काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को नवौं संस्करणका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । चैत १९ देखि २३ गतेसम्म आयोजना हुने महोत्सव यसपटक ‘विश्वका कथाहरूको उत्सव, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नारासहित ‘फ्युचर फर्वाड’ थिममा सञ्चालन हुनेछ । निफका अध्यक्ष केपी पाठक का अनुसार प्रि-इभेन्ट सम्पन्न भइसकेको छ र मुख्य कार्यक्रम सुरु भइसकेको छ । विदेशी अतिथिहरू नेपाल आउने क्रम पनि सुरु भएको उहाँले जानकारी दिनुभयो ।
महोत्सव उद्घाटनका विशेष अतिथि बलिउडका चर्चित निर्देशक रमेश सिप्पी चैत १८ गते साँझ काठमाडौं आइपुग्नुहुनेछ । उहाँसँगै कलाकार किरण जुनेजा र नेपाली मूलका भारतीय निर्माता नीलकण्ठ रेग्मी पनि सहभागी हुनुहुनेछ । उद्घाटन समारोह चैत १९ गते सिभिल मलमा आयोजना हुनेछ, जहाँ प्रमुख अतिथिका रूपमा सञ्चार सचिव लक्ष्मी कुमारी बस्नेत रहनुहुनेछ ।
महोत्सवको दोस्रो दिन चैत २० गते नेपाल पर्यटन बोर्डमा दिउँसो ३ बजे ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकमा विशेष कार्यक्रम आयोजना गरिनेछ । कार्यक्रममा राजेश हमाल र सिप्पीबीच सिनेमा अनुभव, यात्रासहित भविष्यबारे छलफल हुनेछ ।
यसपटक निफमा युवा फिल्ममेकरलाई लक्षित गरी पाँचदिने एआई फिल्म वर्कसप पनि समावेश गरिएको छ । संयोजक शिव पुरीका अनुसार वर्कसपमा एआई प्रयोगमार्फत फिल्म निर्माण, डिजिटल कन्टेन्ट तथा प्रतिलिपि अधिकारसम्बन्धी कानुनी पक्षबारे प्रशिक्षण दिइनेछ । महोत्सवअन्तर्गत ‘फिचर पिच’ कार्यक्रम पनि राखिएको छ, जसले लेखकहरूलाई निर्मातासँग जोड्ने उद्देश्य राखेको छ ।
यस संस्करणमा ४० देशका ८८ फिल्म प्रतिस्पर्धामा सहभागी हुनेछन् । साथै, छ चिनियाँ र चार रुसी फिल्म विशेष प्रदर्शनका रूपमा प्रस्तुत गरिनेछन् । रसियन हाउसमा ‘रुसियन फिल्म डेज’ आयोजना गरिनेछ भने त्यहाँ प्रदर्शन हुने फिल्महरू निःशुल्क हेर्न पाइनेछ ।
त्यस्तै, ‘सिजाङ प्यानोरमा’अन्तर्गत छ चिनियाँ फिल्म र वृत्तचित्र प्रदर्शन गरिनेछ, जसलाई पर्यटन बोर्ड र छायाँ सेन्टरमा निःशुल्क हेर्न सकिनेछ । प्रतिस्पर्धात्मक फिल्महरू भने सिभिल मल र छायाँ सेन्टरमा सशुल्क प्रदर्शन गरिने जनाइएको छ । महोत्सव अवधिभर दशवटा अन्तर्क्रियात्मक कार्यक्रमसमेत आयोजना गरिनेछ, जहाँ विभिन्न देशका फिल्ममेकरहरूले आफ्ना अनुभव साझा गर्नेछन् ।







सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
कृष्णभीरको पहिरोले हेटौँडा–काठमाडाैं सडकमा सवारीको
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको
५३ हजार बढी ग्यास सिलिन्डर
तरकारीको विषादी परीक्षण बढाइँदै
जेन्जी आन्दोलनमा मकवानपुरका कारागार र