कालीकोट । जुम्लाको सदरमुकाम खलङ्गास्थित कालेखोलीको एक होटलमा दलित समुदायमाथि भएको जातीय विभेदको गम्भीर घटना सार्वजनिक भएपछि जिल्लाभर आक्रोश चुलिएको छ ।
गुठिचौर गाउँपालिका-३ की कविता बुढाले सोही वडाका राजबहादुर सुनारमाथि सार्वजनिक स्थलमै अत्यन्तै अपमानजनक र जातीय विभेदकारी शब्द प्रयोग गरी दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाको सर्वत्र आलोचना भइरहेको छ ।
प्राप्त जानकारीअनुसार सुनार तातोपानी खान होटल पुगेका बेला बुढाले उनलाई ‘डुम’ भन्दै होच्याएको र जातीय घृणा फैलाउने अभिव्यक्ति दिएकी थिइन् । सार्वजनिक भएको भिडियोमा उनले गर्वका साथ जातीय विभेदकारी शब्दहरू दोहोर्याएको सुनिन्छ । उनले ‘डुमलाई डुम नै भन्छु’ भन्ने अभिव्यक्तिसहित राज्यको न्याय प्रणालीलाई समेत चुनौती दिने खालका अभिव्यक्ति दिएकी छन् । ‘मलाई जेल हालेर के हुन्छ, मेरा मान्छेले निकालिहाल्छन्’ भन्ने आशयको अभिव्यक्तिले पहुँचको आडमा कानुन मिच्न सकिन्छ भन्ने दम्भ देखाएको भन्दै आलोचना भइरहेको छ ।
यो घटनाले नेपालको संविधानले सुनिश्चित गरेको समानताको अधिकार तथा जातीय भेदभाव तथा छुवाछुत विरुद्धको कानुनमाथि प्रत्यक्ष प्रहार गरेको सरोकारवालाहरूले बताएका छन् । सार्वजनिक स्थलमा यस प्रकारको जातीय विभेद हुनु गम्भीर अपराध भएको भन्दै दोषीमाथि कडा कारबाहीको माग उठेको छ ।
जातीय विभेद गर्नेलाई नेपालमा जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ अनुसार जातका आधारमा कसैलाई गाली गर्ने, अपमान गर्ने, सार्वजनिक स्थलमा भेदभाव गर्ने वा छुवाछुत गर्ने कार्य आपराधिक कसूर मानिन्छ ।
उक्त ऐन अनुसार यस्तो कसूर गर्ने व्यक्तिलाई ३ महिना देखि ३ वर्षसम्म कैद, ५० हजार देखि २ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै पीडितलाई क्षतिपूर्ति समेत दिनुपर्ने कानुनी प्रावधान रहेको छ ।
त्यस्तै नेपालको संविधान ले सबै नागरिकलाई समानताको अधिकार सुनिश्चित गरेको छ र जातीय भेदभाव तथा छुवाछुतलाई दण्डनीय अपराधको रूपमा स्पष्ट रूपमा निषेध गरेको छ ।
दलित अधिकारकर्मी तथा स्थानीयवासीहरूले यो घटना केवल एक व्यक्तिमाथिको दुर्व्यवहार मात्र नभई समग्र दलित समुदायको आत्मसम्मानमा पुगेको चोट भएको बताएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुन अनुसार कडा कारबाही गर्न माग गरेका छन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि