काठमाडौं । अमेरिकाको पेन्सिल्भेनिया राज्यस्थित मिलर्सभिल युनिभर्सिटीको स्टुडेन्ट मेमोरियल सेन्टरमा अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (आइएनएलए) र साहित्य कला संगम (एसकेएस)को संयुक्त आयोजनामा दोस्रो वार्षिक सम्मेलन तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा साहित्य, संगीत र संस्कृतिका विविध प्रस्तुतिसहित स्रष्टा सम्मान कार्यक्रम आइएनएलएका अध्यक्ष डा. हरि उप्रेतीको सभापतित्वमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दक्षिणपूर्वी अमेरिका नेपाली संघ (एनएएसइए)का अध्यक्ष विद्या गुरुङ हुनुहुन्थ्यो भने संरक्षक डा. ज्ञानेन्द्र गदाल र वरिष्ठ अतिथिहरू प्रेमराजा महत, डा. शिव गौतम, राजा घले, नारायण पुरी, सरला श्रेष्ठ, डा. ह्यारी भण्डारी, गंगाराम लामिटारे र डा. प्रदीप बास्तोला रहनुभएको थियो ।
कार्यक्रममा नेपाली संगीत तथा साहित्यमा दीर्घकालीन योगदान पुर्याएका स्रष्टाहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो । कवि तथा गीतकार दिनेश अधिकारीलाई आइएनएलए ज्ञानेन्द्र गदाल गीत सम्मान नगद एक हजार एक डलरसहित प्रदान गरिएको थियो । पाँच दशकभन्दा बढी समयदेखि साहित्य र गीत लेखनमा सक्रिय अधिकारीले पाँच सयभन्दा बढी गीत रचना गरिसक्नुभएको छ र ‘अतिरिक्त अभिलेख’ कृतिका लागि मदन पुरस्कार प्राप्त गर्नुभएको छ ।
वरिष्ठ गायिका यशोदा पराजुलीलाई आइएनएलए गायन सम्मान नगद ५०१ डलरसहित प्रदान गरिएको थियो । चार दशकभन्दा बढी समयदेखि संगीत क्षेत्रमा सक्रिय पराजुलीले २५० भन्दा बढी गीत रेकर्ड गरिसक्नुभएको छ । साहित्यकार तथा गीतकार पुरुषोत्तम लम्साललाई नगद ५०१ डलरसहित आइएनएलए गीत सम्मान प्रदान गरिएको थियो ।
डायस्पोरामा सक्रिय स्रष्टा साबु गदाल कार्की र डम्बर खापुङ सुब्बा साथै अगम गुरुङलाई नगद ५०१ डलरसहित सम्मान प्रदान गरिएको थियो । त्यस्तै, त्रिप्ती खड्का गुरुङलाई पनि नगद ५०१ डलरसहित आइएनएलए संगीत सम्मान प्रदान गरिएको थियो ।
डा. हरि उप्रेतीले सम्मेलन सफलतापूर्वक सम्पन्न हुनु गर्वको विषय भएको भन्दै गीत, संगीत, कला र साहित्य नेपालीहरूको पहिचान र संस्कृतिको जीवित धरोहर भएको उल्लेख गर्नुभयो । उहाँले विश्वभर रहेका नेपाली गीतकार तथा स्रष्टाहरूलाई एउटै साझा मञ्चमा जोड्दै अनुभव र सिर्जनाको आदानप्रदान गर्ने आइएनएलए सशक्त सेतु बन्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा साहित्य कला संगमको सांगीतिक प्रस्तुति, सांस्कृतिक नृत्य, बालबालिकाको विशेष प्रस्तुति, सिर्जना वाचन र डा. हरि उप्रेतीद्वारा लिखित कृति लोकार्पणसमेत भएको थियो । आइएनएलएका संरक्षक डा. ज्ञानेन्द्र गदालका दुई कृतिहरू ‘कुमुदिनी’ उपन्यास र ‘भोलिको आशा उज्यालो प्रकाश’ बालगीतसंग्रह पनि लोकार्पण गरिएको थियो ।
साहित्य कला संगमका संस्थापक कार्यकारी निर्देशक त्रिविक्रम न्यौपानेका अनुसार कार्यक्रमले नेपाली साहित्य तथा कलाको संरक्षणसँगै अमेरिकामा हुर्किरहेका बालबालिकामा पुस्तान्तरण कार्यलाई प्रभावकारी बनाएको छ ।
कार्यक्रममार्फत् नेपाली भाषा, साहित्य र संगीतको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गरिएको महासचिव रन खड्काले जानकारी दिनुभयो । उहाँले यस्ता कार्यक्रमले विश्वभर रहेका नेपाली स्रष्टाहरूबीच सहकार्य र सञ्जाल विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि