एकपछि अर्को श्रोता रुचिको गीतसंगीत पस्कँदै आइरहनुभएकी सदाबहार गायिका मिना राईको नयाँ सांगीतिक कोशेली ‘महभन्दा गुलियो हालै श्रोता-दर्शकमाझ आएको छ । पूर्वको रमणीय स्थान खोटाङकी स्थानीय बासिन्दा राईको योभन्दा पहिले ‘स्कुले जीवन, ए सोल्टिनी, के साह्रो राम्री चोलीमा, आफू त भइयो परदेशी, ए माया साटौंला, पूर्व पाँचथर, मिठो बोलेर, माया पिरती, डिम्पल मायालु’ लगायत दर्जन गीतलाई श्रोता-दर्शकले मन पराएका छन् । कलाकारहरूको आर्थिक स्रोतको भरपर्दो माध्यम भनेकै देश-विदेशमा हुने स्टेज प्रोग्राम भएको बताउनुहुने राई हालै कुवेतलगायतका देशमा सांगीतिक भ्रमण सकेर स्वदेश फर्कनुभएको हो । एकपछि अर्को गीतले उहाँलाई सफलता दिलाउँदै गर्दा देश-विदेशमा हुने मेला, महोत्सव र सांस्कृतिक कार्यक्रमहरूमा पनि माग बढ्न थालेसँगै समय तालिका मिलाएर आफ्नो कर्मप्रति अझ सक्रिय बन्नुभएका कारण गीतसंगीतको क्षेत्रमा यो सफलता हासिल गर्नुभएको हो । खोटाङ कलाकार समाजको केन्द्रीय सदस्यसमेत रहिसक्नु भएकी गायिका मिना राईसँग गीता अधिकारीले गर्नुभएको संवाद :-
यतिबेला केमा व्यस्त हुनुहुन्छ ?
गत सातामात्र ‘महभन्दा गुलियो’ बोलको भिडियोसहितको गीत सार्वजनिक भएका कारण त्यसैको प्रमोसनमा समय व्यतीत भइरहेको छ ।
म पहाडी जिल्ला खोटाङमा जन्मे हुर्केकाले कतिपय गीत आफ्नै क्षेत्रको मौलिक कलासंस्कृतिको प्रवर्द्धन हेतु गाएको भएर पनि होला, मादल, बाँसुरी, सारंगीजस्ता मौलिक वाद्यवादनको प्रयोगले पनि मेरो गीतमा केही फरकपन देखिनुको कारण हुन सक्छ । मौलिकपनलाई देशबाहिर पनि पुर्याउनुपर्छ भन्ने हिसाबले र संस्कृतिलाई गीत र संगीतका माध्यमबाट विश्वव्यापी रूपमा पुर्याउनुपर्छ भन्ने मेरो बुझाइ हो ।
कस्तो खालको गीत हो ?
‘महभन्दा गुलियो’ मायाप्रेममा आधारित रोमान्टिक शैलीको गीत हो ।
प्रतिक्रिया कस्तो पाइरहनुभएको छ ?
युवा पुस्ता लक्षित गीत र भिडियो पनि राम्रै भएकाले सोचेभन्दा राम्रो प्रतिक्रिया आइरहेकोमा सन्तुष्ट छु ।
सुन्नेभन्दा पनि हेर्ने गीतको प्रचलनलाई कसरी लिनुभएको छ ?
प्रविधिको विकाससँगै यो समयको माग पनि हो । अहिलेका गीतहरू प्रायः हेर्ने खालकै बनेका हुन्छन् । जसका कारण गायक कलाकारहरूलाई अलि महँगो हुन गएको छ । किनकि गीतमात्र निकालेर भएन, भिडियो अनिवार्य बनेपछि महँगिनु स्वाभाविक पनि हो ।
आफ्ना सिर्जना सामाजिक सञ्जालमा रुचाइएको देख्दा हर्ष लाग्छ होला नि ?
टिकटक, युट्युब हेरिरहँदा मेरा सिर्जनाले पाएको चर्चा देख्दा हर्ष नै लाग्छ । सबै वर्गका श्रोतालाई मनपर्ने खालको गीत गाउन सक्ने क्षमता भएका हिसाबले खुसी लाग्छ । किनकि मैले गाउने गीतले जीवनशैलीलाई जोड्ने गरेको छ ।
तपाईंका गीतमा बढी मौलिकता भेटिनुको कारण ?
म पहाडी जिल्ला खोटाङमा जन्मे हुर्केकाले कतिपय गीत आफ्नै क्षेत्रको मौलिक कलासंस्कृतिको प्रवर्द्धन हेतु गाएको भएर पनि होला । मादल, बाँसुरी, सारंगीजस्ता मौलिक वाद्यवादनको प्रयोगले पनि मेरो गीतमा केही फरकपन देखिनुको कारण हुन सक्छ । मौलिकपनलाई देशबाहिर पनि पुर्याउनुपर्छ भन्ने हिसाबले र संस्कृतिलाई गीत र संगीतका माध्यमबाट विश्वव्यापी रूपमा पुर्याउनुपर्छ भन्ने मेरो बुझाइ हो । देशबाहिर हुने जति पनि मेरो सांगीतिक भ्रमण हुन्छ नेपाली मौलिक गीतसंगीत प्रस्तुति नै पहिलो प्राथमिकतामा पर्ने गर्छ भने देश-विदेशमा हुने सांगीतिक कार्यक्रमहरू नै हामी कलाकारहरूको आर्थिक स्रोतको भरपर्दो माध्यम पनि हो ।
पुराना र नयाँ पुस्ताका स्रष्टामा कुन पुस्ता सहज छन् जस्तो लाग्छ ?
पुरानो पुस्ता संगीत पढेर र बुझेर आउने धेरै हुनुहुन्थ्यो । अहिलेको पुस्तामा सामान्य अभ्यासमै गीत चलेकाले आफूलाई व्यस्त भएको र पैसा कमाउन थालेको ठान्छन् ।
युवा पुस्तालाई नेपाली गीतसंगीतप्रति कम चासो रहेको देखिन्छ नि ?
अहिलेको पुस्ताले नेपाली गीतसंगीतलाई चासो नदिनुको कारण पनि यही प्रविधिको विकासले नै हो । अब पहिले-पहिले मिडिया कम थिए । जहाँ हाम्रो नेपाली गीतसंगीतमात्र बज्थ्ये । तर, अहिले प्रत्येक व्यक्तिको हातमा मिडिया छ । देश-विदेशका गीतसंगीत सुन्न, हेर्न पाइने उनीहरूसँग विकल्प छ । त्यसैले उनीहरूको चासो पनि बाँडिएर आफ्नो देशको गीतसंगीतमा चासो कम हुन गएको जस्तो लाग्छ ।
व्यापारमा पनि आबद्ध हुनुहुन्छ, गीतसंगीतलाई कसरी अघि बढाउँदै हुनुहुन्छ ?
गीतसंगीतको मात्र भर हुँदैन । त्यसैले सानोतिनो व्यापारमा पनि आबद्ध छु । तर, बढी गीतसंगीततिरै नै समय दिने गरेकी छु ।
सांगीतिक क्षेत्रमा आफू कहाँ छु जस्तो लाग्छ ?
कहाँ छु भन्दा पनि निरन्तरता दिइरहनु नै ठूलो कुरा हो । आफ्ना केही सिर्जना हिट भएन भन्दैमा स्रष्टाको चर्चा र नाम हराउँदैन जस्तो लाग्छ । किनभने एकपटक दर्शक, श्रोताहरूको मनमुटुमा बसेपछि सधैं सम्झिरहनुहुन्छ भन्ने लाग्छ मलाई । गीतसंगीत त आई नै रहेका छन् र ल्याई नै रहनेछु ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि