सरकारले अब हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । २३ चैत सोमबारदेखि लागू हुनेगरी दैनिक बिहान ९ बजेबाट कार्यालय खुल्ने र बेलुका ५ बजेसम्म सञ्चालन हुनेगरी व्यवस्था मिलाएको छ । हप्तामा एक दिन शनिबारमात्र बिदा दिँदै आएकोमा अब आइतबारसमेत थपेर हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको हो । जाडो महिनाका तीन महिना कार्यालय समय बिहान ९ बजेबाट बेलुका ४ बजेसम्म मात्र हुने र लामा दिन हुने अरू आठ महिना बेलुका पाँच बजेसम्म कार्यालय सञ्चालन हुने पहिलेदेखिकै व्यवस्था थियो । अहिलेको नयाँ विदा व्यवस्था संसारमा उत्पन्न तेल संकटले निम्त्याएको हुनसक्छ । अमेरिका, इजरायल र इरानबीच भइरहेको युद्धको नकारात्मक प्रभाव अहिले विश्वव्यापी रूपमा परिरहेको छ । अमेरिकाले आफ्नो अखडा बनाएका इरानका वरिपरिका तेल उत्पादक मुलुकहरूमाथि पनि इरानले हमला गरेका कारण खाडी मुलुकहरू अहिले युद्धको चपेटामा छन् ।
युद्धको प्रभाव विश्वव्यापी रूपमा पर्ने नै भयो । नेपाल पनि यही युद्धबाट प्रभावित बन्नपुगेको छ । जसले गर्दा इन्धनको आपूर्ति असहज बनेको छ । खाडी मुलुकहरू तेल उत्पादक मुलुकका रूपमा परिचित छन् । युद्धले गर्दा ती मुलुकहरू प्रभावित बन्नाले विश्वव्यापी रूपमा तेलको आपूर्ति कम भएको छ । युद्धकै कारण इन्धनको मूल्य वृद्धिसँगै सम्पूर्ण वस्तुमा मूल्य वृद्धि भएको छ । खाद्यान्न, दैनिक उपभोग्य सामग्रीलगायतका वस्तुहरूको मूल्य वृद्धि हुने नै भयो । सञ्चार, यातायात आदि कारणले साँघुरो भएको विश्वले गर्दा कुनै मुलुकमाथि कुनै संकटको अवस्था आयो भने त्यसको असर तुरुन्तै विश्वव्यापी रूपमा पर्ने गर्छ ।
यसभन्दा अगाडि रुस र युक्रेनबीचको युद्धको असरसमेत नेपालमा परेको थियो । जसले गर्दा तेलहन, दलहन, गेडागुडी, इन्धन आदि उपभोग्य वस्तुमा मूल्य वृद्धि हुनपुगेको थियो । अहिलेको युद्ध त्यसभन्दा पनि बढी विध्वंसात्मक भएको छ । यस युद्धमा दुई देशमात्र संलग्न छैनन्, धेरै देशहरूको संलग्नता रहेको छ । यी देशहरू तेल उत्पादक देश भएका कारणले पनि पूर्वी तथा पश्चिमी विश्वमा यसको प्रभाव विकराल रूपमा पर्ने नै भयो । यही कारण खर्च घटाउने एउटा उपायका रूपमा नेपाल सरकारले हप्तामा दुई दिन बिदा गर्ने निर्णय गरेको हुनुपर्छ । तैपनि हप्ताभरिको कार्यालय समय भने उत्तिकै हुन आउँछ ।
हप्तामा छ दिन खर्च हुने बिजुली पानी आदिको बचत र कार्यालयका गाडीहरू नगुड्नाले इन्धनको पनि बचत हुने अपेक्षा सरकारको हो । तर सैद्धान्तिक घोषणाले मात्र यसलाई कम गर्न सकिँदैन, व्यावहारिक रूपमा पनि यसको कार्यान्वयन हुन सक्नुपर्छ । टाढाबाट आउने कर्मचारीहरूका लागि एक घण्टा बिहान सबेरै घरबाट हिँड्नुपर्ने हुन्छ । यो उनीहरूका लागि अलिक असहज नै बन्न जान्छ । कार्यालयहरूमा प्रयोग हुने बिजुली पानी आदि अनियन्त्रित रूपमा प्रयोग भइराखेको सेवाग्राहीहरूले पनि महसुस गरेका हुन्छन् । पंखा, हिटर आदि उपकरणहरू अति आवश्यक समयमा बाहेक पनि सञ्चालन भइराख्छन् । पहिले पहिले पनि केही मन्त्रीहरूले कर्मचारीहरूको यस्तो लापरबाही नियन्त्रण गर्ने प्रयास गरेका थिए तर निरन्तरता दिन नसक्दा त्यो क्षणिक जस्तो बन्न पुग्दोरहेछ ।
बिस्तारै आफ्नो बानी को छोड्छ र अरूको बानी को लिन्छ भने जस्तो गरिन्छ । कर्मचारीले बिदाका दिनमा सरकारी गाडी चढ्न नपाउने व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्छ । कार्यालयबाट कुनै कागज बनाएर काजको बहाना बनाएर शनिबार पारिवारिक भ्रमणमा सरकारी गाडीहरू प्रयोग हुने नेपाली परम्परा नियन्त्रण हुनुपर्छ । कडाइका साथ अनुगमन र कार्यान्वयन भएन भने यस प्रयासले पनि त्यति सार्थकता पाउन सक्दैन । यस्तो प्रयास गरिएको यो पहिलो पटक होइन, विगतमा पनि हुँदै आएका हुन् । कार्यालय समयलाई व्यवस्थित गर्ने प्रयास राणाशासनकालदेखि नै भएको हो । उदार राणाशासक देवशमशेरले आफ्नो छोटो तीन महिने कार्यकालमा पनि कार्यालय समय निर्धारण गर्ने प्रयास गरेकै हुन् ।
पछि भीमशेरले शनिबार बिदा दिने व्यवस्था मिलाए । पछिल्लो पटक २०४६ सालमा प्रजातन्त्र आएयताका सरकारहरूले पनि बेलाबेलामा यस्ता प्रयास गरे । २०५६ सालपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका पालामा शनिबार र आइतबार दुई दिन कार्यालय बिदा दिने व्यवस्था मिलाइयो तर व्यावहारिक अप्ठ्यारो र नेपाली अभ्यासमा असहजता पैदा हुने जस्ता विविध कारणले त्यस्तो व्यवस्था लामो समय रहेन, त्यसलाई उहाँपछि प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवाका पालामा हटाइयो । पछि फेरि माओवादी सशस्त्र विद्रोह समापन भएपछि पनि हप्तामा दुई दिन बिदा दिने गरियो तर त्यो पनि लामो समयसम्म रहन सकेन ।
खासगरी दूरदराजका गाउँबाट तीन-चार दिनको पैदल यात्रा गरी सदरमुकाममा काम लिएर सेवाग्राही आउँछन् । शुक्रबार सप्ताहान्त हो । त्यसदिन ३ बजेपछि छुट्टी हुने परम्परा छ । बीचमा १ बजेदेखि २ बजेसम्म चिया चमेनाको टाइम छुट्याएर काम नगर्ने प्रचलन यथावत् छ । त्यतिमात्र होइन एक घण्टाको चिया चमेनाको समयलाई अलिकति अगाडिदेखि अलिकति पछाडिसम्म ओगड्दा झण्डै डेढ घण्टासम्म प्रतिदिन कर्मचारीहरू काम गर्दैनन् । यसो गर्दागर्दै काम गर्ने समय त्यति लामो रहँदैन । शुक्रबार कार्यालयको काम नसकेका सेवाग्राही घर फर्किनुभन्दा सदरमुकाममै होटेल लजमा बस्न बाध्य हुन्छन् र शनिबार बिदा भएका कारणले आइतबारको प्रतीक्षामा बस्छन् ।
अब आइतबार पनि बिदा हुने भएकाले दुई तीन दिन लगातार कार्यालय खुल्ने दिनको प्रतीक्षामा सदरमुकामका होटल लजमा बस्नुपर्ने गाउँको गरिब सेवाग्राहीका लागि यो दुई दिने बिदा त्यति व्यावहारिक नहुन सक्छ । यसका लागि सरकारले अरू सहज वातावरण सिर्जना गर्नुपर्छ सेवाग्राहीको काम रोक्नु हुँदैन । तदारुकताका साथ काम हुने व्यवस्था मिलाउनुपर्छ । चियाचमेनाको समय पालोफेरोमा मिलाउने व्यवस्था त सरकारले गरिसकेकै छ । यस्ता व्यवस्थाहरू जनताका लागि हितकर बनून् । तिनले जनतालाई अझै अप्ठ्यारो नहोस् । दुई दिन बिदाको निर्णय सकारात्मक भए पनि कार्यान्वयन सहज र व्यावहारिक हुनु आवश्यक छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि