काठमाडौं । कान्तिपुर हाफ म्याराथनको १४औँ संस्करण वैशाख ५ गते हुने भएको छ । कान्तिपुर मिडिया गुप्र (केएमजी) ले आयोजना गरिरहेको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । ग्लोबल आइएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनमा पावर्ड बाई एक्स्ट्रिम इनर्जी ड्रिंक्स रहेको छ ।
कान्तिपुर हाफ म्याराथन २१.१ किमीको हुनेछ । त्यस्तै, अन्य तीन विधा कर्पोरेट एण्ड इन्फुलेएन्सर रन पाँच किमी, एक्स्ट्रिम कलेज रन सात किमी, ह्विलचेयर रेस तीन किलोमिटरको हुने केएमजीका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले जानकारी दिनुभयो । कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘रन फर नेपाल’ रहेको छ ।
मुख्य विधा रहेको कान्तिपुर हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही एक लाख ५० हजार पाउनेछन् । त्यस्तै, दोस्रोदेखि छैटौं हुनेले क्रमशः ७५, ५०, ३०, २० र १० हजार पाउनेछन् । पहिलो तीन स्थानमा आउनेले ट्रफी र मेडल पनि पाउनेछन् । ह्विलचेयर रेसतर्फ विजेताले ३५ हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २५ र १५ हजार पाउनेछन् ।
कर्पोरेट एण्ड इन्फुलेएन्सर रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष तीनमा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउनेछन् । यसपटकदेखि दौड पूरा गर्ने सबैले मेडल पाउनेछन् । एक्स्ट्रिम कलेज रन विजेताले आइपिएलका लागि काठमाडौंदेखि खेलस्थलसम्मका लागि दुईतर्फी हवाई टिकट र खेल हेर्नका लागि टिकट प्रदान गरिने एक्स्ट्रिम इनर्जी ड्रिंक्सका बिजनेस हेड सोनिया राणाले बताउनुभयो ।
कान्तिपुरको कार्यालय रहेको तीनकुनेअगाडिबाट सुरु हुने ‘कान्तिपुर हाफ म्याराथन’ तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली गठ्ठाघर, ठिमी, सल्लाघारी हुँदै जगाते चोकबाट फन्को लगाएर कोटेश्वर हुँदै तीनकुनेमा आएर दौड टुंगिने रेस प्रशिक्षक आरके विष्टले जनाउनुभयो । कर्पोरेट एण्ड इन्फुलेएन्सर दौड तीनकुनेबाट सुरु भएर लोकन्थलीको पुलबाट फर्किएर कोटेश्वर हुँदै तीनकुने आएर टुंगिनेछ । तीनकुनेबाट सुरु हुने ह्विलचेयर रेस कोटेश्वर पुगेर फर्केर तीनकुनेमै आएर टुंगिनेछ । कलेज रन कोटेश्वर हुँदै तीनकुनेबाट गठ्ठाघर चोक पुगेर फर्की कोटेश्वर हुँदै तीनकुने आएर टुंगिनेछ ।
हरेक वर्ष यसलाई परिष्कृत रूपमा आयोजना गर्न केएमजीको प्रयत्न रहेको जनाउँदै स्वाँरले यस वर्षदेखि हाफ म्याराथनतर्फ टेक्नोलोजी प्रयोग गरेर दौड पूरा गर्नेको ‘एक्युरेट टाइमिङ’ निकाल्ने बताउनुभयो ।
नेपाल एथलेटिक्स संघको प्राविधिक सहयोगमा हुने कान्तिपुर हाफ म्याराथनको टाइटल स्पोन्सरमा ग्लोबल आइएमई बैंक तथा पावर्ड बाई एक्स्ट्रिम ड्रिंक्स रहेको छ । त्यस्तै, सेलिब्रेसन पार्टनर केएफसी एण्ड पिजा हट, टेक्निकल पार्टनर नेपाल एथ्लेटिक्स एसोसिएसन, हस्पिटल पार्टनर फ्रन्टलाइन अस्पताल र फुड पार्टनर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनी रहेका छन् ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले कान्तिपुरसँग छैटौंपटक सहकार्य गर्दै गरेको र स्वस्थ समाज निर्माणका लागि यस किसिमको इभेन्टले महत्त्वपूर्ण भूमिका खेल्ने हुनाले हातेमालो गर्दै आएको बताउनुभयो ।
२०६७ सालमा आयोजित पहिलो संस्करणमै एक हजारभन्दा धेरै सहभागी भएको कान्तिपुर हाफ म्याराथनमा सबै विधामा गरी यसपटक तीन हजारदेखि पाँच हजारसम्म धावक सहभागी हुने अपेक्षा गरेको केएमजीका प्रमुख कार्यकारी अधिकृत स्वाँरले बताउनुभयो । खेलाडी दर्ताको मिति चैत ३१ गतेसम्म रहेको छ । खेलाडी दर्ता कान्तिपुर इभेन्ट्सबाट गर्न सकिने उहाँले जनाउनुभयो ।
महिलातर्फ कान्छीमाया कोजुले पाँचपटक कान्तिपुर हाफ म्याराथनको उपाधि जित्नुभएको छ । पुरुषतर्फ हरिकुमार रिमालले चारपटक कान्तिपुर हाफ म्याराथन जितिसक्नुभएको छ । गत वर्ष त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का र धादिङकी सन्तोषी श्रेष्ठ कान्तिपुर हाफ म्याराथनमा विजेता बन्नुभएको थियो । हाफ म्याराथनमा १८ वर्ष पुगेका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि