काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित विभिन्न देशका कूटनीतिक नियोगका प्रमुख र राजदूतहरूले आज सामूहिक शिष्टाचार भेट गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित भेटमा भारत, पाकिस्तान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, कतार, स्विट्जरल्याण्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत तथा नियोग प्रमुखहरूको उपस्थिति रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
त्यस अवसरमा प्रतिनिधिहरूले प्रधानमन्त्री शाहलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो। उनीहरूले नेपाली जनताको हितमा परिणाममुखी कार्यमा नेपाल सरकारलाई समर्थन र सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा जोड दिँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध अझ प्रगाढ बनाइने विश्वास व्यक्त गर्नुभयो।
उहाँले शान्तिलाई सबैको साझा प्राथमिकता बनाइनुपर्ने भन्दै विदेशमा रहेका नेपाली समुदाय र श्रमिकहरूको सुरक्षा तथा हितलाई सरकारको उच्च प्राथमिकतामा राखिएको स्पष्ट पार्नुभयो। साथै, सुशासन, आर्थिक विकास र नागरिकको जीवनस्तर सुधारमा सरकार दृढ प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई लगायत अन्य उच्च सरकारी अधिकारीहरूको पनि उपस्थिती रहेको थियो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि