काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले राष्ट्रिय हितका लागि दलहरुबीच मेलमिलाप, सहमति र सहकार्यको आवश्यककता औँल्याउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले सबै राजनीतिक दल र नेताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा लाग्नुपर्नेमा जोड दिनुभयो । मुलुक र जनताको हितका लागि सबै दलबीच मेलमिलाप तथा सहमतिको आवश्यकता औँल्याउदै उहाँले मुलुकका सबै प्रजातान्त्रिक आन्दोलनमा नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रहेको र कांग्रेसले सहमति तथा सहकार्यको नीति अपनाएको अवगत गराउनुभयो ।
सांसद थापाले लोकतन्त्रको सुदृढिकरणका लागि वर्तमान सरकारले सहमति र सहकार्यको नीति अपनाउनुपर्ने सुझाउनुभयोे । उहाँले जलवायु परिवर्तनले नेपाल निकै प्रभावित भएको उल्लेख गर्दै यसका लागि अन्तरराष्ट्रिय मञ्चमा सशक्त कुरा उठाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जयन्तीदेवी राईले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र दिने वर्तमान सरकारको निर्णय गलत र अलोकतान्त्रिक भएको टिप्पणी गर्नुभयो । साथै उहाँले यसले प्रेस स्वतन्त्रता हनन हुनसक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदै यो निर्णय सच्याउन माग गर्नुभयो ।
सांसद राईले पछिल्लो समय डिजिटल प्रविधिको माध्यमबाट किशोरीमाथि हुने हिंसाका घटना बढेको अवगत गराउँदै यसलाई नियन्त्रण गर्न सरकारसँग तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो । साथै उहाँले अनलाइन तथा डिजिटल प्रविधिको माध्यमबाट हुने हिंसा नियन्त्रणका लागि सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई अघि बढाउन सरकारलाई सुझाव दिनुभयो ।
नेकपा (एमाले) का सांसद सम्झना देवकोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गरिएको गिरप्तारी गैरकानुनी भएको भन्दै तत्काल रिहाइको माग गर्नुभयो । साथै उहाँले गत भदौ २३ र २४ गतेको आन्दोलनको घट्नाका दोषीलाई कानुनअनुसार कारवाही गर्नुपर्ने माग गर्नुभयो । पश्चिम एसियामा भएको द्वन्द्वले नेपालमा जनताको दैनिकी नै प्रभावित भएको र त्यहाँ काम गर्ने नेपाली कामदारको अवस्था नाजुक भएको उल्लेख गर्दै उहाँले समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद खालिदले हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभूतपूर्व सफलता प्राप्त गरेको बताउँदै जनताले राजनीतिक स्थायित्वको अपेक्षा गरेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टचार नियन्त्रण, बढ्दो आयात र महंगी नियन्त्रण, बन्द उद्योगको सञ्चालन, सन्तुलित पराष्ट्र नीति, सामाजिक न्याय कायम, जनताको हितअनुसार संविधान संशोधनलगायत कार्यमा सबै दलसँगको संवाद, सहमति र सहकार्यले गर्दा मात्र सफलता प्राप्त हुने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले पश्चिम एसियामा भएको द्वन्द्वले मुलुकमा महंगी बढेको र जनजीवन प्रभावित भएको उल्लेख गर्दै सहजताका लागि आवश्यक पहल तत्काल थाल्न सरकारसँग आग्रह गर्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि