काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई सम्बोधन गर्दै नेपाल सरकार मित्र राष्ट्रहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउन उत्सुक रहेको बताउनुभयो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित शिष्टाचार भेटमा उहाँले नेपालले सबै देशहरूसँग उच्च महत्त्वका साथ सम्बन्ध राख्ने र विश्वास तथा पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री शाहले भन्नुभयो, “नेपालले सन्तुलित र व्यावहारिक वैदेशिक नीतिको अनुसरण गर्दै आएको छ। हाम्रो बाह्य सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित छ। नेपालको विकास र समृद्धिका लागि निरन्तर सहयोग प्रदान गर्नुभएकामा हामी सबै साझेदार तथा मित्रहरूप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।”
विश्वमा जारी द्वन्द्वहरूले सर्वसाधारण नागरिकमा सबैभन्दा बढी असर पार्ने भएकाले शान्तिलाई साझा प्राथमिकता बनाइनुपर्नेमा उहाँले जोड दिनुभयो। “चलिरहेका द्वन्द्वहरूले सर्वसाधारण नागरिकलाई सबैभन्दा बढी असर पार्ने भएकाले शान्ति हाम्रो साझा प्राथमिकता हुनुपर्छ। यसमा हामी सबै सहमत छौँ भन्ने विश्वास लिएको छु र यस दिशामा सामूहिक प्रयासको अपेक्षा गर्दछु। यहाँ उपस्थित सबै मित्रहरूलाई नेपालको निरन्तर मित्रता र सहयोगका लागि धन्यवाद दिन चाहन्छु।”
प्रधानमन्त्री शाहले नेपाल सरकार लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न, उद्यमशीलतालाई प्रोत्साहित गर्न र दिगो विकासलाई समर्थन गर्न पनि प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले राष्ट्रिय हितअनुकूल हुने गरी नेपाललाई क्षेत्रीय तथा वैश्विक आर्थिक संरचनामा मजबुत रूपमा समेट्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो।
“नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन। हामी राजनीतिक स्थायित्व कायम राख्न तथा नीतिगत दिशालाई स्थिर र पूर्वानुमानयोग्य बनाइराख्न दृढ प्रतिबद्ध छौँ,” प्रधानमन्त्री शाहले भन्नुभयो। उहाँले विकास, व्यापार, लगानी, जलवायु अनुकुलन र जनस्तरको सम्बन्धजस्ता विभिन्न क्षेत्रमा सहकार्य अघि बढाउन सरकार इच्छुक रहेको जानकारी दिनुभयो। साथै, विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेकोमा उहाँले जोड दिनुभयो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि