विराटनगर । सुनसरीको इटहरीमा आगामी चैत ३० गतेदेखि ‘१६औँ अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप २०८२’ फुटबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय जागृति क्लब, इटहरीको आयोजनामा हुने प्रतियोगितामा नेपाल र विदेशका गरी आठ फुटबल क्लबको सहभागिता रहने क्लबले जनाएको छ । चैत ३० गते सोमबारदेखि सुरु हुने यो प्रतियोगिता वैशाख ७ गतेसम्म चल्नेछ । विजेताले नगद १० लाख रुपैयाँ र आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ ।
यसैगरी, प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई १० हजार, उत्कृष्ट गोलरक्षकलाई २० हजार र उत्कृष्ट डिफेन्डरलाई २० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ ।
प्रतियोगितामा नेपालका पाँचवटा, भारतको एउटा र नाइजेरियाको एउटा विदेशी टिमसहित आयोजक टिम गरी जम्मा आठ टोली सहभागी छन् । प्रतियोगितामा मच्छिन्द्र फुटबल क्लब, युकेएफसी, प्लानिङ ब्वाइज क्लब, युवा समाज, मोरङ–११, झापा–११ फुटबल क्लब, झापा, सातदोबाटो फुटबल क्लब, काठमाडौं राष्ट्रिय जागृति क्लब, इटहरी र जस्ट जोन फुटबल क्लब, नाइजेरिया सहभागी हुने आयोजकले जनाएको छ ।
२०२३ सालमा स्थापना भएको राष्ट्रिय जागृति क्लबले इटहरीलाई फुटबलको उर्वरभूमि बनाउने र युवा खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको छ । क्लबले आठदेखि १२ वर्षमुनिका बालबालिकालाई निरन्तर ‘ग्रासरुट’ फुटबल प्रशिक्षण दिँदै आएको छ ।
युवालाई दुर्व्यसनी र कुलतबाट टाढा राख्दै खेलकुदतर्फ आकर्षित गर्ने, आन्तरिक पर्यटनको प्रवर्द्धन गर्ने र समुदायमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष केशव कार्कीले बताउनुभयो । राष्ट्रिय जागृति क्लबले यसअघि दानबहादुर फुयाल गोल्डकप, मदन भण्डारी मेमोरियल गोल्डकपजस्ता चर्चित प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि