काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणबाट ऐतिहासिक आर्थिक उपलब्धि हासिल गरेको छ । मूलपानीमा बसेको क्यानको केन्द्रीय समिति बैठकले सार्वजनिक गरेको आयव्यय विवरणअनुसार यसपटक नौ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ खुद नाफा भएको हो । यो नाफा पहिलो संस्करणको तुलनामा झण्डै चार गुणाले बढी हो, जसमा पहिलो वर्ष दुई करोड ४६ लाख रुपैयाँमात्र बचत भएको थियो ।
यसपटक एनपिएलबाट कुल ४७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएकोमा प्रतियोगिता सञ्चालनका लागि २१ करोड ९६ लाख रुपैयाँ खर्च भएको क्यानले जनाएको छ । राजस्व बाँडफाँटअघिको कुल नाफाबाट क्यान र आठ फ्रेन्चाइज टोलीहरूबीच भएको सम्झौताअनुसार ५० प्रतिशत रकम अर्थात् १६ करोड १८ लाख रुपैयाँ टोलीहरूलाई वितरण गरिनेछ । खर्च र वितरणपछिको बाँकी रकम क्यानको खुद मुनाफाका रूपमा रहनेछ । दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जितेको थियो ।
आर्थिक वृद्धिसँगै क्यानले क्रिकेट विकासका लागि अन्य महत्त्वपूर्ण निर्णयहरूसमेत गरेको छ । आइसिसीको निर्देशनअनुसार महिला क्रिकेट विकासमा वार्षिक पाँच लाख डलर खर्च गर्ने निर्णय भएको छ ।
त्यस्तै, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको करार अवधि थप्न त्रिविसँग समन्वय गर्ने र तल्लो मूलपानी मैदान क्यानलाई हस्तान्तरण गर्न सरकारसँग अनुरोध गर्ने निर्णयसमेत भएको छ । क्यानको वार्षिक साधारणसभा वैशाख २७ र २८ गते विराटनगरमा आयोजना हुनेछ भने कार्यकाल सकिएका २० जिल्लाहरूमा जेठ मसान्तभित्र निर्वाचन सम्पन्न गरिनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि