काठमाडौं । नवौं संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) भव्य रूपमा सम्पन्न भएको छ । सोमबार काठमाडौंको सिभिल मलमा आयोजित समापन समारोहमा विभिन्न विधामा उत्कृष्ट चलचित्र तथा कलाकारहरूलाई पुरस्कार प्रदान गरिएको हो । समारोहमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय चलचित्र उद्योगसँग जोड्ने महत्त्वपूर्ण भूमिका खेलेको भन्दै निफका अध्यक्ष केपी पाठकलाई धन्यवाद व्यक्त गर्नुभयो ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ सर्वोत्कृष्ट चलचित्रको अवार्ड ‘राजागंज : पूजा, सर’ले जितेको छ । दीपक रौनियार निर्देशित उक्त चलचित्रले ट्रफीसहित १५ सय अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको हो ।
राष्ट्रिय प्रतिस्पर्धातर्फ भने ‘गुन्यू चोलो ः द ड्रेस’ उत्कृष्ट घोषित भयो । समुद्र भट्ट निर्देशित यस चलचित्रले ट्रफीसहित एक हजार अमेरिकी डलर जित्यो । यही चलचित्रबाट भट्ट उत्कृष्ट निर्देशक घोषित हुँदा नाजिर हुसेन सर्वोत्कृष्ट नायक चुनिनुभयो ।
अभिनयतर्फ सुरक्षा पन्तले चलचित्र कोशेढुंगाबाट सर्वोत्कृष्ट नायिकाको अवार्ड जित्नुभयो । यही चलचित्रबाट बाबु श्रेष्ठले उत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड हात पार्नुभयो । पटकथातर्फ दीपेन्द्र गौचनले ‘केटी हराएको सूचना’ बाट उत्कृष्ट पटकथाकारको अवार्ड प्राप्त गर्नुभयो । दक्षिण एसियाली प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय चलचित्र जार उत्कृष्ट घोषित भयो । फुर्वा क्षिरिङ लामा निर्देशित उक्त चलचित्रलाई ट्रफीसहित पाँचसय अमेरिकी डलर प्रदान गरिएको छ ।
अन्तर्राष्ट्रिय विधातर्फ आइसल्यान्डको डकुमेन्ट्री ग्राउण्ड बिनिथ आवर फिट (निर्देशक इर्सा रोका फ्यानबर्ग) उत्कृष्ट घोषित भयो । यसैगरी, इरानको सर्ट फिल्म सिप (निर्देशक हादी बाबेइफर)ले उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड जित्यो । एआई थिममा आधारित सर्ट फिल्मतर्फ चिनियाँ चलचित्र स्पिरिट अफ द माउन्टेन (निर्देशक पाङ जिया) उत्कृष्ट घोषित भयो भने विद्यार्थी चलचित्रतर्फ मेक्सिकोको पासारिन्हो पुरस्कृत भयो ।
राष्ट्रिय डकुमेन्ट्रीतर्फ होम इज नट अ प्लेस (निर्देशक दीपक छोदेन लामा) र राष्ट्रिय सर्ट फिल्मतर्फ रिहाना (निर्देशक सुरज पौडेल) उत्कृष्ट घोषित भए । दुवैलाई ट्रफीसहित ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
डन किहोते अवार्ड इरानी चलचित्र माई डटर्ज हेयर (निर्देशक हेसाम फराहमान्द) लाई प्रदान गरियो । स्पेशल मेन्सनतर्फ राष्ट्रिय डकुमेन्ट्री एज डे गोज बाई (निर्देशक ङिमा गेलु शेर्पा) र अन्तर्राष्ट्रिय सर्ट फिल्म हाउसकिप्पर (निर्देशक सूर्या बालाकृष्ण) पुरस्कृत हुनुभयो । त्यस्तै, स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय चलचित्रतर्फ चिनियाँ चलचित्र द शोर अफ लाइफ (निर्देशक ची झाङ) सम्मानित भयो ।
महोत्सवका अध्यक्ष केपी पाठकले निफ सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको थियो । चैत १९ गतेबाट सुरु भएको यस महोत्सवले नेपाली तथा अन्तर्राष्ट्रिय चलचित्रबीचको सहकार्य र संवाद विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि