ज्योतिष अध्यात्मसँग सम्बन्धित आकाशीय ग्रहनक्षत्रको अध्ययन गरी चराचर जगत्को फलादेश गर्ने शास्त्र हो । हामीलाई चाहिएको स्थान, समय अनुसार सर्वप्रथम गणना गरिन्छ । यसरी गणना गरिएका ग्रहका आधारमा समयको निर्धारण हुन्छ । उक्त समयमा ग्रह कुन स्थानमा छन् सोही आधारमा फलादेश गर्ने शास्त्रीय व्यवस्था रहेको छ । जन्म समयका आधारमा चिना कुण्डली बनाएर फलादेश गरिने ज्योतिषको जातक खण्ड हो । यसैगरी संहिता खण्डमा जातक इतर विषयवस्तुको फलादेश हुने गर्दछ । मूलतः सिद्धान्तका आधारमा गणना हुन्छ र सोही गणनाका आधारमा फलादेश हुने गर्दछ ।
यसरी फलदेश गर्दै गर्दा आकाशीय पिण्डको किरण र तज्जन्य विषयवस्तुको अध्ययन ज्योतिषशास्त्रमा गरिँदैन । मूलतः ग्रहको तत्व र सोही तत्त्वका आधारमा व्यक्तिमा पर्ने प्रभावका बारेमा फलदेश हुने गर्दछ । कतिपयले नकारात्मक र सकारात्मक किरणको पनि चर्चा गरेको पाइन्छ । मूलतः ती किरणभन्दा पनि सूक्ष्म विषयको गहनतम् अध्ययन ज्योतिषका शास्त्रमा परिकल्पना गरिएको छ । मूलतः स्वयं व्यक्तिभित्रका ग्रहीय तत्वको विवेचना गरी फलादेशको व्यवस्था गरिएको छ ।
सबै कुरा विज्ञानको कसीमा भन्दा पनि अध्यात्मविज्ञानको कसीमा राखेर हेर्नुपर्ने हुन्छ । आजको विज्ञानको अनुसन्धान छुट्टै उद्देश्यका लागि हुन्छ भने हाम्रो पौरस्त्य गणनाको उद्देश्य भिन्न छ । सामान्यतः हाम्रो दृष्टि आजको विज्ञानले गरेका सबै ठीक र हाम्रा वैदिक पद्धतिबाट भए गरेका सबै गलत भन्ने भाष्य दिनानुदिन निर्माण भइरहेको छ ।
फलादेशका निम्ति ग्रहको स्थितिलाई अपरिहार्य मानिएको छ । शनि पृथ्वीबाट लगभग १६५ करोड किमि टाढा छन् । तर तिनै शनिको प्रभाव व्यक्तिमा अधिक रहन्छ । गोचरमा पनि शनिको अशुभ फल बताइएको छ । साढेसाती, अढैया पनि शनिकै हुन्छन् । यसैले सबैभन्दा टाढाको ग्रह किन सबैभन्दा अशुभ रहे भन्ने विचार गर्दा आजको भौतिक नियमा यो घटित हुन सक्दैन ।
शनि हामीभित्रै रहने वायु तत्व हो भन्नु र यसका मात्रात्मक अवस्थितिलाई सन्तुलनमा राख्नु यसको उत्तम उपाय हो । जसका निम्ति नै ग्रहका जप, ध्यान, पाठ, उपासना आदि व्यवस्था शास्त्रमा गरिएको हो । आजको विज्ञानकै कुरा गर्ने हो भने शनिको जप गरेर कसरी किरण आउने र छेकिने हुनसक्छ ? दान गरेर कसरी शनि शान्ति हुन्छ ? यी सबै आध्यात्मिक विषय हुन् । भौतिक विषयले यसको उत्तर दिन सक्दैनन् । सोही तत्वलाई जनाउन जातकको शरीर अनुसार र राशि एवं नक्षत्रको व्यवस्था गरिएको हो । जप, दान, ध्यान, उपासना आदि आध्यात्मिक विषयको व्यवस्था गरिएको हो ।
सबै कुरा विज्ञानको कसीमा भन्दा पनि अध्यात्मविज्ञानको कसीमा राखेर हेर्नुपर्ने हुन्छ । आजको विज्ञानको अनुसन्धान छुट्टै उद्देश्यका लागि हुन्छ भने हाम्रो पौरस्त्य गणनाको उद्देश्य भिन्न छ । सामान्यतः हाम्रो दृष्टि आजको विज्ञानले गरेका सबै ठीक र हाम्रा वैदिक पद्धतिबाट भए गरेका सबै गलत भन्ने भाष्य दिनानुदिन निर्माण भइरहेको छ । पौरस्त्य वाङ्मयको उद्देश्य आध्यात्मिक विषयको साधन वा परार्थका निम्ति हो । आजको विज्ञानले भौतिक विषयको मात्र साधना गर्दछ । यहीबीचमा अन्तर रहन्छ । जस्तो कि किरण बक्री भएर आएको सूर्यलाई उदाएको भनी आजको विज्ञानले मान्ने गर्दछ । तर हाम्रा निम्ति बिम्बको आधा भाग उदाएपछि मात्र सूर्योदय हुन्छ र सोही समय अर्ध दिनका निम्मि उत्तम समय हो । तेर्सिएर आएका सूर्यका किरणलाई होइन सूर्यको बिम्बको आधाभाग क्षितिजभन्दा माथि आएपछि सूर्योदय हुन्छ ।
ज्योतिषको परिगणना वेदोक्त कर्मका निम्ति उचितकाल साधनका लागि गरिन्छ । वेदको अङ्गका रूपमा नै ज्योतिषको अस्तित्व विद्यमान छ । भौतिक वस्तु साधनभन्दा पनि यज्ञद्वारा आध्यात्मिक विषयवस्तुको साधनाका निम्ति यस्ता व्यवस्था भएका छन् । आजको विज्ञानले आकाशको ध्रुवलाई आधार मानेर हिसाब गर्दछ । पृथ्वीको गर्भकेन्द्रलाई आधार मानेर हिसा गर्दछ । हाम्रा परिगणना मेरु र मेरुकेन्द्रमा आधारित रही सम्पादन हुने गर्दछन् । भूमध्य र मेरुकेन्द्रमा किञ्चित् अन्तर रहन्छ । सामान्यतः एउटै जस्तो देखिन आए पनि सूक्ष्मरूपमा आध्यात्मिक र भौतिक गणना भिन्न छन् । यसैले वैदिक गणितको महिमा यसरी उल्लेख गरिएको छ :
‘वेदास्तावद्यज्ञकर्मप्रवृत्ता यज्ञाः प्रोक्तास्ते तु कालाश्रयेण ।
शास्त्रादस्मात् कालबोधो यतः स्याद्वेदाङ्गत्वं ज्यौतिषस्योक्तमस्मात् ।।’ (सिद्धान्तशिरोमणि, कालामानाध्या, श्लो ९)
यसरी ज्योतिष वैदिक यज्ञकर्म सम्पादनका निम्ति उचित समय निर्धारण गर्ने शास्त्र हो । भौतिक भन्दापनि आध्यात्मिक विषय यहाँ विशेष उल्लेख गरिएको छ । यज्ञकर्म अध्यात्मिक विषय साधनाका नै उपाय हुन् । यसैले मेरुर मेरुकेन्द्रबाट गणना गर्ने पद्धति हाम्रा सिद्धान्तमा व्यक्त गरिएको छ :
‘मेरोरुभयतो मध्ये ध्रुवतारे नभः स्थिते ।
निरक्षदेशसंस्थानामुभये क्षितिजाश्रये ।
अतो नाक्षोच्छ्रयस्तासु ध्रुवयोः क्षितिजस्थयोः ।
नवतिर्लम्बकांशास्तु मेरावक्षांशकस्तथा ।।’ (सूर्यसिद्धान्त, भूगोलाध्यायः, श्लो.४३–४४)
यसरी मेरु, ध्रुवको र निरक्षदेशको बारेमा सिद्धान्तग्रन्थमा प्रष्ट व्यवस्था गरिएको छ । यसका साथै ज्योतिष पनि अध्यात्म साधनाका निम्ति नै हो भनेर पनि सूर्यसिद्धान्तमा बताइएको छ । वेदाङ्का रूपमा ज्योतिष भएपछि यज्ञसम्पादनका निम्ति नै यसको उपयोग हुने कुरा निश्चित छ । आजको आधुनिक गणनाले अध्यात्मिक विषयवस्तुको साधनालाई वास्ता गर्दैनन् । भौतिक वस्तुको साधना नै मुख्य रहन्छ । यसैले गर्दा सूक्ष्मरूपमा केही अन्तर देखिन्छ । आजको विज्ञान ग्रह र तत् किरणजन्य प्रभावको, गुरुत्वाकर्षणजन्य प्रभावका बारेमै अध्ययन गर्न केन्द्रित छ । तर ज्योतिषशास्त्रले त्यो कुरालाई वास्ता गर्दैन । अध्यात्मसाधनाका निम्त उपयुक्त समयको खोज गर्ने गर्दछ ।
गुरु शुक्र उदयास्तको कुनै प्रभाव भौतिक विज्ञानले गर्दैन । तर अध्यात्मसाधनाका निम्ति निश्चित कालांशभित्र तत् विषयको साधना गरिँदैन । बाल्य, वृद्धत्वको विचार गरिन्छ । ज्योतिषीय परिगणनामा अयनांशको विशेष महत्व रहन्छ तर आधुनिक विज्ञानले अयनांशलाई चिन्दैन । सबै गणना सायन नै हुन्छन् । जसबाट हाम्रो इतिहास, स्थिर बिन्दुबाट हुने चाल आदिको अध्ययन गर्न सकिँदैन ।
यसैगरी आजको भौतिक ज्योतिष सिमुलेन पद्धतिबाट तय गरिन्छ भने पौरस्त्य ज्योतिष क्याल्कुलेसन विधिबाट गरिन्छ । पूर्वकल्पना गरी तय गर्ने पद्धति सिमुलेसन हो भने पूर्ण गणित नै गर्ने विधि क्यालकुलेसन हो । आजका ग्रह गणनाको आधार केवल पूर्ववर्षका वेध गरी आगामी वर्षको सिमुलेसन गर्ने वा अनुमान लगाउने पद्धति हो । तर ज्योतिष गणनात्मक पद्धति नै हो । यसका मानक निर्धारण छन् । कल्प भगणको व्यवथा छ । कल्प मन्दोच्च, पात, परिधि आदिको व्यवस्था व्यवस्थिति गरिएको छ । सिधै अर्बौं वर्षको गणना गर्ने सूत्र पद्धति र गणना विद्यमान छन् तर आजको आधुनिक गणनामा यी व्यवस्था छैनन् ।
आधुनिक गणनाबाट ज्योतिषीय फलदेश हुँदैन । प्राचीन गणनापद्धति, ज्योतिषशास्त्रीय ग्रन्थ, धर्मशास्त्रीय व्यवस्था नै हाम्रा मानक आधार हुन पुग्छन् । आधुनिक पद्धतिमा अझ भनौँ आजको विज्ञानले त केवल सायनलाई मात्र उतार्छ, तिथि नक्षत्र योग वार करणको कुनै मान्यता दिँदैन । त्यसलाई जबजस्ती तिथि बनाएर नक्षत्र बनाएर आधुनिक बन्ने प्रवृत्ति बढ्दो देखिन्छ ।
पाँच दश हजार वर्षको गणना पनि मुस्किलले प्राप्त हुन्छ तर ज्योतिषमा चार अर्ब बत्तीस करोड वर्षको प्रत्यक्ष गणना विद्यमान छ । तत् समयका ग्रह हामी सहजतः निकाल्न सक्दछौं तर आजको भौतिक विज्ञानले ती गणना गर्न सक्दैन । केवल अनुमानमा मात्र हिँड्न सक्छ । यसैले कल्पको सङ्कल्पसँग सम्बन्ध विद्यमान छ । सङ्कल्प अध्यात्मसाधनका निम्ति उच्चारण गरिन्छ । ज्योतिष अध्यात्मसँग सम्बन्धित विषय हो । र पूर्णतः सिद्धान्त र गणनामा आधारित छ । यो वेदोक्त मूल विषयवस्तु सहायकका रूपमा संरचित छ अनि आध्यात्मिक विषयवस्तुको साधनामा केन्द्रित छ । भौतिक विज्ञानले यी कुरामा वास्ता गर्दैनन् ।
ज्योतिष फलदेश पनि यही अध्यत्मिको कसीबाटै संरचित छ । कतिपय विद्वान् आधुनिक गणना गर्ने अनि फलादेश प्राच्य पद्धतिबाट गर्ने गर्दछन् । जस्तो कि सूर्य आधुनिक पद्धतिअनुसार कर्कटमा उच्च पुगिसेकेका छन् । यसैगरी कतिपय मिथुनमा उच्च भन्दछन् तर हाम्रा फलदेशका विषवस्तु उही मेषको १० अंशमा उच्च किन गनिन्छन् ? भन्दा यहाँ भौतिक गणनाले यी कुरा भेदन गर्न सक्दैनन् । त्यसैले कतिपय यसलाई डेटस्पायर पनि भन्छन् त कतिपय आधुनिक बनेर सूर्य मिथुन वा कर्कटमा उच्च भए पनि मेषको फलादेश गर्दछन् । यदि भौतिक बन्ने नै भए मिथुन वा कर्कटको उच्चको फल बताउनुपर्नेहुन्छ । त्यो फलदेश गर्ने शास्त्रका आधार ग्रन्थ छैनन् ।
यसैले आधुनिक गणनाबाट ज्योतिषीय फलदेश हुँदैन । प्राचीन गणनापद्धति, ज्योतिषशास्त्रीय ग्रन्थ, धर्मशास्त्रीय व्यवस्था नै हाम्रा मानक आधार हुन पुग्छन् । आधुनिक पद्धतिमा अझ भनौँ आजको विज्ञानले त केवल सायनलाई मात्र उतार्छ, तिथि नक्षत्र योग वार करणको कुनै मान्यता दिँदैन । त्यसलाई जबजरस्ती तिथि बनाएर नक्षत्र बनाएर आधुनिक बन्ने प्रवृत्ति बढ्दो देखिन्छ । जुन हाम्रो शास्त्रीय मर्यादाविपरीत हो । शास्त्रानुसार फलदादेश गर्ने भए शास्त्रानुसारै गणना पद्धतिमा चल्न सक्नुपर्दछ । सूक्ष्म अन्तरको रहस्यलाई केलाउन सक्नुपर्दछ । भौतिक बनेर गरिएको फलादेशको कुनै अर्थ छैन र शास्त्रले पनि यस्तो परिकल्पना गरको पाइँदैन ।
ज्योतिष अध्यात्म साधनाका निम्ति उचित समय निर्धारण गर्ने शास्त्र हो । यसका आफ्नै गणना सिद्धान्त र पद्धति छन् । जो आजको भौतिक विज्ञानभन्दा अध्यात्म विज्ञानको कसीमा संरचित छन् । यसका साथै फलादेशका पनि स्वकीय शास्त्रीय व्यवस्था विद्यमान छन् । आधुनिकताका नाममा न भौतिक न त आध्यात्मिक केही नहुने प्रक्रिया अनुपयुक्त हुन्छ । फलादेशको व्यवस्था ज्योतिषमा छ । जो आध्यात्मिक विषय साधनाका निम्ति हो ।






समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर