काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनाव अन्त्य गर्न नयाँ कूटनीतिक पहल अघि सारेको छ। तेहरानले १० बुँदे सर्तसहितको प्रस्ताव सार्वजनिक गर्दै आगामी १५ दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा हुने सम्भावित वार्तामा त्यसलाई अन्तिम रूप दिने जनाएको छ।
इरानी पक्षका अनुसार यो योजना केवल युद्धविरामका लागि मात्र होइन, हालसम्म मैदानमा हासिल गरेको आफ्नो रणनीतिक लाभलाई राजनीतिक रूपमा सुनिश्चित गर्ने उद्देश्यले ल्याइएको हो। प्रस्तावको मुख्य जोड क्षेत्रीय द्वन्द्वको पूर्ण अन्त्यमा छ। इरानले इराक, लेबनान र यमनमा जारी संघर्ष तुरुन्त रोक्नुपर्ने र आफूविरुद्धका सबै आक्रमणहरू बिना समयसीमा स्थायी रूपमा अन्त्य हुनुपर्ने सर्त अघि सारेको छ।
त्यस्तै, यी सर्तहरू स्वीकार भएमा मात्रै इरानले रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज पुनः खुला गर्ने र त्यहाँको जलमार्ग सुरक्षाका लागि नयाँ प्रोटोकल लागू गर्न तयार हुने संकेत दिएको छ।
आर्थिक पक्षमा पनि इरानको माग कडा देखिन्छ। युद्धबाट भएको क्षतिको पूर्ण क्षतिपूर्ति, अमेरिकाले लगाएका सम्पूर्ण प्रतिबन्ध हटाउने, तथा रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने सर्तहरू प्रस्तावमा समावेश छन्। यी मागहरू पूरा भएमा इरानले परमाणु हतियार विकास नगर्ने आफ्नो अडान पुनः दोहोर्याएको छ।
इरानको भनाइ अनुसार, प्रस्तावका सबै बुँदाहरूमा सहमति जुट्नासाथ सबै मोर्चामा तत्काल युद्धविराम लागू हुनेछ। अब इस्लामावादमा हुने वार्ताले यी सर्तहरूको भविष्यमाथि निर्णायक प्रभाव पार्नेछ।
इरानले यसलाई आफ्नो कूटनीतिक सफलता रूपमा प्रस्तुत गरिरहेको भए पनि अमेरिका र इजरायलले कस्तो प्रतिक्रिया जनाउँछन् भन्ने कुराले नै पश्चिम एसियाको आगामी दिशा निर्धारण गर्नेछ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि