काठमाडौं । किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गर्न माग गरेको छ । परिषद्को आयोजना तथा नेपाल प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा काठमाडौंमा सम्पन्न दुई दिने ‘मुन्दुम ज्ञान प्रणाली विषयक छैटौं प्राज्ञिक संगोष्ठी-२०८२’ पछि जारी ‘यलाखोम घोषणापत्र’मार्फत उक्त माग सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा किराती समाजमा हजारौं वर्षदेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएका सामूहिक पुर्ख्यौली ज्ञानहरूलाई मुन्दुम ज्ञान प्रणालीका रूपमा परिभाषित गर्दै यसको अन्तर्राष्ट्रिय महत्व औंल्याइएको छ । ‘यो प्रणाली विश्व मानव समाजका लागि उपयोगी हुनुका साथै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको मौलिक बौद्धिक प्रतिनिधित्व गर्न सक्षम छ,’ घोषणापत्रमा उल्लेख गरिएको छ ।
संगोष्ठीमा मुन्दुम दर्शन, साकेला, विऔपनिवेशीकरण, सृष्टि वर्णन, उपचार पद्धति, न्याय प्रणाली, सुप्तुलुङ, परिवार र लैंगिकता, मानवभाषा शास्त्र, बसाइँसराइ, यात्रा वर्णन तथा विभिन्न अनुष्ठानसम्बन्धी विषयमा २३ कार्यपत्र प्रस्तुत गरी विस्तृत छलफल गरिएको थियो ।
परिषद्का सदस्य भोगीराज चाम्लिङले किराती समाजमा भाषिक विविधताअनुसार मुन्दुम, मुन्धुम, मुन्थुम, मुद्दुम, मुदुम, मुडुम, मुक्तुम, मुक्दुम, मुग्दुम, मुन्तुम, मिन्दुम, रिदुम, तम्र, तुम्लो, पेलाम, ड्युम्ला र याङ्मा खाउलगायत शब्द प्रयोग हुने जानकारी दिँदै यी सबैको मूल शब्द ‘मुन्दुम’ रहेको स्पष्ट पार्नुभयो ।
घोषणापत्रमा मुन्दुम तथा नेपालका मौलिक आदिवासी ज्ञान प्रणालीलाई आधार बनाएर मात्र ‘नेपाली समाजवाद’को विकास र त्यसप्रति बृहत्तर स्वामित्व निर्माण गर्न सकिने उल्लेख गरिएको छ । साथै, मुन्दुम ज्ञान प्रणालीसम्बन्धी अध्ययन-अध्यापनलाई विद्यालय, विश्वविद्यालय तथा सामुदायिक र सरकारी शिक्षण संस्थामा समावेश गर्न माग गरिएको छ ।
समापन सत्रमा नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तमछालीले किराती सभ्यतामा मुन्दुमलाई संस्कार, संस्कृति र सभ्यताको मूल स्रोतका रूपमा मानिने बताउनुभयो । उहाँले मौखिक ज्ञान प्रणालीलाई जीवन दर्शन तथा समाज सञ्चालनको आधार मान्दै स्थानीयदेखि वैश्विक स्तरसम्म यसको समायोजन आवश्यक रहेको धारणा राख्नुभयो ।
यसैगरी, परिषद्का कुलपति जयकुमार राईले मुन्दुम ज्ञान प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमा ज्ञान र विज्ञानसम्मत रूपमा स्थापित गर्ने प्रयास जारी रहेको जानकारी दिनुभयो । यस पहलले किराती सभ्यता र पुर्ख्यौली ज्ञानको संरक्षण तथा प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउने अपेक्षा गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि