काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सकिएको एक महिना भइसकेको छ । निर्वाचित नयाँ प्रतिनिधिसभाको अधिवेशन सुरु भएको पनि एक साता बितिसकेको छ । नयाँ प्रतिनिधिसभाले सभामुख चयन गरिसकेको छ भने उपसभामुख चयनको तयारीमा छ । सरकारले केही दिनभित्रै जारी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्नसक्ने चर्चा सुरु भएको छ । तर, प्रतिनिधिसभाको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भने अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन । प्रतिनिधिसभामा ३८ सांसद रहेको कांग्रेसले दलको नेता चयन गर्न अझै प्रक्रिया सुरु गरेको छैन ।
नेपाली कांग्रेसका सांसदहरूका अनुसार संसदीय दल नेता चयन प्रक्रिया सुरु गर्न केही समय लाग्ने देखिएको छ । सहमतिमा संसदीय दलको नेता चयन गर्न अनौपचारिक छलफल भइरहेको नेताहरूले जनाएका छन् । संसदीय दलको नेता चयनका लागि पार्टीका शीर्ष पाँच नेताबीच छलफल भइरहेको छ । सभापति, उपसभापति र महामन्त्रीहरूबीच दलको नेता चयनबारे छलफल भइरहेको नेताहरूले बताएका छन् ।
केही दिनअघि कांग्रेसले संसदीय दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउने भन्दै सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको दाबी गरिएको थियो । तर, समिति गठनको विषयलाई कांग्रेसले औपचारिक रूपमा भने सार्वजनिक गरेको छैन । शीर्ष नेताहरूले सहमतिमै दलको नेता चयन गर्ने प्रयास गरिरहे पनि कांग्रेसको संसदीय इतिहासमा २०६४ को निर्वाचनपछि अहिलेसम्म सर्वसम्मत चयन भएको छैन । विशेष महाधिवेशनबाट नेतृत्व चयन भएपछि आन्तरिक गुटबन्दी चरमोत्कर्षमा पुगेका कारण यसपल्ट पनि मतदानमार्फत दलको नेता चयन हुने सम्भावना बढी छ । प्रतिनिधिसभा निर्वाचन २०७९ पछि गठन भएको संसद्का लागि नेता चयनका क्रममा कांग्रेसले मतदान प्रक्रिया अपनाएको थियो । तत्कालीन सभापति शेरबहादुर देउवालाई वर्तमान सभापति गगनकुमार थापाले दलको नेतामा चुनौती दिनुभएको थियो ।
को-को छन् दाबेदार
संसदीय दलको नेता आकांक्षीमा मुख्य गरी पूर्व–सहमहामन्त्रीद्वय अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे बलियो दाबेदार देखिनुभएको छ । दुवै समानुपातिकतर्फबाट सांसद बन्नुभएको हो । संस्थापन पक्षबाट अर्जुननरसिंह र भीष्मराज आङ्देम्बे वा अरू कोही प्रत्यक्ष निर्वाचित सांसद उम्मेदवार हुनसक्ने कांग्रेसका एक पदाधिकारीको भनाइ छ । २०७८ मंसिरमा भएको १४औँ महाधिवेशनमा भीष्मराज आङ्देम्बे सहमहामन्त्री जित्नुभएको थियो । संसदीय दलको नेताका लागि विशेष महाधिवेशनमा सहभागी भएका र नियमित महाधिवेशनको अडानमा देखिएका नेताहरूको दाबी छ । दलको नेताका लागि केसी र आङ्देम्बेले दाबेदारी प्रस्तुत गरिरहनु भएको छ । नेता केसी संस्थापननिकट र आङ्देम्बे संस्थापनइतर समूहका नेताका रूपमा चिनिनुहुन्छ । दलको नेताको लागि निश्कल राई र मुस्ताङबाट निर्वाचित योगेश गौचनको पनि चर्चा छ ।
यस्तै, प्रत्यक्षतर्फ निर्वाचित सांसदहरू मोहन आचार्य, भरतबहादुर खड्का, जनकराज गिरी र नरेन्द्र केरुङलाई दलको नेताका आकांक्षीका रूपमा हेरिएको छ । कांग्रेसवृत्तमा इलाम–१ बाट प्रत्यक्षतर्फ विजयी सांसद निश्कल राईलाई दलको नेता बनाउनुपर्ने आवाज पनि उठिरहेको छ ।
यस्तो छ संसदीय दलको समीकरण
फागुन २१ गते भएको प्रतिनिधिसभाको चुनावको लागि समानुपातिक प्रणालीको बन्दसूचीमा सभापतिका रूपमा शेरबहादुर देउवाले हस्ताक्षर गर्नुभएको थियो भने प्रत्यक्षतर्फको टिकटमा विशेष महाधिवेशनबाट सभापति बन्नुभएका सभापति गगनकुमार थापाले हस्ताक्षर गर्नुभएको थियो । दुई नेताको हस्ताक्षरबाट उम्मेदवार भएर सांसद बनेकाहरू संसदीय दलमा रहेका कारण नेता चयनका लागि यसपालि पनि निर्वाचन हुने सम्भावना बढी रहेको नेताहरूको भनाइ छ । फागुन २१ गते भएको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १८ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २० जना निर्वाचित भएका छन् । दुवै प्रणालीअन्तर्गत निर्वाचित निर्वाचित कुल ३८ सांसदमध्ये प्रत्यक्षतर्फ संस्थापन पक्षको वर्चस्व छ भने समानुपातिकतर्फ संस्थापनइतर समूहका सांसद बढी छन् ।
टिकट वितरणलाई आधार मान्दा प्रत्यक्ष र समानुपातिक गरी संस्थापन पक्षीय १६ र संस्थापनइतर पक्षीय २२ सांसदहरू छन् । इतरपक्षीय २२ मध्ये निवर्तमान सभापति देउवानिकट १५ र कोइरालानिकट सातजना मानिन्छन् । प्रत्यक्षतर्फ निर्वाचित प्रकाशसिंह कार्की (सोलुखुम्बु), नरेन्द्रकुमार केरुङ (पाँचथर), सन्तोष सुब्बा (तेह्रथुम), निश्कल राई (इलाम-१), मो.फिरदोश आलम (रौतहट-२), र अभिषेकप्रताप साह (कपिलवस्तु-३) संस्थापन पक्षीय सांसद हुनुहुन्छ । यस्तै, मोहन आचार्य (रसुवा), खड्ग शाही (मुगु), बासना थापा (दैलेख-१), भरतकुमार स्वार (अछाम-१), भरतबहादुर खड्का (डोटी) र जनकराज गिरी (बाजुरा) संस्थापन पक्षका मानिनुहुन्छ । समानुपातिक प्रणालीबाट निर्वाचित अर्जुननरसिंह केसी, रेनुका काउचा, कालीबहादुर सहकारी र मनमाया विक पनि संस्थापन पक्षीय सांसदहरू हुनुहुन्छ । देउवा समूहबाट प्रत्यक्षतर्फ मनाङबाट टेकबहादुर गुरुङ, पाल्पा–१ बाट सन्दीप राना, हुम्लाबाट जयपति रोकाया, जाजरकोटबाट खड्कबहादुर बुढा र सुर्खेत-१ बाट विष्णुबहादुर खड्काले चुनाव जित्नुभएको छ ।
समानुपातिकतर्फ देउवा समूहबाट १० जना सांसद बनेका छन् । जसमा भीष्मराज आङ्देम्बे, गीता गुरुङ, सुशीला ढकाल आचार्य, निनुकुमारी कर्ण, शाहजान खातुन, मदनकृष्ण श्रेष्ठ, गंगालक्ष्मी अवाल, पवित्रा विक, सीता थपलिया (उर्मिला) र हरिनादेवी कामी रहनुभएको छ । कोइराला समूहबाट प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ ६ गरी सातजना सांसद छन् । प्रत्यक्षतर्फ मुस्ताङबाट योगेश गौचन थकाली निर्वाचित हुनुभएको थियो । यस्तै, गीताकुमारी सेन्दाङ, रुक्मिणीदेवी कोइराला, रीना केसी (उप्रेती), डा.प्रमिलाकुमारी गच्छदार, डा. चन्द्रमोहन यादव र रेखाकुमारी यादव समानुपातिकतर्फ विजयी हुनुभएको थियो । तर, पछिल्लो समय संस्थापन र संस्थापनइतर समूहबीच देखिएको ध्रुवीकरणले सांसदहरूको संख्याबारे एकिन भन्न सकिने अवस्था भने देखिँदैन । १७ चैतमा इतर समूहले सांसदहरूका लागि आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा २२ मध्ये ११ जना मात्रै उपस्थित थिए । संसदीय दल नेताका लागि संस्थापन र संस्थापनइतर पक्षबाट प्रतिस्पर्धा हुने अवस्था देखिएमा कुन पक्षले जित्छ अहिले भन्न सकिने अवस्था छैन ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि