भाषाको रूप विकसित नहुन्जेल विचार विनिमय प्रणाली कस्तो थियो होला ? भाषा बेगर जीवन कसरी चल्थ्यो होला ? एउटा अनुमान के छ भने अहिलेको जस्तो बुझ्न सकिने शब्दहरू र तिनीहरूको अर्थपूर्ण संयोजन भएको कुनै व्यवस्थित भाषा त्यसबेला थिएन । गुफाका भित्ताहरूमा चित्रलिपिहरू आविष्कार गर्ने व्यक्ति सम्भवतः विचार विनिमयका संकेतहरू प्रयोग गर्ने पहिलो व्यक्ति थिए । सभ्यता अगाडि बढ्दै जाँदा भाषाका व्यवस्थित रूपहरू विकसित हुँदै गए । विभिन्न समुदायका मानिसहरूले मौखिक सञ्चारमा शब्दहरू बनाउन ध्वनिहरू प्रयोग गर्न थाले र धेरैपछि तिनीहरूले लिखित सञ्चारका लागि लिपिहरू आविष्कार गरे । त्यसपछि विभिन्न भाषिक समुदायहरूले प्रभावकारी सञ्चारका लागि आफ्नो विशिष्ट भाषाहरू प्रयोग गर्न थाले ।
प्राकृतिक वस्तुसँग मिल्दाजुल्दा संकेतबाहेक धेरैजसो सांकेतिक सञ्चारका सूचक शक्तिशाली मानिसका समूहद्वारा सिर्जना गरिएका सामाजिक-सांस्कृतिक चलन वा राजनीतिक विचारधारात्मक संरचना हुन् जसले शक्तिहीन मानिसलाई ती कुरा स्वयं-स्पष्ट सत्य हुन् भनेर विश्वास दिलाउँछन् । ती सामाजिक सूचक बाहिरी रूपमात्र हुन् जसको अन्तर्यमा छुट्टै अर्थ हुन्छ ।
भाषा नै भाषिक समुदायका मानिसबीच सञ्चारको सबैभन्दा सजिलो माध्यम हो । तथापि यसले सञ्चारका सबै रूपहरूलाई समेट्न सक्दैन । अन्तरव्यक्तिगत सञ्चारका अन्य रूपहरू पनि छन् । इशारा, शारीरिक भाषा, प्राकृतिक वस्तु, र सांस्कृतिक कलाकृति जस्ता केही सञ्चारका रूपहरूले सञ्चारको दायरा अझै फराकिलो बनाउँछन् । भाषिक चिह्नलाई अवधारणा र ध्वनि छविको संयोजनको रूपमा परिभाषित गर्ने फर्डिनान्ड डी ससुर (१८५७-१९१३)बाहेक, चार्ल्स स्यान्डर्स पियर्स (१८३९-१९१४), रोलाँ बार्थ (१९१५-१९८०), र उम्बर्टो इको (१९३२-२०१६) जस्ता अन्य प्रमुख संकेत विज्ञानका ज्ञाताहरूले संकेत र अर्थबीचको सूक्ष्म अध्ययन गर्दै भाषा, साहित्य, संस्कृति र राजनीतिको सन्दर्भमा पनि लागु गरे ।
उनीहरूले सामाजिक जीवनका विविध क्षेत्रहरूमा संकेत विज्ञानका सिद्धान्त लागू गरेर सञ्चारको अर्थ खुट्याउने सवालमा महत्वपूर्ण योगदान पुर्याए । ती विद्वानहरूको विचारमा गैरशाब्दिक सञ्चारका अन्य रूपहरू पनि शाब्दिक सञ्चार जत्तिकै महत्वपूर्ण थिए । उनीहरूले संकेत विज्ञान भनेको संकेत र प्रतीकहरूको अध्ययन हो भनेर व्याख्या गर्दै तिनीहरूले सञ्चारको स्थापित प्रणालीभित्र कसरी अर्थ सिर्जना गर्छन् भन्ने सिद्धान्त प्रतिपादन गरे । संकेत विद्वानका यी विद्वानहरूको कुरा बुझ्न अलि गाह्रो भए पनि यसलाई जीवनका सामान्य क्रियाकलापमा लागू गर्न सकिन्छ । जस्तै ट्राफिक लाइटहरूको सवालमा रातोको अर्थ ‘रोक्नुहोस्’ र हरियोको अर्थ ‘जानुहोस्’ भन्ने हुन्छ ।
प्राकृतिक वस्तुहरूसँग मिल्दाजुल्दा संकेतबाहेक धेरैजसो सांकेतिक सञ्चारका सूचकहरू शक्तिशाली मानिसका समूहद्वारा सिर्जना गरिएका सामाजिक–सांस्कृतिक चलन वा राजनीतिक विचारधारात्मक संरचनाहरू हुन् जसले शक्तिहीन मानिसहरूलाई ती कुरा स्वयं-स्पष्ट सत्य हुन् भनेर विश्वास दिलाउँछन् । ती सामाजिक सूचकहरू बाहिरी रूपमात्र हुन् जसको अन्तर्यमा छुट्टै अर्थ हुन्छ जुन सामान्य मानिसले सजिलैसँग बुझ्न सक्दैनन्, किनभने विशेष ज्ञानबिना असमान शक्ति सम्बन्धहरूले निर्माण गरेको अर्थ रूपमा प्रकट भएको हुँदैन ।
यस्तो अप्रकट अर्थ स्पष्ट पार्न गैरभाषिक संकेतहरूमार्फत असमान शक्ति सम्बन्धका धेरै उदाहरण प्रस्तुत गर्न सकिन्छ । विविध सामाजिक समूहहरूमा जाति, वर्ग, उमेर, लिंगका आधारमा शक्तिशाली समूहले शक्तिहीन समूहलाई होच्याउने काम गरिरहेका हुन्छन् । उमेर र लिंग जस्ता केही सामाजिक समूहहरूमा महत्वपूर्ण शक्ति समावेश हुँदैन किनकि तिनीहरू कम राजनीतिक चरित्रका हुन्छन् । फेरि पारिवारिक सम्बन्ध भएकाले असमान भए पनि एउटा परिवारभित्रको कुरा त्यत्ति धेरै अस्वीकार्य हुँदैन । तर जाति, वर्गजस्ता अन्य सामाजिक समूहहरूमा बढी राजनीतिक शक्ति समावेश हुन्छ, त्यसैले अप्रत्यक्ष रूपमा भए पनि तिनले असमान शक्ति सम्बन्ध स्थापित गर्छन् ।
अरू शक्ति सम्बन्धहरूमध्ये वरिष्ठ-कनिष्ठ उमेरका समूहबीचको शक्ति सम्बन्ध अप्रिय हुँदैन । युवाहरूले खुशीसाथ आफ्ना वरिष्टहरू, जस्तै आमाबाबु, हजुरबा हजुरआमा र समान उमेर समूहका अन्य वरिष्ठ व्यक्तिहरूलाई अभिवादन गर्न एक गैर-भाषिक चिह्नका रूपमा आफ्नो शीर झुकाउँछन् । नारीवादी आलोचनाको बाबजुद महिलाहरूले आफ्ना पतिहरूलाई अन्य प्रकारका संकेतहरूमा पनि सम्मान देखाउँछन् । उनीहरू सहजै सोच्छन् कि पति चाहिँ पत्नीभन्दा वरिष्ठ छन् किनभने समकालीन नेपाली समाजलगायत धेरैजसो अन्य संस्कृतिमा पत्नीहरू सामान्यतया आफ्ना पतिहरूभन्दा घटी उमेरका हुन्छन् ।
तर, अन्य सामाजिक समूहहरूमा शक्तिको फरक-फरक तह हुन्छ जुन विशिष्ट संकेत र प्रतीकहरूमा प्रतिबिम्बित हुन्छ । ती समूह असमान शक्ति जनाउने सांकेतिक भाषाका माध्यमबाट कमजोर समूहमाथि नियन्त्रण कायम गर्छन् । उदाहरणका लागि, उच्च पदका कर्मचारीले कनिष्ट पदका कर्मचारीबाट बढी सम्मानको अपेक्षा गर्छन्, जुन केवल भाषिक संकेतहरूमा मात्र प्रतिबिम्बित हुँदैन तर संकेतका अन्य रूपमा प्रकट हुन्छ । वरिष्ठ पदका व्यक्तिको उपस्थितिमा आफ्नो टाउको निहुराउनु वा उनीहरूको अचानक उपस्थितिमा आफ्नो सिटबाट जुरुक्क उठ्नु वा प्रचलित अभिवादनका अन्य रूप प्रकट गर्नु यसका केही उदाहारण हुन् ।
नेपाली समाजमा, तथाकथित दलित समूहहरूलाई खाना खाँदा उच्च जातका मानिससँगै बस्न सामाजिक अनुमति छैन । रूढिवादी ब्राह्मण भोजनको समयमा आफ्नो कम्मरमा अप्रकट मूल्य र मान्यता अंकित धोती भनेर चिनिने विशेष पोशाक लगाउन चाहन्छन् । धोती र यो पोशाक बनेको कपासको प्रकारसँग कुनै प्रत्यक्ष प्राकृतिक सम्बन्ध छैन तर यसमा जोडिएको उच्च जात जनाउने अमूर्त मूल्य र मान्यताले असमान शक्ति सम्बन्धलाई संकेत गर्दछ । युरो-अमेरिकी समाजमा, अफ्रिकी निग्रो जातिका मानिसहरूलाई तिनको रंगको कारणले गोरा युरोपेली–अमेरिकीभन्दा न्यून दर्जाको मानिन्छ ।
यस्तो मान्यता तिनका अन्तर्निहित मूल्यको हिसाबले होइन तर सतही कस्मेटिक दृष्टिकोणको हिसाबले उच्च–नीच विभाजनलाई संकेत गर्ने अर्को मूल्य सूचक हो तर फेरि आश्चर्यजनक रूपमा फ्रान्सेली झण्डालाई सलाम गर्ने कालो मानिसको छविले फ्रान्समा राष्ट्रिय एकताको संकेत गरेको हुन्छ । गोरा र कालाबीचको असमान शक्ति सम्बन्धको बाबजुद राष्ट्रिय एकता जनाउन काला जातिका मानिसले सलाम गर्ने छविलाई झट्ट हेर्दा समान देखिने तर अन्तर्यमा असमान सम्बन्ध जनाउने मूल्य सूचकको रूपमा मानिन्छ ।
स्वतन्त्र र सार्वभौम राष्ट्रहरूबीचको सम्बन्ध पारस्परिक सम्मानको आधारमा हुनुपर्नेमा शक्तिशाली राष्ट्रका नेता, प्रतिनिधिलाई कम शक्तिशाली राष्ट्रका नेता वा प्रतिनिधिले देखाउने अस्वाभाविक शिष्टाचारले असमान शक्ति सम्बन्धकै उजागार गर्दछ । कूटनीतिक सम्बन्धका अन्य असमान सूचकले सार्वभौमिकताको समान मूल्यको बाबजुद असमान राज्य सम्बन्धलाई देखाउँछन् ।
माथिल्लो र तल्लो वर्गका मानिसबीचको शक्तिसम्बन्धलाई विशिष्ठ संकेतमार्फत संकेत गरिन्छ । जस्तै बस्न बासस्थान, यात्राका लागि सवारीसाधन, खानका लागि भोजन, लगाउन पोशाक, आफ्ना बच्चा खेल्न पुतली र अन्य धेरै गैरभाषिक संकेत केही उदाहरण हुन् । वस्तुका विभिन्न रूपसँग जोडिएका यस्ता मूल्यले ती समूहबीचको असमान शक्ति सम्बन्धलाई संकेत गर्दछन्, जसले न्यूनस्तर समूहका मानिसलाई गैरमानव जस्तो देखाउँछन् । अन्य वर्गका गैरभाषिक संकेतहरू शहरी र ग्रामीण जस्ता विभिन्न क्षेत्रका मानिसमा देख्न सकिन्छ । जहाँ शहरीयालाई सभ्य, सुसंस्कृत, शिक्षित र ज्ञानी मानिन्छ भने गाउँलेलाई पोशाक, सरसफाइ र अन्य पक्ष जस्ता गैरभाषिक संकेतहरूको सन्दर्भमा बर्बर, फिलिस्टाइन, अशिक्षित र अज्ञानी मानिन्छ ।
माथि लेखिएका विभिन्न प्रकारका संकेत सूचकहरूमध्ये राजनीतिक सूचक सबैभन्दा शक्तिशाली हुन्छ । किनकि यसमा राज्यको संयन्त्र पनि समावेश हुन्छ । यस्ता राजनीतिक सूचकमा दलका नेताहरूमा निहित स्वभावगत चालचलन, एकले अर्कालाई गर्ने अभिवादनका रूप, आवतजावतमा प्रयोग गरिने सवारीसाधन, बसोवासका स्थान र तरिका, सरकारी कामकाजमा गरिने व्यवहार, औपचारिक सार्वजनिक समारोह, श्रद्धाञ्जलि र समवेदना प्रकट गर्दा देखाइने भावभंगी, शिष्टाचार भेटघाट, चियापानलगायत दर्जनौं अन्य संकेत सूचक पर्दछन् । उदाहरणका लागि देशका राष्ट्रपति, प्रधानमन्त्री वा अन्य संवैधानिक व्यक्तिको शपथ ग्रहण समारोहमा सम्पन्न गरिने विशेष खाले क्रियाकलाप एउटा महत्वपूर्ण राजनीतिक संकेत सूचक हुनसक्छ । जसले कुनै सामाजिक समूहको प्राध्यान्यलाई संकेत गर्दछ ।
सतहमा हेर्दा यस्तो घटना सामान्य जस्तो देखिए पनि अन्तर्यमा यसले खास समुदायका अनुयायीहरूको संस्कृतिबाहेक अन्य समूहको उपेक्षा गरेको जस्तो देखाउँछ । व्यक्तिगत वा परिवारगत तहमा हुने यस्ता घटनाले समाजमा त्यत्ति धेरै फरक पार्दैन तर राज्यस्तरमै यस्ता काम गरिन्छ भने त्यसले शब्दमा अप्रकट भएर सार्वजनिक रूपमै असमान शक्ति सम्बन्धको सूचकको काम गर्दछ ।
विदेश सम्बन्धको हकमा पनि सोही कुरा लागू हुन्छ । स्वतन्त्र र सार्वभौम राष्ट्रबीचको सम्बन्ध पारस्परिक सम्मानको आधारमा हुनुपर्नेमा शक्तिशाली राष्ट्रका नेता वा प्रतिनिधिलाई कम शक्तिशाली राष्ट्रका नेता वा प्रतिनिधिले देखाउने अस्वाभाविक शिष्टाचारले पनि असमान शक्ति सम्बन्धकै उजागार गर्दछ । कूटनीतिक सम्बन्धका अन्य असमान सूचकहरूले सार्वभौमिकताको समान मूल्यको बाबजुद असमान राज्य सम्बन्धलाई देखाउँछन् । उल्लिखित सबै गैरभाषिक संकेतहरू एउटै पृथ्वीमा बस्ने विभिन्न सामाजिक समूहका मानिसबीचको सम्बन्ध तथा सार्वभौम राज्यबीचको असमान शक्ति सम्बन्धलाई देखाउने सूचक हुन् । यस्ताखाले अप्रकट शक्ति सम्बन्धले पनि राजनीतिक, सामाजिक र सांस्कृतिक तहमा महत्वपूर्ण प्रभाव पारेको हुन्छ । यस्ता सूचक शब्दमा अव्यक्त भए पनि यिनको अप्रकट अर्थ महत्वपूर्ण हुन्छ । जसलाई हामीले गहिराइबाट उधिनेर निकाल्न सकेकोखण्डमा मात्र बुझ्न सकिन्छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर