काठमाडौँ । वीर अस्पतालमा आजदेखि महिलाका लागि निःशुल्क क्यान्सर परीक्षण सेवा सुरु गरिएको छ।
काठमाडौँ महानगरपालिकाको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रममा महिलाको स्तन, पाठेघर तथा सर्भाइकल क्यान्सरको परीक्षण सुरु गरिएको हो। यो सेवा आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ।
कार्यक्रमको शुभारम्भ गर्दै महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले क्यान्सर समयमै पहिचान गर्न सके उपचार सहज र कम खर्चिलो हुने बताउनुभयो। उहाँले “समयमै परीक्षण गरिए जीवन बचाउन सकिन्छ” भन्दै नियमित जाँचमा जोड दिनुभयो। सो अवसरमा उहाँले आफ्नै क्यान्सर परीक्षण पनि गराउनुभएको थियो।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति भूपेन्द्रकुमार बस्नेतले क्यान्सर ढिलो पहिचान हुँदा जटिल बन्ने गरेको उल्लेख गर्नुभयो।
अस्पतालका कार्यकारी निर्देशक दिलिप शर्माले महिलाहरूले नियमित रूपमा क्यान्सर परीक्षण गराउनुपर्ने र क्यान्सर लाग्दैमा डराउन नहुने बताउनुभयो।
महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीका अनुसार देशभरका महिलाले यो सेवा लिन सक्नेछन्। क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट रिफर पुर्जी लिएर अस्पतालमा परीक्षण गराउन सकिनेछ।
महिलाको क्यान्सर परीक्षण कार्यक्रमका लागि महानगरपालिकाले अस्पताललाई रु १ करोड ५० लाख उपलब्ध गराएको छ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि