‘पात्र विघटन’ युवराज मैनालीको लघुकथा सङ्ग्रह हो । मैनाली वरिष्ठ साहित्यकार हुनुहुन्छ । नेपाल सरकारका पूर्वउच्चपदस्त कर्मचारी मैनाली मौलिक सिर्जना र समलोचनामा उत्तिकै प्रखर मानिनुहुन्छ । उहाँको पछिल्लो मौलिक कृति हो सुरभि साहित्य प्रतिष्ठान गोकर्णेश्वर काठमाडौँले प्रकाशन गरेको ‘पात्र विघटन’ शीर्षकको यो कृति । यसको सर्वाधिकार कथाकार मैनालीमै छ भने २०८२ सालमा अथवा हालैमात्र प्रकाशित भएको हो । कृतिको यो प्रथम संस्करण हो जुन ५०१ प्रति प्रकाशित भएको छ । यसको ले-आउट सूर्योदय डेस्कटपका दीपेन्द्र बस्नेतको रहेको छ भने यसको मुद्रण सूर्योदय छापाखानामा काठमाडौँमा भएको छ ।
मैनाली आफैँ समालोचक भएका नाताले साहित्यका सबै विधाको विशेषता उहाँलाई थाहा छ । त्यसकारण कथाका कथानक, पात्र-चरित्र, परिवेश-वातावरण, दृष्टिबिन्दु, भाषाशैली, उद्देश्य, सन्देश तथा शीर्षकसमेत कस्तो हुनुपर्छ भन्ने कुरा जानकारी राख्ने व्यक्ति हुनुहुन्छ उहाँ ।
पुस्तक आकर्षक डिएमआई साइजमा छ । छपाइस्तरीय छ, अशुद्धिहरू कमैमात्र भेटिन्छन् । सेतो तौलयुक्त कागजमा छापिएको यस पुस्तकमा जम्मा १५२ पृष्ठ छन् भने मूल्य ३०१ रुपैयाँ छ । आकर्षक कलेवरको पुस्तकको आवरण त्यत्तिकै आकर्षक छ । पुस्तकको शीर्षक नै लक्ष्यणामा राखिएको देखिन्छ । आवरणमा त्यही कुरा झल्किने अमूर्त कला छ । माथि पुस्तकको शीर्षक छ, तल लघुकथाकार मैनालीको नाम राखिएको छ । पृष्ठ आवरणमा कथाकार मैनालीको फोटो तथा केही साहित्यकारको विचार राखिएको छ ।
कृति र कृतिकारका सम्बन्धमा केही प्रसिद्ध साहित्यकारहरूका टिप्पणी दिएको छ जसमा प्राडा.खगेन्द्रप्रसाद लुइँटेल, महेश परसाई, रामप्रसाद पन्त, ठाकुर शर्मा भण्डारी र गोपी मैनालीका प्रतिक्रियाहरू छन् । तल प्रकाशक संस्था सुरभि साहित्य प्रतिष्ठानको नाम र लोगो दिइएको छ । उहाँले यो पुस्तक आफ्ना पिता केदारनाथ मैनाली र माता रेवती मैनालीमा सादर समर्पण गर्नुभएको छ भने भूमिकाखण्डमा महेश प्रसाईंको ‘युवराज मैनालीको लघुआख्यान परम्परा’ शीर्षकको लामो विचार प्रस्तुत भएको पाइन्छ । त्यसपछि सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको ‘प्रकाशकीय’ र कृतिकारको ‘केही शब्दमा म योजक’ शीर्षकको लेखकीय रहेको पाइन्छ ।
यस सङ्ग्रहमा उहाँका १०१ वटा लघुकथा सङ्गृहीत छन् । पुस्तकको अन्त्यमा कथाकारको परिचय दिएको छ जसअनुसार उहाँका आठवटा विभिन्न शीर्षकका पुस्तक प्रकाशित भइसकेको पाइन्छ भने उहाँले दर्जनौं मानसम्मान र पुरस्कार प्राप्त गर्नुभएको उल्लेख छ । उहाँ विभिन्न संघसंस्थामा आजीवन सदस्य, संरक्षक, सल्लाहकारका रूपमा रहनुभएको छ । यो पुस्तक सुरभि साहित्य प्रतिष्ठानको ६४औं प्रकाशन हो ।
लघुकथा छोटा खालका कथा हुन् अर्थात् कथाको छोटो रूपमा लघुकथा लेखिन्छ । यिनले छोटोमा केही कुरा चट्ट भन्न चाहेका हुन्छन् । समाज चित्रण, विकृति, विसङ्गतिप्रति व्यङ्ग्यार्थ, राजनीतिप्रतिको व्यङ्ग्य आदि कुरा लघुकथाले छोटोमा भन्न चाहेका हुन्छन् । साथै पीडा, वेदना, विलाप, विरह, आशा, उमङ्ग, राग, कुण्ठा, जीवनको निष्सारता, रतिराग आदि कुरालाई लघुकथाहरूले देखाउन खोजेको पाइन्छ । मैनाली आफैं पनि समालोचक भएका नाताले साहित्यका सबै विधाको विशेषताहरू उहाँलाई थाहा छ । त्यसकारण कथाका कथानक, पात्र, चरित्र, परिवेश, वातावरण, दृष्टिबिन्दु, भाषाशैली, उद्देश्य, सन्देश तथा शीर्षकसमेत कस्तो हुनुपर्छ भन्ने कुरा जानकारी राख्ने व्यक्ति हुनुहुन्छ उहाँ ।
कथा कविताजस्तो भावमूलक विधा होइन । कवितामा पात्र र कथानको अनिवार्यता हुँदैन तर कथामा यी कुरा नभई कथा बन्दैन । लामो कथा अहिलेको समयका बेफुर्सदी मान्छेका लागि पढ्ने समय हुँदैन । जसरी कविताका लघुतम विधा मुक्तक, हाइकु, सुसेली, बाछिटाहरू अहिले विकसित बन्दैछन् त्यस्तै कथामा पनि लघुकथाहरूले अहिले बढी प्राथमिकता पाएको छ । त्यसैले आफू स्रष्टा र द्रष्टा दुवै भएका नाताले मैनालीले यो ‘पात्र विघटन’ शीर्षकको लघुकथासङ्ग्रह लिएर आउनुभएको छ । उहाँका लघुकथामा यस पहिले ‘पृथक बाटो’ शीर्षकको लघुकथासङ्ग्रह २०७५ सालमै प्रकाशित भइसकेको देखिन्छ । यो उहाँको दोस्रो लघुकथासङ्ग्रह हो ।
यसमा भएका सबै १०१ वटै लघुकथास्तरीय छन् । यिनमा कहीँकतै खोट लाउने ठाउँ पाइँदैन । लघुकथा छोटोमा लेखिने कथा हुन,् जसले गर्दा विभिन्न ठाउँबाट यसको शब्दसङ्ख्या तोक्ने गरियो तर शब्दसङ्ख्याभन्दा पनि त्यसले दिने सन्देश प्राथमिकतामा रहनुपर्छ । लघुकथाकारले आफूले भन्न खोजेको कुरा कति शब्दमा भन्छ त्यो उसको निजत्व हो । त्यसकारणले जसरी लक्ष्मीप्रसाद देवकोटा कविता लेखनका कुनै पनि नियमभित्र बाँधिँदैनथे लघुकथाकारहरू पनि ती परिधि नाघेर आफू आफ्ना विचारहरूको सम्प्रेषण गर्न पुग्छन् । मैनालीले यस सङ्ग्रहका कुनै पनि लघुकथालाई लम्ब्याउनु भएको छैन ।
मैनालीलाई लघुकथा भनेको के हो र कस्तो हुनुपर्छ भन्ने जानकारी पूर्णरूपमा छ । जसले गर्दा निश्चित मापदण्डभित्र बसेर उहाँले आफ्ना लघुकथा सिर्जना गर्नुभएको छ । निश्चय उहाँका यी लघुकथाहरूले नेपाली साहित्यमा एउटा मानक पद्धति बसाएका छन् र तिनले एउटा निश्चित स्तर कायम गरेका छन् ।
छोटाछोटा आकारका लघुकथाहरू चिटिक्क आफूले भन्ने कुरा भनेर टुङ्गिएका छन् । उहाँले आफ्ना लघुकथाका शीर्षकहरू पनि छोटा एक शब्दका चयन गर्ने गर्नुभएको पाइन्छ । यस सङ्ग्रहका अधिकांश कथाहरूको शीर्षक पनि एक शब्दमा राखिएको छ । त्यसपछि केही दुई शब्दका र केही तीन शब्दका छन् तर ती थोरै छन् । लघुकथाकार मैनालीले यस सङ्गहका कथाहरूमा विविध विषयलाई सम्प्रेषण गर्न चाहनुभएको छ । कतै समाजप्रतिको दृष्टिकोण, कतै राजनीतिप्रतिको छेडछाड, कतै विविध क्षेत्रका विकृति, विसंगति र कुनैमा रातिरागात्मकता पाइन्छ । अहिले लघुकथा लेखनको गति तीव्रताका साथ वृद्धि भइरहेको छ र लघुकथा लेख्ने व्यक्तिहरूको सङ्ख्या पनि बढेको पाइन्छ तर लघुकथा लेखेँ भनेर मानिसले कसैले चुट्किला, कसैले छोटो व्यङ्ग्य आदि लेखिरहेका छन् ।
मैनाली यसो गर्नेभित्र पर्नुहुन्न किनभने उहाँलाई लघुकथा भनेको के हो र कस्तो हुनुपर्छ भन्ने जानकारी पूर्णरूपमा छ । जसले गर्दा निश्चित मापदण्डभित्र बसेर उहाँले आफ्ना लघुकथाहरू सिर्जना गर्नुभएको छ । निश्चय उहाँका यी लघुकथाहरूले नेपाली साहित्यमा एउटा मानक पद्धति बसाएका छन् र तिनले एउटा निश्चित स्तर कायम गरेका छन् । दृष्टान्तका लागि उहाँको एउटा लघुकथा यहाँ उदृत गर्न उपयुक्त हुने ठान्छु । ‘तुष्टि’ शीर्षकको यस लघुकथामा उहाँ भन्नुहुन्छ ।
उनी सोच्दथे । ‘यो एउटामा सफल भइसकेपछि सबै कुरा सजिलै सल्टाउन सक्छे उसले ।’
अर्कातिर त्यो केटीले पनि अनुभव गरेको कुरा हो, ऊ उनीदेखि मात्र टाढा भएकी होइन जो आफैँदेखि टाढिँदै गइरहेकी थिए । विचार अनुभूति र कल्पनाको रङ धमिलो हुँदै गइरहेको थियो । शायद यही हुनु थियो । भयो पनि । काखमा रहेको बच्चाले उसको स्तन कोट्याइरहेको थियो । यस बेला ऊ आफैँ आफूसित निरुत्तर हुँदै गइरहेकी थिई ।
यसरी उहाँ छोटोमा आफूले भन्न चाहेको कुरा स्पष्ट रूपमा भन्नसक्ने कथाकार हुनुहुन्छ । उहाँका यी सबै १०१ वटा लघुकथाको यहाँ चिरफार स्थानाभावले गर्दा सम्भव छैन । त्यसलाई पछि कतै समालोचनात्मक रूपमा हेरौँला, अहिलेलाई यत्ति नै । यस पुस्तकका लागि लघुकथाकार युवराज मैनालीलाई बधाई तथा पुस्तकको सफलताको कामना । साथै उहाँबाट यस्ता अन्य कृति पनि सिर्जना भइरहून् अग्रिम शुभकामना ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि