हालका दिनहरूमा साइबर बुलिङका घटनाहरू तीव्र रूपमा वृद्धि हुँदै गइरहेका छन् । सामाजिक सञ्जालहरू अहिले मानिसको जीवनसँग अभिन्न भइसकेका छन् । आजका दिनमा हरेक व्यक्ति आफ्नो अभिव्यक्तिका लागि टिकटक, फेसबुक, मेसेन्जर, भाइबर, ह्वाट्सएप र युट्युबजस्ता प्लेटफर्महरू प्रयोग गरिरहेका छन् । तर, विज्ञान र प्रविधिको विकाससँगै आएको यो वरदान अहिले सदुपयोगमात्र नभई दुरुपयोगको माध्यम पनि बन्दै गएको छ ।
अतीतमा मानिसहरूलाई मोबाइल वा इन्टरनेटको पहुँच थिएन । अति आवश्यक कामका लागि ल्याण्डलाइन फोन प्रयोग गर्नुपर्थ्यो । तर आजको सानो मोबाइल फोनले क्यामरा, टर्च, क्याल्कुलेटर, रेडियो, टेप रेकर्डर, टाइपराइटरजस्ता उपकरणहरूको काम गर्नेमात्र नभई सामाजिक सञ्जाल सञ्चालनको सुविधा पनि दिएको छ । यसले जीवनलाई सहज र छरितो बनाएको छ । युट्युबमार्फत आम्दानी गरेर घर, जग्गा, गाडीसमेत जोडेकाहरू देखिन्छन्, जसले प्रविधिको सदुपयोगको स्पष्ट उदाहरण पेश गर्छ ।
तर, विज्ञानको वरदानलाई दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै गएको छ । सामाजिक सञ्जालमा विभिन्न आपराधिक गतिविधि, विशेषगरी साइबर बुलिङका घटनाहरू प्रशस्त मात्रामा देखिन थालेका छन् । महिला र कमजोर वर्गविरुद्धको मानसिक, भौतिक र सामाजिक आक्रमण सामाजिक सञ्जालमार्फत हुनेगरेको छ । प्रजातान्त्रिक मुलुकमा नागरिकले अभिव्यक्तिको स्वतन्त्रता पाएका छन् भने हाम्रो संविधानले मौलिक हकअन्तर्गत यसलाई सुनिश्चित गरेको छ । तर, यस स्वतन्त्रताको दुरुपयोग गरेर धम्की, चरित्र हत्या, मारपीट, बलात्कारलगायतका खतरनाक कार्यहरू गरिन थालेका छन् ।
पछिल्लो चरणमा नेपालमा राजनीतिक परिवर्तसँगै सामाजिक सञ्जालमा दुरुपयोगका घटना झन् बढी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी दुईतिहाइ निकटको ठूलो दल बन्न पुग्यो । कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टीहरू साना पार्टीमा परिणत भए । बहुमत प्राप्त पार्टीको सरकार बन्नासाथ एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूलाई पक्राउ गरियो । यसको विरुद्धमा सडकमा उत्रिएका एमाले समर्थक कार्यकर्तामा एकजना २० वर्षीय अमिशा पराजुली पनि हुनुहुन्थ्यो । उहाँको सामाजिक सञ्जालमा देखिएको सक्रियता, उहाँका अभिव्यक्ति र विचारलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी गर्न थालियो । यसरी टिप्पणी गर्नेहरूले समाजमा अपाच्य हुने अश्लील शब्दहरू प्रयोग गरेर र अनेकौं डर, धाक, धम्कीका कुराहरू बोलेर उनलाई गालीगलोज गर्ने काम गरिएको छ । जसमा बलात्कार र हत्याका धम्कीहरू पनि छन् । निर्मला पन्त र इनिसा विश्वकर्मा घटनासँग तुलना गरी बलात्कार, हत्या धम्की दिने प्रकारका प्रतिक्रियाहरू सामाजिक सञ्जालमा देखिनु यस समाजको विकृत अवस्था दर्शाउँछ ।
यसैले, प्रविधिको प्रयोगसँगै यसको निगरानी र नियमन अनिवार्य छ । प्रहरी प्रशासनले स्थापित गरेको साइबर ब्युरो यस्ता उजुरीहरूमा छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउँछ । दोषी पाएमा पाँच वर्षसम्म कैद र एक लाख ५० हजारसम्म जरिवाना वा दुबैको व्यवस्था साइबर ऐनले गरेको छ । तर, हालका दिनमा राजनीतिक कारणले केही उजुरीहरूमा तदारुकता नदेखाउने, कानुनको समानता र निष्पक्षतालाई कमजोर बनाउने प्रवृत्ति देखिएको छ । कानुन सबैका लागि समान हुनुपर्छ । अपराधको प्रकृति हेरेर समान ढंगले कारबाही अगाडि बढाउनुपर्छ । होइन भने सामाजिक न्याय र कानुनी राज्यको अवधारणा कमजोर हुनेछ र नागरिकमा न्यायप्रति भरोसा कमजोर पर्न थाल्नेछ ।
साइबर बुलिङ रोक्न केवल प्रविधि वा कानुन पर्याप्त छैन । नागरिकमा सचेतना, सामाजिक जिम्मेवारी र नैतिकताको विकास पनि अपरिहार्य छ । विज्ञानको वरदानलाई समाजको कलंक र अभिशापमा परिणत हुनबाट बचाउन सबै तहका मानिस, प्रशासन र सरकारको संयमित र न्यायपूर्ण कदम आवश्यक छ । साइबर बुलिङ अहिले हाम्रो समाजको ठूलो चुनौती बनिसकेको छ । प्रविधिको विकासले मानिसको जीवन सहज, छरितो र प्रभावकारी बनाएको छ भने सामाजिक सञ्जालले अभिव्यक्तिका लागि नयाँ प्लेटफर्म दिएको छ । तर, यसलाई दुरुपयोग गर्ने प्रवृत्ति बढ्दै जानुले समाजमा असुरक्षा, डर, हिंसा र मानसिक तनावको स्तर उचालिरहेको छ ।
साइबर बुलिङ केवल व्यक्तिगत समस्यामात्र होइन, सामाजिक विकृति र कानुनी चुनौती पनि हो । यसले महिलामाथि हुने मानसिक आक्रमण, धम्की, चरित्र हत्या, बलात्कार र हत्या जस्ता खतरनाक क्रियाकलापलाई सहज बनाएको छ । यसले समाजमा डर र असहमति सिर्जना गर्नमात्र होइन, सामाजिक नैतिकता र समानताको संवेदनशीलता पनि कमजोर बनाइरहेको छ । प्रविधिको दुरुपयोग रोक्न कानुनमात्र पर्याप्त छैन । नागरिकमा सचेतना, नैतिक जिम्मेवारी, सामाजिक उत्तरदायित्व र मानव सम्मानको भावना आवश्यक छ । प्रशासन र सरकारले पनि कानुन लागू गर्दा समानता तथा निष्पक्षता कायम राख्नुपर्छ । यदि राजनीतिक वा अन्य कारणले भेदभावपूर्ण व्यवहार देखा पर्यो भने कानुनी राज्यको सिद्धान्त कमजोर हुन्छ र नागरिकमा न्यायप्रतिको विश्वास घट्छ ।
साइबर बुलिङको प्रभाव कम गर्न समुदाय, विद्यालय, अभिभावक, प्रहरी, सरकार र नागरिक समाजले सम्यमतापूर्वक कदम चाल्न आवश्यक छ । सामाजिक सञ्जालमा हानिकारक सामग्री रोकथाम, शिक्षामुलक अभियान, साइबर सुरक्षा सचेतना र मानसिक स्वास्थ्यमा सहयोग जस्ता उपाय अपनाउन जरुरी छन् ।
अन्ततः, विज्ञान र प्रविधिले प्रदान गरेको सामाजिक सञ्जालको वरदानलाई अभिशापमा परिवर्तन हुनबाट रोक्नु हाम्रो सबैको साझा जिम्मेवारी हो । यदि हामी सचेत, जिम्मेवार र संवेदनशील बन्यौं भने प्रविधि मानव जीवन सुधार्ने माध्यम बन्न सक्छ, यदि बेवास्ता गर्यौं भने यो समाजमा भय, हिंसा र असमानता फैलाउने उपकरण बन्न सक्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि