर्दै कृषि उत्पादन बढाउन सहयोगका लागि सञ्चालित परियोजनाले किसानको आयस्तरवृद्धिमा वृद्धिसँगै उद्यमशिलता लाग्न सहयोग गर्ने उनीहरुले बताए ।
बिरुवामा हुने प्रजनन प्रक्रिया हो, परागसेचन । किराहरूबाट हुने परागसेचनकै भरमा अधिकांश बालीहरूमा फल र बिउ उत्पादन हुन्छ । पर्यावरणीय सेवाको रूपमा रहेको परागसेचन करिब ७५ प्रतिशत बाली र ८० प्रतिशत जंगली प्रजातिको प्रजननमा आवश्यकता पर्छ । मौरी, भिरमौरी, झिंगा, बारुलालगायतका किराहरूले परागसेचनमा महत्वपूर्ण भूमिका खेल्छन् ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि