काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्दै गरेको नाटक ‘सेतो धरती’ यही चैत २७ गतेदेखि मञ्चन हुनेभएको छ । अमर न्यौपानेद्वारा लिखित मदन पुरस्कार विजेता चर्चित उपन्यास ‘सेतो धरती’मा आधारित यस नाटकमार्फत अभिनेत्री बेनिशा हमालले पहिलो पटक रंगमञ्चमा डेब्यु गर्दैहुनुहुन्छ ।
नाटकमा निर्माताको रूपमा रेखा थापा जोडिएपछि दर्शकको चासो अझ बढेको छ । एकेडेमीले सार्वजनिक गरेको पोस्टरमा लेखक अमर न्यौपाने, निर्माता रेखा थापा तथा निर्देशक सुन्दर धितालको नाम उल्लेख गरिएको छ । निर्देशक धितालले यसअघि रेखा थापाको डेब्यु नाटक ‘मीरा’ निर्देशन गर्नुभएको थियो भने रेखाले पनि यही थिएटरमार्फत रंगमञ्च यात्रा सुरु गर्नुभएको थियो ।
हाल नाटकको रिहर्सल तीव्र रूपमा भइरहेको छ । ‘सेतो धरती’मा बेनिशा हमालसहित फिल्म, थिएटर तथा कान्तिपुर फिल्म एकेडेमीका गरी ३० भन्दा बढी कलाकार एकैपटक मञ्चमा देखिनेछन् । नेपाली साहित्य जगतमा लोकप्रिय तथा सर्वाधिक बिक्री भएको उपन्यासमा आधारित भएकाले नाटकप्रति दर्शक तथा साहित्यप्रेमीको अपेक्षा उच्च रहेको छ ।
यसअघि कान्तिपुर थिएटरले दीपक सिंजालीको उपन्यास ‘मीरा’ र पारिजातको ‘शिरीषको फूल’लाई नाटकका रूपमा मञ्चन गरिसकेको छ, जसमा क्रमशः रेखा थापा र जीवन लुइँटेल रंगमञ्चमा देखिनुभएको थियो ।
कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीका अनुसार एकेडेमीले रंगमञ्च, सिनेमा र साहित्यलाई जोड्ने उद्देश्यसहित चर्चित कृतिहरूलाई नाटकका रूपमा प्रस्तुत गर्दै आएको छ ।
नाटक ‘सेतो धरती’ चैत २७ गते शुक्रबारदेखि वैशाख १९ गते शनिबारसम्म मञ्चन हुनेछ । बुधबारबाहेक हरेक दिन साँझ ५ः१५ बजे प्रदर्शन गरिनेछ भने शनिबार, आइतबार र नयाँ वर्षको दिन दिउँसो १ः१५ बजे अतिरिक्त शो रहनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि