काठमाडौं । कोरोना महामारीपछि थलिएको नेपाली चलचित्र उद्योगले पछिल्लो केही वर्षमा उल्लेखनीय पुनरुत्थान हासिल गरेको छ । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार २०८२ मा चलचित्र निर्माण, प्रदर्शन, व्यापार तथा पूर्वाधार विस्तार सबै क्षेत्रमा सकारात्मक वृद्धि देखिएको छ । सबैभन्दा उल्लेखनीय पक्ष भनेको चलचित्र निर्माणको संख्यामा आएको तीव्र वृद्धि हो । चालु वर्षको चैत १८ गतेसम्म कुल २५२ वटा चलचित्रले निर्माण इजाजत लिएका छन्, जुन कोरोना महामारीपछि अहिलेसम्मकै उच्च संख्या हो । यसमा फिचर फिल्मसँगै सर्ट फिल्म र डकुमेन्ट्रीसमेत समावेश छन् ।कोरोना महामारीका कारण २०७७ सालमा चलचित्र निर्माण संख्या घटेर जम्मा ७१ मा सीमित भएको थियो । २०७८ मा ८९ पुगेको निर्माण संख्या २०७९ मा ह्वात्तै बढेर १५३ पुगेको थियो । त्यसपछि २०८० मा १४२ र २०८१ मा १९३ फिल्मले निर्माण इजाजत लिएका थिए ।
२०८१ साल नेपाली फिल्म उद्योगका लागि ‘टर्निङ प्वाइन्ट’ सावित भयो । सो वर्ष प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सांरगी’ ले ४७ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गर्दै नेपाली बक्सअफिसमा नयाँ कीर्तिमान कायम गर्यो । यस सफलतापछि लगानीकर्ताहरूको आकर्षण चलचित्र क्षेत्रमा ह्वात्तै बढ्यो ।
समग्रमा हेर्दा २०८२ साल नेपाली चलचित्र उद्योगका लागि पुनरुत्थान, विस्तार र सम्भावनाको वर्षका रूपमा देखिएको छ । निर्माण संख्यामा वृद्धि, बक्सअफिसमा उल्लेखनीय व्यापार, दर्शक सहभागितामा वृद्धि तथा पूर्वाधार विस्तारले उद्योग दीर्घकालीन रूपमा सुदृढ बन्दै गएको संकेत गर्दछ । अब चुनौती भनेको यस सकारात्मक गतिलाई निरन्तरता दिनु र अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रको पहिचान अझ सुदृढ बनाउनु हो ।
विशेषगरी पछिल्लो समय नेपाली दर्शकहरू स्टारभन्दा कथावस्तुमा आधारित चलचित्रप्रति आकर्षित भएको देखिएको छ । चलचित्र ‘बोक्सीको घर’, ‘घरज्वाइँ’, ‘गाउँ आएको बाटो’, ‘शाम्बाला’, ‘१२ गाउँ’, ‘छक्का पञ्जा ५’ लगायतका चलचित्रहरूले राम्रो व्यापार गर्दै यसको पुष्टि गरेका छन् । त्यस्तै, २०८२ सालको सुरुवातदेखि नै नेपाली चलत्रिहरूले उत्साहजनक व्यापार गरेका छन् । ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’, ‘परान’ र ‘आबाट आमा’ जस्ता चलचित्रहरूले बक्सअफिसमा राम्रो उपस्थिति जनाएका छन् ।
‘परान’ वर्षकै सर्वाधिक कमाउने फिल्म
२०८२मा सर्वाधिक कमाइ गर्ने नेपाली चलचित्रको रूपमा ‘परान’ रहेको छ । निर्देशक दीपक आचार्यको यस चलचित्रले १७ करोड ७६ लाख रुपैयाँभन्दा बढी कमाउँदै शीर्षस्थान हासिल गरेको हो । दोस्रो स्थानमा ‘आबाट आमा’ र तेस्रो स्थानमा ‘जेरी अन टप’ रहेका छन् । त्यस्तै, ‘ऊनको स्वीटर’ र ‘जारी २’ क्रमशः चौथो र पाँचौं स्थानमा छन् । उल्लेखनीय रूपमा, यसवर्ष चार नेपाली चलचित्रले १० करोडभन्दा माथिको व्यापार गरेका छन् ।
बक्सअफिसमा दुई अर्बभन्दा बढी कारोबार
चलचित्र विकास बोर्डका अनुसार चालु वर्षमा स्वदेशी र विदेशी चलचित्रको संयुक्त बक्सअफिस कारोबार दुई अर्ब रुपैयाँ नाघेको छ । नेपाली चलचित्रहरूले मात्र एक अर्ब आठ करोडभन्दा बढी व्यापार गरेका छन् भने ३७ लाखभन्दा बढी दर्शकले नेपाली चलचित्र हेरेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा करिब साढे चार लाखले बढी हो, जसले नेपाली चलचित्रप्रति बढ्दो दर्शक आकर्षणलाई संकेत गर्दछ ।
यद्यपि, विदेशी चलचित्रहरूको प्रभाव भने अझै पनि सशक्त देखिन्छ । चालु वर्षमा विदेशी चलचित्रहरूले एक अर्ब ११ करोडभन्दा बढी व्यापार गरेका छन् । ‘कान्तारा अ लिजेन्डः च्याप्टर १’ सर्वाधिक कमाउने विदेशी चलचित्र बनेको छ भने ‘धुरन्धरः द रिभेन्ज’ र ‘धुरन्धर’ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । शीर्ष १० विदेशी चलचित्रमध्ये अधिकांश बलिउड फिल्म रहनुले नेपाली बजारमा भारतीय फिल्मको प्रभाव अझै बलियो रहेको संकेत गर्दछ ।
चलचित्र विकास बोर्डले २०८२ सालमा घरेलु बक्सअफिसमा प्रदर्शनमा आएका चलचित्रको कमाइ विवरण बाहिर ल्याएको डेटाअनुसार सबैभन्दा न्यून कमाइ गर्ने नेपाली चलचित्रमा ‘इन्दिरा धिमे मैचा’ ११ हजार ७०० नेरु ग्रस, ‘हेलो काशिराम’-३४ हजार २०० नेरु ग्रस, ‘वैद्य बा’ ५६ हजार ४०० नेरु ग्रस, ‘चिराग’-८५ हजार ८५० नेरु ग्रस र ‘लडाइँ पहिचानको’ एक लाख १३ हजार ८७० नेरु ग्रस रहेका छन् ।
पूर्वाधार विस्तारमा पनि प्रगति
२०८२मा चलचित्र निर्माण र व्यापारसँगै पूर्वाधार विकासमा पनि उल्लेखनीय प्रगति भएको छ, जसले समग्र चलचित्र उद्योगलाई थप सुदृढ र व्यवस्थित बनाउँदै लगेको छ । पछिल्लो समय देशभर थप आठ नयाँ सिनेमा हल सञ्चालनमा आएसँगै कुल सिनेमा हलको संख्या १७२ पुगेको छ । यसले न केवल शहरी क्षेत्र, तर अर्ध-शहरी र केही ग्रामीण भेगसम्म पनि चलचित्र हेर्ने अवसर विस्तार भएको संकेत गर्छ । आधुनिक प्रविधिसहितका यी नयाँ हलहरूले दर्शकलाई गुणस्तरीय ध्वनि, दृश्य र आरामदायी वातावरण प्रदान गर्दै चलचित्र अनुभवलाई अझ आकर्षक बनाएका छन् ।
त्यसैगरी, वितरण क्षेत्रमा पनि सकारात्मक परिवर्तन देखिएको छ । नौ नयाँ वितरक थपिएसँगै कुल वितरक संख्या ४४ पुगेको छ, जसले चलचित्रको वितरण प्रणालीलाई अझ सशक्त बनाएको छ । यसले निर्मातालाई आफ्नो चलचित्र देशका विभिन्न स्थानमा सहज रूपमा पुर्याउन मद्दत गरेको छ भने दर्शकले पनि नयाँ-नयाँ चलचित्र समयमै हेर्न पाउने अवसर प्राप्त गरेका छन् ।
यस प्रकारको पूर्वाधार र वितरण प्रणालीको विस्तारले चलचित्र उद्योगमा लगानीको सम्भावना बढाउनुका साथै प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको छ । परिणामस्वरूप, गुणस्तरीय चलचित्र निर्माणमा प्रोत्साहन मिल्नुका साथै दर्शकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ । समग्रमा, यी प्रगतिहरूले नेपाली चलचित्र उद्योग क्रमशः व्यावसायिक, पहुँचयोग्य र दिगो बन्दै गएको स्पष्ट संकेत गर्दछ ।
उद्योगका लागि सकारात्मक संकेत
समग्रमा हेर्दा २०८२ साल नेपाली चलचित्र उद्योगका लागि पुनरुत्थान, विस्तार र सम्भावनाको वर्षका रूपमा देखिएको छ । निर्माण संख्यामा वृद्धि, बक्सअफिसमा उल्लेखनीय व्यापार, दर्शक सहभागितामा वृद्धि तथा पूर्वाधार विस्तारले उद्योग दीर्घकालीन रूपमा सुदृढ बन्दै गएको संकेत गर्दछ । अब चुनौती भनेको यस सकारात्मक गतिलाई निरन्तरता दिनु र अन्तर्राष्ट्रियस्तरमा नेपाली चलचित्रको पहिचान अझ सुदृढ बनाउनु हो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि