काठमाडौं । नेपाल चलचित्र कलाकार संघ (फान)भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि यही चैत २८ गतेका लागि तय गरिएको साधारणसभा तथा निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ । संघभित्र लामो समयदेखि चलिरहेको सदस्यता नवीकरण विवाद अन्ततः निर्वाचन प्रक्रियामै असर पार्ने गरी सतहमा आएको हो ।
संघका अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘विशेष कारणवश’ निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कार्यक्रम तत्कालका लागि रोकिएको उल्लेख गरिएको छ । तर, स्रोतहरूका अनुसार विवादको जड सदस्यहरूको वैधता, नवीकरण प्रक्रिया र मतदाता नामावलीको अन्तिम टुंगो नलाग्नु हो ।
मतदाता नामावलीमै गाँठो
निर्वाचन समितिले वैधानिक समयसीमाभित्र प्रमाणित मतदाता नामावली उपलब्ध गराउन पटक–पटक संघको कार्यसमितिलाई आग्रह गरेको थियो । तर, कार्यसमितिभित्रै सहमति नजुट्दा नामावली बुझाउन नसकिएको समितिको भनाइ छ । यसै कारण निर्वाचन प्रक्रिया अघि बढाउन नसकिने भन्दै समितिले औपचारिक पत्राचारसमेत गरेको थियो ।
विवादले संघभित्रको आन्तरिक एकतामात्र होइन, संस्थागत विश्वसनीयतामै प्रश्न उठाएको छ । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय कलाकारहरूको साझा छाता संगठनभित्र यस्तो अवस्था आउनु चिन्ताजनक भएको सरोकारवालाहरूको टिप्पणी छ ।
संघ स्रोतका अनुसार, ‘कुन सदस्यलाई मतदानको अधिकार दिने र कसको सदस्यता नवीकरण वैध मान्ने भन्ने विषयमै गम्भीर मतभेद छ । यही विवादले प्रक्रिया नै रोकेको हो । फानभित्र अहिले दुई स्पष्ट धार देखिएका छन् । एक पक्षले पुराना सदस्यहरूको नवीकरणलाई सहज बनाउनुपर्ने अडान लिएको छ भने अर्को पक्षले कडाइका साथ नियमानुसार मात्रै सदस्यता वैध मान्नुपर्ने बताइरहेको छ । नयाँ सदस्यहरूको समावेश र उनीहरूको मतदान अधिकारबारे पनि विवाद थपिएको छ ।
यस विवादले संघभित्रको आन्तरिक एकतामात्र होइन, संस्थागत विश्वसनीयतामै प्रश्न उठाएको छ । लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय कलाकारहरूको साझा छाता संगठनभित्र यस्तो अवस्था आउनु चिन्ताजनक भएको सरोकारवालाहरूको टिप्पणी छ ।
अन्योलमा आगामी कार्यतालिका
निर्वाचन स्थगित भएसँगै संघको आगामी कार्यतालिका पूर्णरूपमा अन्योलमा परेको छ । नयाँ मिति कहिले तोकिन्छ भन्नेबारे संघले हालसम्म कुनै स्पष्ट जानकारी दिएको छैन । कतिपय सदस्यहरूले तत्काल संवाद र सहमतिको वातावरण निर्माण नगरे संघ अझ गम्भीर संकटतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन् । ‘सदस्यता विवाद समाधान नगरी निर्वाचन सम्भव छैन,’ एक सदस्यले भने, ‘पहिले नियम स्पष्ट पार्नुपर्छ, त्यसपछि मात्रै प्रक्रिया अघि बढ्न सक्छ ।’
संघभित्रको यो विवाद समाधानका लागि वरिष्ठ कलाकारहरू र पूर्वपदाधिकारीले मध्यस्थता गर्नुपर्ने आवाज उठ्न थालेको छ । पारदर्शी र सर्वस्वीकार्य मतदाता नामावली तयार पारेरमात्रै निर्वाचन प्रक्रिया पुनः सुरु गर्नुपर्नेमा धेरैको जोड छ । यता, चलचित्र क्षेत्रसँग सम्बद्ध अन्य संघसंस्थाहरूले पनि फानको विवाद चाँडो समाधान गरी संस्थागत स्थिरता कायम गर्न आग्रह गरेका छन् ।
संघभित्रको विवादले नेपाली चलचित्र क्षेत्रको संस्थागत संरचना कति कमजोर छ भन्ने देखाएको छ । सदस्यता व्यवस्थापनजस्तो आधारभूत विषयमै सहमति नजुट्नुले वर्तमान कार्यसमितिको क्षमतामाथि प्रश्न उठाएको छ । यदि समयमै समाधान नखोजिएमा यसले कलाकारहरूबीच थप विभाजन ल्याउने र भविष्यका गतिविधिमा समेत असर पार्ने सम्बन्धितहरू बताउँछन् ।
निर्वाचनका लागि दुई प्यानल
यसअघि दुई प्यानल निर्वाचनमा होमिएका थिए । अध्यक्ष पदका लागि वरिष्ठ कलाकार उत्तम केसी र वर्तमान महासचिव सविन श्रेष्ठबीच प्रतिस्पर्धामा उत्रिएका थिए । दुवैले आ–आफ्ना प्यानल सार्वजनिक गर्दै चुनावी मैदानमा सक्रिय रूपमा लागेका थिए । दुवै प्यानलले आ–आफ्ना एजेण्डा र प्रतिबद्धतासहित चुनावी अभियान तीव्र पारेका थिए ।
उत्तम केसी नेतृत्वको प्यानलमा उपाध्यक्ष पदका लागि शिवहरि नेपाल ‘बैरागी’ र शीतल केसी उम्मेदवार हुनुहुन्छ भने महासचिवमा सुनिल कटुवाललाई अघि सारिएको थियो भने सचिवमा गोपाल ढकाल ‘छन्दे’, कोषाध्यक्षमा तेजकुमारी खतिवडा र सह–कोषाध्यक्षमा गीत नेपाल उम्मेदवार रहनुभएको थियो ।
केसी प्यानलबाट सदस्य पदका लागि कोसिस क्षेत्री, नम्रता योगी, श्रीदेव भट्टराई, मञ्जुदेवी तुलाधर, प्रेम पाण्डे, जीवन थापा, सामना सिटौला, लक्ष्मण चौलागाईं, अनुमती नेपाली, दावा फिन्जो तामाङ, अशोक धिताल, हरिशचन्द्र फुयाँल, इन्द्र दोङ, सानिया खान, चन्द्रकला दाहाल र चन्द्रकला राईलाई उम्मेदवार बनाइएको थियो ।
यता, सविन श्रेष्ठ नेतृत्वको प्यानलमा उपाध्यक्ष पदका लागि पनाह अधिकारी र उद्धवप्रसाद भट्टराईलाई अघि सारिएको छ । महासचिवमा रामेश्वर बुर्लाकोटी, सचिवमा पल्पसा डंगोल, कोषाध्यक्षमा पवित्रा आचार्य र सह-कोषाध्यक्षमा पवन केसी उम्मेदवार हुनुहुन्थ्यो । यसैगरी, सदस्य पदका लागि विनोद भट्टराई, नवीन श्रेष्ठ, रश्मी भट्ट, नम्रता खरेल, सरिता राजोपाध्याय, दमन रुपाखेती, सुलेमान शंकर, छुल्ठिम गुरुङ, श्यामकृष्ण श्रेष्ठ, सुपा खनाल र राजेश गोसाईलाई अघि सारिएको थियो ।
वर्तमान नेतृत्वलाई समस्याहरूको चाडै समाधानगरी साधारण सभा तथा निर्वाचन प्रक्रिया थाल्नका लागि समस्त कलाकारले आग्रह गरेका छन् । यतिबेला यस विषयलाई लिएर सामाजिक सञ्जालमार्फत विभिन्न टीका–टिप्पणी गर्न थालिएको छ । केही महिनाअघि नै चैत २८ का लागि साधारणसभा तथा निर्वाचनको मिति घोषणा गरिए पनि कार्यक्रमको मितिभन्दा पाँच दिनअघि अध्यक्ष निरौलाद्वारा जारी सूचनाले कलाकार संघको चुनावी साधारणसभाको नयाँ मिति कहिलेलाई तोकिन्छ भन्ने कुराले समेत अन्योलता थपेको छ ।
हामी निर्वाचन चाहन्छौं : अध्यक्षका प्रत्यासी उत्तम केसी
अध्यक्ष मोहन निरौलाद्वारा चुनावी साधारणसभाको पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको सूचना सार्वजनिक भएलगत्तै अध्यक्षका प्रत्यासी उम्मेदवार उत्तम केसीले सामाजिक सञ्जालमा लामो नोट लेख्दै आफ्नो असन्तुष्टि व्यक्त गर्नुभएको छ । ‘नेपाल चलचित्र कलाकार संघको २१औं साधारणसभा तथा चुनाव अधिवेशन तोकिएको कार्य तालिका अनुसार सम्पन्न गर्न नसकिनु अत्यन्त दुःखद् र चिन्ताजनक विषय हो, केसीले भन्नुभएको छ, ‘हामीले आफ्नो टिमरप्यानल घोषणा गरी चुनावी प्रक्रियामा प्रवेश गरिसकेका थियौं । तर, वर्तमान कार्यसमितिले विधान र सार्वजिक सूचना अनुसार चैत १७ गतेसम्म नवीकरण गरिएका नामावली चुनाव आयोगमा पेश गर्नुपर्नेमा पेश हुनसकेन । पेश हुन नसक्नुमा चुनावमा जसरी जित्नै पर्ने नियत राखी नियमविपरीत नाम थप गर्न खोज्दाको मतभेद भएपछि चुनाव आयोग समक्ष समय मै मतदाता नामावली पेश गर्न कार्य समितिले नसक्दा सम्पूर्ण प्रक्रिया अवरुद्ध हुन पुगेको छ ।’
संस्थाको आन्तरिक जीवनमा यस्तो अवस्था उत्पन्न हुनु वास्तव मै विडम्बनापूर्ण हो भन्दै अध्यक्षका प्रत्यासी केसीले भन्नुभएको छ, ‘परिणाम जे भए पनि लोकतान्त्रिक मूल्य र प्रक्रियाको सम्मान गर्दै समयमै निर्वाचन सम्पन्न गराउनु वर्तमान कार्यसमितिको जिम्मेवारी थियो । यो स्थिति पैदा हुनु समग्र चलचित्र क्षेत्रका लागि हितकर हुन सक्दैन । यस घटनामा को-को र कति जिम्मेवार छन् भन्ने मूल्यांकन अवश्य नै सम्पूर्ण चलचित्रकर्मीले गर्नेछन् भन्ने विश्वास लिएको छु ।’ उहाँले अगाडि लेख्नुभएको छ, ‘चलचित्र कलाकारको एकमात्र भरोसायोग्य संस्थाको गरिमा कायम होस्, कलाकर्मीले सधैं ठाडो शिर लिएर हिँड्ने वातावरण सिर्जना होस् र चलचित्र क्षेत्रमा एक इँटा भए पनि थप्न सकियोस् ।’ केसीको भनाइ छ, ‘मेरो यतिमात्र चाहना छ । जय सिनेमा ! हाम्रो टिम सत्य- निष्टामा अडिग रहेको छ । हामी निर्वाचन चाहन्छौं । सबैको जय होस् ।’







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि